s

मलेसियामा २१ युवा अलपत्र

चन्द्र कार्की

मलेसियामा अलपत्र २१ नेपाली युवाले उद्धारका लागि पहल गरिदिन नेपाल सरकारसँग आग्रह गरेका छन् । रोजगारीका लागि ४५ दिनअघि त्यहाँ पुगेका उनीहरूले आफूलाई काममा पठाउने मेनपावर कम्पनीले अलपत्र पारेको भन्दै उद्धारका लागि आग्रह गरेका हुन् । 

काठमाडांैको 'जेनुन प्लेसमेन्ट प्रालि' मार्फत सुरक्षा गार्डको भिषामा त्यहाँ पुगेका ती युवा त्यहाँको रोजगारदाता कम्पनीले भनेअनुसारको काम नदिएपछि अलपत्र परे जनाए । मलेसिया पुगेपछि रोजगारदाता कम्पनी आफूहरूलाई लिन नआएको र पठाउने मेनपावर कम्पनीमा सम्पर्क गर्दा अर्कै काम र कम्पनीमा जानुपर्ने बताएपछि आफूहरू समस्यामा परेको तेह्रथुम जिरिखिम्ती २ का विमल सोदेम्वाले मलेसियाबाट टेलिफोनमा बताए । युवाहरू डेढ महिनादेखि मलेसियाको कोताराय भन्ने ठाउँमा नेपाली व्यवसायीले सञ्चालन गरेको मितेरी होटलमा शरण लिई बसेका छन् । काममा लगाउने कम्पनीका प्रतिनिधिले राहदानीसमेत खोसेर लगेको र साथमा पैसा नभएकाले महिना दिनदेखि पेटभरि खान र सुत्नसमेत नपाएको पीडितले टेलिफोनबाट दुखेसो पोखे । अलपत्र परेका केही युवा बिरामी पर्न थालेको सोदेम्वाले बताए ।

मलेसियामा रहेको नेपाली दूतावासले समेत आफूहरूलाई सहयोग नगरेको पीडितले बताए । नेपाल फर्काइदिन सहयोगको माग गर्दै पटक-पटक दूतावासमा पुग्दासमेत दूतावासका कर्मचारीले चासो नदिएको पीडित सोदेम्वाले बताए । मेनपावर कम्पनीले सुरक्षा गार्डको काम भनेर ल्याएको र मलेसिया आएपछि अर्कै काम गर्न भनेकाले आफूहरूले काम गर्न नमानेको पीडित  युवाले बताए । अर्को काम गर्न नमानेपछि आफूहरूको साथमा भएको राहदानीसमेत कम्पनीका प्रतिनिधिले खोसेर लगेको सोदेम्वाले बताए । 'मेनपावर कम्पनीले नक्कली कागजात बनाएर हामीलाई यहाँ ल्याएको रहेछ,' उनले भने, 'कागजमा काम सुरक्षा गार्ड लेखे पनि काम चाहिँ अरू नै रहेछ ।' मलेसियामै रहेका प्रालिका प्रबन्ध निर्देशक केसीले नेपाली युवालाई अलपत्र पारेको नभई मेलेसिया पुगेपछि उनीहरूले काम गर्न नमानेकाले समस्या निम्तिएको बताए । सुरक्षा गार्डको काम खोज्न समय लागेकाले उनीहरूले अरू केही दिन धैर्य गरेर बस्न आग्रह गरे ।

Published on: 4 October 2013 | Kantipur

Back to list

;