s

मलेसियामा एक नेपालीलाई १८ बर्ष जेल

रामचन्द्र गिरी

आफ्नै सहकर्मीलाई हत्या गरेको अभियोगमा दोषी ठहर गर्दै मलेसियाली अदालतले एक नेपालीलाई १८ बर्ष जेल सजाय सुनाएको छ । यहाँको एक कार्गो कम्पनीमा कार्यरत विष्णु बहादुर कार्कीलाई बिहीबार शाहअलामस्थित उच्च अदालतले सो सजाय सुनाएको समाचारसंस्था बर्नामाले जनाएको छ ।

'विष्णुले सहकर्मी (किरण) लाई ६ पटक कुटपिट गर्नु सामान्य थिएन, जसको कारण किरणको मृत्यु भयो', उच्च अदालतका न्यायाधीश दातुक अख्तर ताहिरको भनाइ उधृत गर्दै समाचारमा भनिएको  छ, 'म अभियुक्तलाई १८ बर्ष जेल सजायको फैसला गर्दछु ।' २५ वर्षीय कार्कीले ३७ वर्षीय सहकर्मी किरण बहादुर श्रेष्ठलाई गतबर्ष जुन १० मा केलाङस्थित स्यारिकात जवातान मेराह फरवार्डिङ एसडिएन बिएचडी नामक कम्पनी परिसरमा रहेको कन्टेनरमा कुटपिट गरेका थिए ।

समाचारअनुसार, बेलुका १० बजे रक्सी पिएर आएका विष्णुसँग श्रेष्ठले नुहाउन सावुन माग्दा नदिएपछि दुईबीच कुटाकुट भएको थियो । त्यस क्रममा रक्सीले मातेर ओछ्यानमा सुतेका विष्णुलाई किरणले तानेर ओछ्यानबाट खसालिदिएका थिए । झगडाले उग्र रुप लिएपछि विष्णुले आफु सुत्ने खाटमुनि रहेको फलामे रडले किरणको टाउकामा ५/६ पटक प्रहार गरेका थिए । त्यसपछि किरणको शरिरलाई ब्लाङकेटमा बेरेर नजिकैको नालीमा फालेको उनले बयानका क्रममा स्वीकार गरेका थिए । कार्की घटना भएको भोलीपल्ट पक्राउ परेका थिए । उनीहरुको नेपालस्थित ठेगानाबारे थप जानकारी पाउन सकीएको छैन ।

 

नेपालीको अवस्था बुझ्न मानवअधिकारीवादी मलेसियामा

यसैवीच मलेसियामा रहेका नेपाली कामदारको अवस्था बुझ्न नेपाल मानव अधिकार आयोगको एक टोली मलेसिया आएको छ । आयोगबाट अध्यक्ष केदारनाथ उपाध्यायसहित गौरी प्रधान, साधना घिमिरे लगायत आएका हुन् । टोलीले शुक्रबार मलेसियास्थित समकक्षी (मलेसियाली मानवअधिकारी आयोग)सित नेपाली आप्रवासी र मानवअधिकारसंग सम्बन्धित विषयमा छलफल समेत गरेको छ । आयोगको यो पहिलो मलेसिया भ्रमण हो ।

त्यसअघि बिहीबार दुतावासमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा मलेसियामा रहेका नेपाली समूदायका विभिन्न संस्था, संगठनका प्रतिनिधि र दुतावासका अधिकारीहरुले उनीहरुलाई मलेसियामा रहेका नेपाली कामदारका विभिन्न अवस्थाबारे जानकारी गराएका थिए । उनीहरुले हाल जारी धरपकड लगायत नेपाली कामदारका सुरक्षा एवं मानवअधिकारको अवस्थाबारे चासो व्यक्त गरेका थिए ।

Published on: 7 September 2013 | Kantipur

Back to list

;