s

मलेसियामा नेपाली कामदारले गरे आत्महत्या

चन्द्रशेखर अधिकारी

मलेसिया सरकारले विदेशी कामदारमाथि थालेको धरपकडका कारण आफ्नो रोजीरोटी गुम्ने भएपछि एक नेपाली कामदारले आत्महत्या गरेका छन्। पोखरा घर भएका ३० वर्षीय पदमबहादुर सुनारले बुधबार आफू रहँदै आएको भवनको धुरीबाट हामफालेर आत्महत्या गरेका हुन्। घर फर्कनका लागि यात्रा अनुमतिपत्रसमेत लिइसकेका सुनारको आत्महत्या प्रयासबारे थाहा पाएपछि प्रहरी र अन्य उद्धारकर्मी घटनास्थल पुगेका थिए। तर उनीहरूले सुनारलाई भने बचाउन सकेनन्।

प्रहरी र उद्धारकर्मीलाई झुक्याएर उनले आत्महत्या गरेको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ। उद्धार गर्न गएका टोली र प्रहरीले अनेक उपाए र अनुरोध गर्दा पनि उनी हामफाल्दै मलेसिया सरकारलाई गालीसमेत गरेका थिए। उनले हामफाल्नुअघि भनेका थिए, ‘यस्तो मुलुकमा नबस तिमीहरू । स्वदेश फर्क। यहाँ हाम्रो श्रमको कदर छैन।’

मलेसियामा रहेका नेपालीलगायत अन्य विदेशी कामदारलाई त्यहाँको प्रहरी प्रशासनले धरपकड र निष्कासन गर्ने अभियान सुरु गरेको छ। कामदारलाई पीडा र यातना दिने गरी भइरहेको यो अभियानका कारण धेरै नेपाली कामदारले अस्थायी यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) लिएर स्वदेश फर्कन बाध्य भएका छन्। उनीहरू घर फर्कंदा टिकट किन्नुपर्ने र त्यहाँको सरकारलाई १५ हजारदेखि एक लाख रुपैयाँसम्म शुल्क तिर्न पर्ने भएपछि उनीहरू निराश भएका छन्। घर फर्कनको लागि समस्या परिरहेको भन्दै कहाँ र कसरी फर्कने भन्ने अन्योलमा उनीहरू छन्।

धरपकड अभियानपछि मलेसियामा नेपालीले आत्महत्या गरेको यो तेस्रो घटना हो। मलेसियास्थित नेपाली दूतावासका अधिकृत चक्र सुवेदी भन्छन्, ‘अहिले निराश बनेका नेपालीबीच आत्महत्या गर्ने क्रम बढेको छ। एकपछि अर्को गर्दै आत्महत्याका घटना भइरहेका छन्। अग्लो स्थानबाट हामफालेर आत्महत्या गरेको पछिल्लो दुई महिनामा यो तेस्रो घटना हो।’

विदेशी कामदार धुरी चढेको देखेपछि घर मालिकले प्रहरीलाई खबर गरेको कारण उनलाई बचाउन प्रहरी त्यहाँ पुगेको थियो। बुधबार बिहान ६ बजे घरको धुरीमा चढेका पदमलाई झार्न प्रहरीले करिब दुई घन्टासम्म प्रयास गरेको थियो। घरको धुरीबाट हामफालेर भुइँमा बजारिएका पदमको घटनास्थलमा प्राथमिक उपचारपछि तत्काल अस्पताल लगिएको थियो, जहाँ उनलाई चिकित्सकले मृत घोषित गरे। हाल उनको शवलाई पोस्टमार्टमको लागि अस्पतालमा राखिएको दूतावासले स्पष्ट पारेको छ। पदमको मृत्युको भिडियो क्लिप अहिले सामाजिक सञ्‍चालमा पनि राखिएको छ।

उनी गत जुन महिनामा सबै प्रक्रिया पुर्‍याएर मलेसिया पुगेका थिए। त्यहाँ पुगेको एक महिनापछि उनले आफू काम गर्ने स्थान परिवर्तन गरेपछि उनी अवैध कामदारको सूचीमा परेको प्रहरीको रिपोर्ट छ।

साउदीमा अलपत्र एक नेपालीको मृत्यु

दिपायल: साउदीको अलहब्जामा अलपत्र परेका नेपालीमध्ये एकजनाको मृत्यु भएको छ। रोजगारका लागि साउदी गएका ९० जना नेपाली तीन महिनादेखि अलहब्जामा अलपत्र परेका छन्।

अलपत्रमध्ये तनहुँ दमौलीका देवेन्द्र विकको मिक्स्चर मेसिनमा पेलिएर शुक्रबार मृत्यु भएको अर्का नेपाली दिलबहादुर धर्तीले टेलिफोनमा जानकारी दिए। घर्तीका अनुसार अलपत्र पर्नेहरूमा सिनेट, कर्णाली, माडी र गल्फ म्यानेजमेन्ट नामक म्यानपावर कम्पनीबाट जनही एक लाख २५ हजार रुपैयाँ तिरेर साउदी आएका हुन्। घर्तीले भने, ‘हामीलाई अलहब्जाको नाखिर भन्ने कम्पनीमा काम गर्ने भनी पठाइएको थियो। त्यहाँ जाँदा उनीहरूले अल्मुस्पान भन्ने अर्को कम्पनीमा पुर्‍याए।’

घर्तीका अनुसार स्पानमा पुर्‍याइएका नेपाली कठोर परिश्रम गर्न बाध्य छन्। ‘तीन महिनादेखि पैसा दिइएको छैन’, घर्तीले भने, ‘पैसा माग्दा उल्टै हप्कीदप्की सहनुपर्ने हुन्छ।’

कठोर परिश्रमका कारण अघिकांश कामदार बिरामी परेको घर्तीले जानकारी गराए। ‘पैसा कमाउनुभन्दा ज्यान बचाएर नेपाल फर्किन सके हुन्थ्यो’, टेलिफोनमा आग्रह गर्दै उनले भने, ‘हामीलाई नेपाल फर्काइदिन पहल गरिदिनुहोस्। नेपाल सरकारसम्म हाम्रो कुरा पुर्‍याइदिनुहोस्।’

साउदीस्थित नेपाली राजदूतावासमा खबर पठाएपनि सहयोग नपाएको घर्तीले गुनासो गरेका छन्।

Published on: 14 September 2013 | Annapurna Post

Back to list

;