s

मलेसियामा श्रम सम्भावना

मलेसियामा धेरै खालका समस्या छन् । कतिपय समस्या श्रमिकको कमजोरीकै कारणले सिर्जना भएका हुन्छन् । केही समस्या रोजगारदाता अनि केही समस्या भनेको नेपाल सरकारले कूटनीतिक पहल कमजोेर हुँदा श्रमिकले सास्ती भोग्नुपर्छ ।

नेपाली श्रमिकका मुख्य समस्यामध्ये काम गर्न नसक्ने पनि एक हो । नेपाली युवा नेपालमा हुँदा खासै काम गरेका हुँदैनन् । यदि काम गर्ने रहेछन् भने पनि दुई–चार घन्टा काम गरेका हुन्छन् । काम नगरेका युवा मलेसिया आएपछि एकैपटक १०–१५ घन्टासम्म कामको पेलानमा पर्छन् । अझ स्पष्ट भन्नुपर्दा नेपालको काम गर्ने कल्चर र मलेसियाको काम गर्ने कल्चर फरक छ, जुन युवाले अनुमान गरेका हुदैनन् । यहाँ आएर काम गर्नुपर्दा उनीहरू बिरामी हुने, मानसिक रूपमा कमजोर हुनेलगायतका समस्यामा पर्छन् ।

त्यस्तै, मलेसियामा रोजगादाताले आप्रवासी कामदार भर्ना गर्दा धेरै पैसा सरकारलाई भुक्तानी गरेको हुन्छ । एउटा श्रमिक भाग्यो भने पनि उसलाई धेरै घाटा हुन्छ । पहिलो त उसको उत्पादन घट्छ । अर्को भनेको उसले गरेको लगानी डुब्छ । फेरि नयाँ प्रक्रियाबाट अर्को श्रमिक भर्ना गर्नुपर्छ । त्यसैले रोजगारदाताले आफ्नो सुरक्षाका लागि श्रमिकको कागजपत्र जफत गरिदिन्छन् । तर, यो श्रम ऐनको विरुद्ध हो । यसरी कागजपत्र नहुँदा श्रमिक आफूखुसी कहीँ जान पाउँदैनन् । कतिपय रोजगारदाताले श्रम सम्झौता सकिएपछि पनि कागजपत्र दिँदैनन्, जसका कारण जति दुःख, समस्या परे पनि सोही कम्पनीमा काम गर्नुपर्ने हुन्छ । यसरी कागजपत्र नभएका श्रमिकलाई गस्तीका प्रहरीले धेरै दुःख दिन्छन् ।

धेरै नेपाली श्रमिक हृयदाघात भएर मृत्यु हुने, सुतेकोसुत्यै हुने, अनि सडक दुर्घटनामा पर्ने हुन्छन् । यसमा श्रमिक र नेपाल सरकारको दोष छ । मलेसियाको हावापानी तातो छ । श्रमिकहरू दिनरात गर्मीमा काम गर्छन्, अनि कोठामा पुगेर कमसल खालका रक्सी खाइदिन्छन् । कति श्रमिकले खाना नखाने, तर रक्सी, कोकजस्ता पेयपदार्थ खाइदिन्छन् । जसले गर्दा उनीहरूको स्वास्थ्यमा असर पर्छ । कोही हृदयाघातको सिकार हुन्छन्, कोही सुतेकोसुत्यै हुन्छन् । त्यस्तै, बिदाको दिनमा रक्सी खाएर सडक नियमविपरीत बाटो काट्ने, बाटो–बाटो हिँडिदिन्छन् । अनि सडक दुर्घटनाको सिकार हुन्छन् ।

अर्को, अहिलेको मुख्य समस्या भनेको समाजिक सञ्जाल हो । यो समस्या मलेसियामा मात्रै हैन, अन्य मुलुकको समस्या पनि होला । अहिले वैदेशिक रोजगारीमा आउने महिला वा पुरुषले आत्महत्या गर्ने टे«न्ड बढेको छ । यसको मुख्य कारण भनेको प्रविधिको दुरुपयोग हो । अहिले सबैको हातमा मोबाइल छ । इन्टरनेटको सुविधा छ । त्यसैले श्रमिकहरू पनि सामाजिक सञ्जालमा झन् बढी सक्रिय छन् । आफ्नो परिवार छोडेर आएका श्रमिकहरू मन भुलाउन पनि सामाजिक सञ्जालको प्रयोग गर्छन् । तर, बिस्तारै यसको लत बस्छ । सामाजिक सञ्जालमा बनेका साथीभाइसँग उनीहरूको उठबस बढ्न थाल्छ । धेरै मलेसिया आउने महिला र पुरुष लिभिङ टुगेदरमा बस्छन् । उता, नेपालमा श्रीमती, छोराछोरी भएका महिला र पुरुष पनि यहाँ अविवाहित हो भन्दै सँगै बस्छन् । जसको परिणाम दुःखद हुन्छ ।

