s

मलेसियामा ३ नेपाली महिला समातिए

रामचन्द्र गिरी

मलेसियामा ३ नेपाली महिलासहित १५ महिलालाई प्रहरीले रेष्टुरेन्टबाट पक्राउ गरेको छ । जलान इनाइस्थित एक रेष्टुरेण्टमा आइतबार राति छापा मार्दा जिआरओ ढगेष्ट रिलेसन अफिसर) को रुपमा कार्यरत भनिएकाहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुको नाम खुलाइएको छैन । पक्राउ पर्नेमा भारतीय ६ जना, ४ जना पाकिस्तानी, ३ नेपाली र २ बंगालादेशी महिला छन् ।

स्थानीय दैनिक द स्टारमा प्रकाशित समाचारअनुसार उनीहरुलाई दिउंसोको समयमा रेष्टुरेण्टमा काम गर्ने शर्तमा ल्याइएको तर पछि रातमा जिआरओ को रुपमा काम गर्न बाध्य बनाइएको खुलेको छ । एक जना पीडित महिलाकी आफन्तले लेखेको इमेल र पाकिस्तानी दुतावासले दिएको सूचनाका आधारमा उनीहरुलाई उद्धार गर्न सफल भएको एक प्रहरी अधिकारीको भनाइ उध्दृत गर्दै समाचारमा जनाइएको छ ।

समाचारअनुसार आफुहरुलाई मलेसियाका होटलहरुमा वेट्रेसको जागिर दिने प्रलोभनमा ल्याइएको र पछि रातमा जिआरओको रुपमा काम गर्न दबाब दिइएको ती महिलाले प्रहरीलाई बयान दिएका थिए । उनीहरुलाई सो काममा ल्याउने/लगाउने ३ स्थानीयसहित एक भारतीय नागरिकलाई पनि पक्राउ गरिएको जनाइएको छ । प्रहरीले मानव तस्करीमा संलग्न उनीहरुसंग थप अनुसन्धान गरिरहेको जनाउँदै पीडित महिलाको उद्दार गर्न सफल भएको  जनाएको छ ।

नेपालबाट मलेसियाका विभिन्न होटलहरुमा वेट्रेसको काम र धेरै तलबसुविधाको प्रलोभनमा नेपाली महिला ल्याउने र रातमा जिआरओको काम गर्ने छ्याप्छ्याप्ती भेटिने गरेका छन् । यस खालका गतिविधि पछिल्लो समय बढ्दै गएको पाइएको छ । खासगरी नेपाललगायत दक्षिण एसीयाली मुलुकहरुबाट यसरी आउनेमध्ये कतिपयलाई परम्परागत एवं सास्कृतिक नृत्यका लागि भनेर ल्याउने र रातमा जिआरओ का रुपमा काममा लगाउने गिरोहको समूह नै सक्रिय रहेको जानकारहरु बताउँछन् । "पर्यटक भिसामा ल्याएर ३ महिनासम्म भिसा थप्दै जिआरओको काममा लगाउँछन् ।" एक नेपाली भन्छन् "यस्ता काममा बढीजसो नेपाली महिला नेपालदेखि नै तयार भएर आएका हुन्छन् भने कम मात्र यताआएपछि दबाबमा पर्छन् ।" विभिन्न क्लब, डान्सबार एवं होटलहरुमा यस्ता गतिविधि बढ्दैजाँदा प्रहरीले आइतबार राती उनीहरुले पक्राउ गरेको हो ।

ढुंगाखानी विस्फोट एक नेपालीको मृत्यु

ढुंगाखानीमा विस्फोट हुंदा मलेसियामा एक नेपाली युवाको ज्यान गएको छ । घटनामा २ जना नेपालीसहित १० विदेशी कामदार घाइते भएका छन् । जोहोरबारुको सेरि आलमस्थित जलान बुकित २ मा रहको खानिमा गत शुक्रबार दिउंसो भएको सो घटनामा मृत्यु हुनेमा ३३ वर्षीय लोहनसिंह राई रहेको स्थानीय संचारमाध्यमले जनाएका छन् । उनको नेपालस्थित ठेगाना पाउन सकीएको छैन । मृतक राईको शवलाई पोष्र्टमार्टमका लागि सुल्तान स्माहिल अस्पतालमा राखिएको छ ।

घटनामा परी एक प्याकेजिङ कम्पनीमा कार्यरत रामतुपाल र अर्का नाम नखुलेका गरि दुई नेपाली युवासहित १० विदेशी कामदार घाइते भएका थिए । उनीहरुको त्यहाँस्थित सुल्तान इस्माइल अस्पतालमा उपचार भइरहेको छ । रामतुपालको दायाँ खुट्टामा गहिरो चोट लागेको छ भने अर्का एक नेपालीको दायाँ खुट्टा भाँचीएको समाचारमा जनाइएको छ ।

प्याकेजिङ कम्पनीमा कार्यरत उनीहरु दिउंसो खाना खानको लागि  निस्कंदै गर्दा खानीमा विस्फोट भएपछि  उछिटीएको ढुंगाले लाग्दा घाइते भएका थिए । उनीहरुले काम गर्ने गरेको प्याकेजिङ कम्पनी घटनास्थलबाट करिब ५ सय किमिको दूरीमा छ । विस्फोटबाट आसपासमा रहेका १४ कारखाना र पार्किङ गरि राखीएका १८ कारमासमेत क्षति पुगेको बताइएको छ ।

Published on: 23 July 2013 | Kantipur

Back to list

;