s

मलेसियाको बस दुर्घटनामा दुई नेपालीको निधन

रामचन्द्र गिरी

मलेसियामा भएको बस दुर्घटनामा २ नेपालीसहित ३७ जनाको निधन भएको छ । पर्यटकीय नगरी गेन्तिङ हाइल्याण्डबाट राजधानी क्वालालम्पुरतर्फ आउँदै गरेको यात्रुबाहक बस जलान गेन्तिङ चिनियाँ मन्दिर नजिकैको सडकबाट ६० फिट तल खसेको थियो । यो गत बिहीबारको घटना हो । घटनामा नगेन्द्र राई र प्रेमबहादुर बुढा मगरको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । हाल उनीहरुको शव पोष्ट मार्टमका लागि क्वालालम्पुर अस्पतालमा राखिएको जनाइएको छ ।

मृतक नेपालीबारे थप जानकारी प्राप्त हुन सकेको छैन । यसबारे यहाँस्थित नेपाली दुतावासलाई औपचारिक जानकारी प्राप्त नभएको दुतावासले जनाएको छ । यद्यपी सोमबार यसबारे बुझ्न क्वालालम्पुर अस्पताल जाने दुतावास स्रोतले बतायो । समाचारहरु अनुसार मृत्यु हुनेमा  २४ पुरुष र १३ महिलाहरु रहेका छन् ।

तीमध्ये १४ मलेसियाली यात्रु रहेको बताइएको छ ।  मृत्यु हुनेमा बंगलादेशी, इण्डोनेसियाली, थाई र कोरियाली नागरिकसमेत रहेका छन् । घटनामा ६ जना यात्रु गम्भीर घाइते भएका थिए । हाल उनीहरुको सुंगाइबुलो र क्वालालम्पुरस्थित अस्पतालहरुमा उपचार भइरहेको जनाइएको छ । बसमा ५३ जना यात्रुहरु सवार रहेका थिए ।

समाचार संस्था बर्नामाले १६ जना घाइते भएको उल्लेख गरेको छ । बसको क्षमता ४४ जनाको रहेकाले नियन्त्रण गुमाउँदा बस दुर्घटना भएको जनाइएको छ ।

Published on: 26 August 2013 | Kantipur

Back to list

;