s

मलेसियामा दैनिक ५० जना नेपाली कामदार पक्राउ

मलेसियामा दैनिक सरदरमा ४० देखि ५० जना नेपाली कामदार पक्राउ पर्न थालेका छन्। मलेसिया सरकारले गैरकानुनी रूपमा बसेका कामदार खोजतलास अभियान तीव्र पार्न थालेपछि नेपाली कामदार पक्रिनेक्रम ह्‍वात्तै बढेको हो।

व्यवसायीका अनुसार करार सम्झौता उल्लंघन गर्दै तोकिएको कम्पनी छाडेर आफूखुसी अन्य कम्पनीमा काम गर्ने प्रवृत्ति बढेकाले गैरकानुनी कामदारको संख्या चुलिन गएको हो। मलेसियामा विदेशी कामदारले एउटा कम्पनी छाडेर अर्कोमा गएमा स्वत: गैरकानुनी मानिन्छ। गैरकानुनी कामदारको संख्या बढ्नुमा कामदारले कम्पनी परिवर्तन गर्ने प्रवृत्ति मुख्य कारण हो।

६० हजारभन्दा बढी नेपाली कामदार त्यहाँ गैरकानुनी रूपमा बसिरहेको अनुमान छ। हाल मलेसियामा मात्र पाँच लाखभन्दा बढी नेपाली कामदार छन्। अधिकांश कामदारलाई त्यहाँको विमानस्थलबाट नेपाल फर्किने क्रममा पक्रिने गरिएको छ।

नेपाली दूतावासमार्फत ट्राभल डकुमेन्ट बनाएर स्वदेश फर्किन लाग्दा उनीहरू गैरकानुनी बसेको फेला पर्ने गरेको व्यवसायीले जानकारी दिएका छन्। फिंगरिङमा उनीहरूको भिसा देखिएपछि पक्राउ पर्ने गरेका छन्’, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वउपाध्यक्ष कुमुद खनालले भने।

पक्राउ परेका कामदारलाई मलेसिया सरकारले चर्को जरिवना असुली रहेको छ। तीन वर्षसम्म बसेका कामदार पक्राउ परे भने २८ सय रिंगिट (८५ हजार रुपैयाँभन्दा बढी) सम्म तिर्नुपर्ने व्यवस्था छ। यो जरिवाना तिर्नबाट जोगिन नेपाली कामदार अहिले ट्राभल डकुमेन्ट बनाएर नेपाल फिर्ता हुन खोजिरहेका छन्।

कानुनी रूपमा विदेशी कामदार तीन वर्षसम्म बस्‍न पाउने मलेसियाको नियम छ। कानुनी प्रक्रिया पूरा गरेर गएका कामदार पनि तीन वर्षभन्दा बढी अवधि बसेमा स्वत: गैरकानुनी ठहरिन्छ।

वैदेशिक रोजगार विभागका निर्देशक दिवश आचार्यले मलेसियामा दैनिकजसो कामदार पक्राउ पर्ने गरेको जानकारी आएको बताए। उनले भने, ‘कम्पनी परिवर्तन गर्ने प्रवृत्तिका कारण धेरै कामदार गैरकानुनी बसेको ठहरिएको हो।मलेसिया र कतारमा पछिल्लो समय देखिएको समस्याका बारेमा यथार्थ पत्ता लगाउन श्रम तथा रोजगार मन्त्रालयमार्फत सम्बन्धितमा रहेका राजदूतावासमा पत्राचार भएको छ। उताबाट वास्तविकता आएपछि थप कदम चालिने उनले जानकारी दिए।

मलेसियास्थित नेपाली दूतावास र श्रम तथा रोजगार मन्त्रालयबीच समन्वय अभावले पनि विदेशमा रहेका कामदारले दु:ख पाउनेक्रम बढेको हो। मलेसिया, कतारलगायतका मुलुकमा पाँच लाखभन्दा बढी कामदार रहे पनि दूतावासमा कर्मचारी संख्या भने न्यून छ। मलेसियास्थित दूतावासमा १० पनि कर्मचारी छैनन्’, खनालले भने।

श्रम मन्त्रालयअन्तर्गतको श्रम सहचारी भए पनि सहचारीले समेत नेपाली कामदारका गुनासा सुन्ने र समस्या समाधान गर्ने काम प्रभावकारी रूपमा गर्न सकेको छैन। बिचौलियाका कारण पनि कामदारले थप दु:ख पाइरहेका छन्। त्यहाँ रहेका नेपालीले बिचौलियाको भूमिका निर्वाह गरिरहेका छन्।

स्वदेश फिर्ता पठाइदिने भन्दै सोझासाझा कामदारसँग रकम असुलिरहेका छन्। विमानस्थल पुगेपछि सबै पक्राउ पर्छन्’, संघका पूर्वउपाध्यक्ष खनालले भने। मलेसियामा हाल उत्पन्न समस्या समाधान गर्न तत्काल सरकारले पहल नगरे नयाँ कामदार लिन मलेसियाले रोक्‍न सक्‍ने वैदेशिक रोजगार व्यवसायीको दाबी छ। पछिल्लो समय मलेसियाले बंगलादेशी कामदार लिन सुरु गरेको छ। यसअघि बंगलादेशी कामदार लिन मलेसियाले रोकेको थियो।

बंगलादेशी कामदार जान थालेपछि नेपालीको अवसर गुम्‍न सक्‍नेछ। बंगलादेशी कामदारले नेपालीले भन्दा कम पारिश्रमिकमा काम गर्छन्। मलेसिया नेपाली कामदारको आकर्षक रोजगार गन्तव्य हो। वैधानिक तवरबाट मुलुक भित्रिने कुल रेमिट्यान्समध्ये करिब ३७ प्रतिशत मलेसियाबाट मात्र भित्रिने गरेको छ।

खाडी मुलुकको तुलनामा मलेसियामा काम गर्न सजिलो छ। हावापानी, सामाजिक परिवेशसमेत धेरै हदसम्म मिल्दोजुल्दो भएकाले पनि नेपाली कामदारको रोजगारको पहिलो रोजाइ मलेसिया परेको हो।

अवस्था बुझ्न सरकारी टोली जाँदै
वैदेशिक रोजगारका लागि मलेसिया पुगेका नेपाली नक्‍कली ट्राभल डकुमेन्टमा पक्राउ पर्ने र अवैध भएकाहरू जेल पर्न थालेपछि त्यसबारे बुझ्न सरकारले परराष्ट्र मन्त्रालयका अधिकारीको नेतृत्वमा एक टोली त्यसतर्फ पठाउने भएको छ। मलेसियासमेत हेर्ने दक्षिण पूर्वी एसिया महाशाखाका प्रमुख सहसचिव अर्जुकान्त मैनालीको नेतृत्वमा तीन सदस्यीय टोली बुधबार त्यसतर्फ जाने भएको हो। झन्डै एक साता मलेसियामा रहने टोलीले दूतावासको अवस्था, नेपाली कामदारको अवस्था र त्यहाँको सरकारले अघि बढाएको अवैध नेपालीमाथि गरेको धरपकडको अवस्थाबारे जानकारी लिने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

Published on: 2 October 2013 | Annapurna Post

Back to list

;