s

मलेसियामा बन्दाबन्दी खुकुलो

गोरखापत्र समाचारदाता 

काठमाडौँ, वैशाख २२ गते । मलेसिया सरकारले सोमबारदेखि बन्दाबन्दी (लकडाउन) केही खुकुलो गर्ने भएको छ । मलेसियाको क्वालालम्पुरस्थित नेपाली राजदूतावासले पहिले जस्तो स्वतन्त्र रूपमा मानिसको आवातजावत वा भीडभाड नभए पनि निश्चित मापदण्ड तोकेर बिस्तारै खुकुलो बनाउँदै लैजाने मलेसिया सरकारले तयारी गरेको जनाएको छ ।

त्यसो त मलेसिया सरकारले कोरोना सङ्क्रमण जोखिम रोकथामका लागि वैशाख ३० वा मे १२ तारिकसम्म लकडाउनको घोषणा यसअघि नै गरेको थियो । मलेसियामा कोरोना नियन्त्रण उन्मुख भएसँगै केही खुकुलो गराउने तयारी गरेको जनाइएको छ ।

दूतावासका अनुसार मलेसियामा कार्यरत नेपाली श्रमिकमध्ये अहिलेसम्म तीन जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । जसमा दुई जना निको भएर फर्किएका छन् भने एक जना उपचारकै क्रममा रहेको र निजको अवस्था पनि सामान्य दूतावासले जनाएको छ

मलेसियामा कोरोना सङ्क्रमितमध्ये ७० प्रतिशतभन्दा धेरै निको भइसकेका छन् भने त्यहाँ अहिलेसम्म छ हजार १७६ जनाको कोरोना सङ्क्रमण देखिएको छ । जसमध्ये चार हजार ३२६ जना निको भएका छन् भने एक हजार ७४७ जनाको अस्पतालमा उपचार भइरहेको छ । मलेसियामा कोरोनाका कारण १०३ जनाको ज्यान गएको छ ।

Published on: 4 May 2020 | Gorkhapatra

Link

Back to list

;