s

मलेसियामा एक नेपाली कोरोना भाइरसबाट संक्रमित

होम कार्की 

काठमाडौँ — मलेसियाको सेलाङगुरमा कार्यरत एक नेपाली कामदारलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । उनको सुङ्गाई बुल्व अस्पतालमा उपचार भइरहेको छ । उनी झापाका हुन् । 

मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेका अनुसार उनको अवस्था सुधारोन्मुख छ । ‘उनीसँग नेपाली दूतावासले नियमित सम्पर्क गरिरहेको छ । स्वास्थ्यमा निकै सुधार आइसक्यो । बिरामी र परिवारबीच नियमित सम्पर्क भइरहेको छ’, राजदूत पाण्डेले भने,‘यो नेपालीको पहिलो केश हो ।’ 

कोरोना भाइरसको लक्षण देखिएपछि उनलाई कम्पनीले नै अस्पताल पुर्‍याएको थियो । मलेसियाले विदेशी र स्वदेशी नागरीकबीच उपचारमा विभेद नगरेको उनले बताए । कोरोना भाइरसको उपचार सरकारी अस्पतालमा मात्रै नि:शुल्क रुपमा भइरहेको छ । 

त्यस्तै एक नेपालीको परीक्षणका लागि पेनाङ अस्पतालमा भर्ना गरिएको छ । ती नेपालीको स्वास्थ्य रिपार्ट आइसकेको छैन । 

एकैदिन २०८ पोजेटिभ 

मलेसियाको स्वास्थ्य विभागकाअनुसार बिहीबारमात्रै २०८ जनामा कोरोना पोजेटिभ देखिएको छ । यो अहिलेसम्मको ठूलो रेकर्ड हो । बिहीबार नै १२२ जना निको भएर घर फर्केका छन् । हालसम्म मलेसियामा संक्रमितको संख्या ३ हजार ११६ जना पुगेको छ । कुल ७ सय ६७ जना निको भएका छन् । ५० जनाको मृत्यु भएको छ । मृत्यु भने १.६ प्रतिशतमात्रै रहेको मलेसियाले जनाएको छ । 

चार नेपालीलाई कारबाही 

मलेसियको अध्यागमन विभागले आवागमन बन्देज उल्लंघन गर्ने चार नेपालीलाई तीन महिना कैद र जनही १ हजार १ हजार रिंगिट जरिवाना गरेको छ । उनीहरु मेलक्कामा पक्राउ परेका थिए । 

मलेसियाले कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्न १८ मार्चदेखि १४ अप्रिलसम्म आवागमन नियन्त्रण आदेश जारी गरेको थियो । यो अवधिमा अत्यावश्यक र अनुमति प्राप्त कामदारमात्रै आउजाउ गर्न पाइने राजदूत पाण्डेले बताए । 

न्यायाधीश मोहम्मद नजरिन अलि रहिमको इजलासले ४४ वर्षीय पूर्णबहादुर लिम्बु, ३३ वर्षीय दुर्गाबहादुर सार्की, ३९ वर्षीय पुण्य तामाङ र २९ वर्षीय भरोसी सदालाई कैद र जरिवाना तोकेको हो । उनीहरुसँगै पक्राउ परेका अन्य विदेशी नागरिकलाई सजाय भएको छ ।

Published on: 2 April 2020 | Kantipur

Link

Back to list

;