s

मलेसियामा थुनेर राखिएका ३१ नेपालीको उद्दार

उनीहरुलाई खानासमेत पुग्ने गरी दिएका थिएनन् ।

बैदेशिक रोजगारीका लागि करिब डेढ बर्षअघि मलेसिया आएका ३१ नेपाली युवा एक महिनादेखि भोकभोकै बसिरहेको निकै दयनीय अवस्थामा भेटिएका छन् । यहाँस्थित पेनाङको हस्पिटलमा क्लिनरको रुपमा कार्यरत उनीहरु कम्पनीमा काम टुट्दा तथा लामो समय तलब नपाउँदा एजेन्टले यातना दिँदै राखेको अवस्थामा भेटिएका हुन् । 
 
निकै दयनीय अवस्थामा भेटिएका उनीहरुलाई उद्धार गरिएको मलेसियाली संचार माध्यमले जनाएका छन् । कम्पनी एजेण्टले चर्को शारिरिक एवं मानसिक यातना दिएपछि पीडित उनीहरुलाई पेनाङस्थित प्रहरीले उद्धार गरेको स्रोतलाई उध्दृत गर्दै बर्नामा लगायत मलेसियाली संचारमाध्यमहरुले जनाएका छन् । 
 
मानसिक तथा शारिरिक यातना दिइ एजेन्टले उनीहरु सबैलाई पेनाङस्थित जलान पि.राम्लीस्थित एक घरमा एउटै कोठामा राखेको र खानेकुरा पनि उपलब्ध नगराएका कारण करिब १ महिना भोकभोकै बस्नुपरेको पीडितलाई उध्दृत गर्दै समाचारमा उल्लेख गरिएको छ । पीडितका अनुसार त्यसअघि एजेन्टले उनीहरु ३४ जनाका लागि मासिक २० केजी मात्रै चामल उपलब्ध गराउने र कुटपिट गर्ने गरेका थिए ।
 
आफुहरुलाई महिनौंदेखि एजेन्टले शारिरिक एवं मानसिक यातना दिँदै आएको पीडितहरुले जनाएका छन् । यस्तो अवस्थामा भेटिनेमा नेपालीसहित ४५ भियतनामी कामदार छन्, तीमध्ये ४२ जना महिला कामदार समेत छन् । समाचार तयार पार्दासम्म पीडित नेपालीबारे विस्तृत जानकारी प्राप्त हुन सकेको छैन् ।
 
प्रहरीले उनीहरुलाई उद्धार गरी त्यहाँको एक स्थानीय अदालतमा पुर्याएको र अदालती आदेशअनुसार क्वालालम्पुरस्थित सुरक्षित केन्द्र (प्रोटेक्सन सेन्टर)मा राखिने जनाइएको छ । पीडितले थप दुई महिनाको तलब पनि पाएका छैनन् । यीमध्ये धेरैको भिसा पनि सकिइसकेको जनाइएको छ । 
घटनाबारे केही दिनअघि जानकारी पाइएको र समस्या समाधानका लागि पहल भइरहेको यहाँस्थित नेपाली दुतावासले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको स्थानीय प्रहरी अधिकारीलाई उध्दृत गर्दै समाचारमा उल्लेख गरिएको छ । 
 
'हामीले थप अनुसन्धानका क्रममा उक्त एजेन्ट र एजेन्सीको खोजी गरिरहेका छौं । जानकारीमा आएअनुसार उक्त एजेन्सी बायान–लापास भन्ने ठाउँमा छ' स्थानीय एक प्रहरी अधिकारीको भनाइ उध्दृत गर्दै बर्नामाले लेखेको छ, 'घटनाबारे उनीहरुले थप २ महिनाको तलब नपाएको पनि हामीले अदालतलाई जानकारी दिएका छौं ।' 
 
समाचारमा जनाइएअनुसार एजेन्टले सबै कामदारको पासपोर्ट नियन्त्रणमा लिएका छन् र सम्झौतापत्रमा दिइएभन्दा आधा पैसामात्रै तलबको रुपमा कामदारलाई दिँदै आएका थिए । ती एजेन्टबारे केही उल्लेख गरिएको छैन ।
 
Published on: 19 March 2012 | Kantipur

Back to list

;