s

मलेसियामा विद्यार्थी अलपत्र

रामचन्द्र गिरी

उच्च शिक्षा अध्ययनका लागि मलेसियाको एक निजी कलेजमा आएका नेपाली विद्यार्थीहरू ठगीएको भन्दै उद्धारका लागि पहल गरिदिन सबैमा अपिल गरेका छन् । 'क्रुज् म्यानेज्मेन्ट' डिप्लोमा कोर्स अध्ययनका लागि विभिन्न समयमा मलेसियाको ग्रीनसिटी इन्टरनेसनल कलेज -लेन्स कलेज) मा आएका नेपालीसहित ४ सयभन्दा बढी विदेशी विद्यार्थीहरू 'कोर्स' मा भनिएजस्तो पढाइ नहुँदा समस्यामा परेका हुन् ।

केही साताअघि आफ्ना समस्याबारे जानकारी गराउँदै समाधानका लागि सहयोग खोज्दै दूतावाससमेत पुगका उनीहरू त्यहाँबाट खासै सुनुवाइ नभएपछि अधिकारवादी संस्था 'तानागानिता' को शरणमा पुगेका छन् । सोमबार सो संस्थामा भएको पत्रकार सम्मेलनमा पीडितहरूले आफूहरू ठगिएकाले उद्धार गरी सहयोग गरिदिन आग्रह गरे । संस्थाकी अध्यक्ष डा. आइरिन फर्नान्डेजले सरकारले यस घटनाबारे अनुसन्धान थाल्नुपर्ने भन्दै कलेजलाई कारबाही गर्न सरकारसित माग गरिन् । 

काठमाडौंस्थित पुरानो बानेश्वरको ओक्सन कन्सल्टेन्सीमार्फत 'क्रुज् म्यानेज्मेन्ट' कोर्सका लागि कलेजलाई प्रतिव्यक्ति २० हजार रिंगिट -करिब ६ लाख ५० हजार रुपैयाँ) शुल्क बुझाएको भन्दै पीडित विद्यार्थीले पढाइका क्रममा भएका सबै लागत खर्च बेहोर्नुपर्ने माग गरेका छन् । आफूहरू ठगिएको भन्दै पीडितहरू सम्पर्कमा आएपछि आफूले 'तानागानिता' को मदतमा समस्या समाधानका लागि पहल गरेको सहयोगी ईश्वरी ढकालले बताए ।

'कलेजले ६ महिनाको पढाइपछि 'क्रुज म्यानेजमेन्ट' क्षेत्रमै शतप्रतिशत कामको व्यवस्था हुन्छ भनेर प्रतिव्यक्ति २० हजार रिंगिट तिरेर आयौं ।' पीडितमध्येकी एक रोजिना रिजालले मंगलबार कान्तिपुरसित भनिन्, 'तर क्रुजको के कुरा, कैयौं पुराना धेरै साथीहरू नेपालमा आश्वासन दिइएजस्तो नभएपछि बाध्यताले दिन बिताइरहेका छन् । हामी सबै पीडित छौं ।'

पीडितहरूका अनुसार कलेजले सो कोर्स भनेर ल्याए पनि पढाइपनि सो विषयमा भएको छैन । साथै एक/डेढ वर्षअघि आएका विद्यार्थीहरू कतिपय रेस्टुराँमा काम गर्न र भौंतारिन बाध्य छन् । कन्सल्ट्यान्सीले झूटो आश्वासन दिएर आफूहरूलाई ठगेको भन्दै पीडितहरूले आक्रोश पोखेका छन् । रिजालले भनिन्, 'हामीलाई कन्सल्ट्यान्सी र कलेज दुवैले ठगेका छन् ।' ६ महिना पढाइपछि शत प्रतिशत सम्बन्धित क्षेत्रमै काम दिलाउने आश्वासनमा ल्याई सो कलेजले रेस्टुराँमा काम लगाएपछि नेपालीलगायत त्यहाँ अध्ययनरत विदेशी विद्यार्थीहरू आफूहरू ठगिएको थाहा पाएको पीडितहरू बताउँछन् । स्थानीय एक दैनिकका अनुसार एक भारतीय विद्यार्थीले यसअघि आफू ठगिएको भन्दै कलेजलाई तिरेको सबै शुल्क फिर्ताको माग दाबी गरेका थिए । उनले सो मुद्दा जिते पनि कलेजपक्ष अपिल गर्दै उच्च अदालत पुगेको थियो । हाल ती विद्यार्थी पनि न्यायको खोजीमा छन् ।  

पीडित विद्यार्थीका अनुसार सो कलेजमा करिब २ सय नेपालीसहित ४ सय विदेशी विद्यार्थीहरू अध्ययनरत छन् । पीडित विद्यार्थीहरू हालसम्म खर्च भएको समेत गरी सबै लागत शुल्क फिर्ता लिएर घर र्फकन चाहन्छन् । 'हामी जसरी भए पनि हामीले तिरेको शुल्क र लागतखर्च सबै फिर्ता चाहन्छौं र घर र्फकन चाहन्छौं । पढाइका लागि भएको हाम्रो सबै खर्च फिर्ता पाउनुपर्छ ।' अर्की पीडित विद्यार्थी रजनी कार्कीले भनीन्, 'हामीलाई फसाइयो, त्यसै छाड्दैनौं ।' गत अक्टोबर ९ मा आएका रजनी र रोजिनालाई कलेजले भोलिपल्टै कक्षा सुरु हुने बताएको तर एक महिनापछि बल्ल कक्षा सुरु गरेको थियो । 'हामीलाई अक्टोबर १० मा कक्षा सुरु हुन्छ भनेको थियो । तर एक महिनापछि सुरु गर्‍यो' रोजिनाले भनिन् ।

Published on: 27 November 2013 | Kantipur

Back to list

;