मलेसियामा भएको सम्बन्धको बारेमा नेपालको परिवारले थाहा पाएपछि त्यो प्रेसर सहन नसकेर आत्महत्या गर्छन् । कसैले सम्बन्ध छोड्न नसकेपछि आत्महत्या गर्छन् । कसैले सँगै बसेको समयको फोटो र कुराकानी रेकर्ड गरी पछि एक–अर्कालाई ब्ल्याकमेलिङ गर्छन् । यो सहन नसकेर कतिले आत्महत्या गर्छन् भने कतिपय युवा मानसिक बिरामी हुन्छन् ।

नेपालीलाई मलेसियामा श्रमको सम्भावना : काम गर्न सक्ने नेपाली श्रमिकका लागि पैसा कमाउन युरोप जानुपर्ने आवश्यकता छैन । मलेसियामा नै अनेकौँ सम्भावना छन् । यहाँ धेरै बहुराष्ट्रिय कम्पनीहरू छन् । कोभिडपछि नयाँ–नयाँ कम्पनी खुलिरहेका छन् । आप्रवासी कामदारमध्ये नेपालीलाई मलेसियन सरकार र नागरिकले रुचाउँछन् पनि । मलेसियाले नेपालसँग शून्य लागतमा श्रम सम्झौता पनि गरेको छ ।

यदि नेपाल सरकारले शून्य लागतलाई नै जोड दिने हो भने धेरै नेपाली श्रमिक विनालगानी मलेसिया आइपुग्छन् । शून्य लागतमा आएका श्रमिकलाई ऋण तिर्नकै लागि भनेर जबरजस्ती काम गर्नुपर्दैन । अनि लुकेर भागेर पनि बस्नुपर्दैन । तर, नेपाल सरकारको नीति नै कमजोर छ । शून्य लागतको सम्झौता भएको छ । तर, नेपाली श्रमिक दुई–तीन लाख भुक्तानी गरेर रोजगारीमा आएका छन् । त्यो पनि मिटरब्याजमा लिएको ऋण । त्यही ऋण तिर्नका लागि पनि उनीहरू रोजगारदाताको बन्धक बन्न पुग्छन् । श्रमिकको यो कमजोरी रोजगारदातालाई पनि थाहा छ ।

यसको अर्को असर भनेको नेपाली श्रमिक मलेसिया आएपछि कसरी हुन्छ छिटो धेरै पैसा कमाउ भन्ने प्रलोभनमा फस्छन् । कतिपय श्रमिकले सातामा चार दिन आफ्नो कम्पनीमा काम गर्छन्, अरू दिन अरू कम्पनीमा गएर काम गरिदिन्छन् । यहाँ फेरि जुन कम्पनीका लागि भिसा लगाएर आएको छ, सो कम्पनीबाहेक अन्यत्र काम गर्न पाइँदैन । तर, नेपाली श्रमिक भने साथीभाइसँग भेटघाट गर्छन्, अनि यताउता बुझ्छन् । आफू आएको कम्पनीभन्दा अन्त धेरै पैसा पाइने रहेछ भन्ने थाहा पाएपछि आफ्नो कम्पनी छोडेर भागी पनि दिन्छन् । यसरी भाग्दा कति जोखिम हुन्छ भन्ने कुराको अन्दाज पनि गर्दैनन् । अनि सधैँका लागि गैरकानुनी भएर लुकेर बस्नुपर्ने हुन्छ ।

श्रमिकमाथि ज्यादती : कुनै पनि कम्पनीमा धेरै तह हुन्छ । अनि ती विभिन्न तहमा पनि फरक–फरक मुलुकका श्रमिक हुन्छन् । कहिलेकाहीँ निश्चित व्यक्तिको प्रवृत्तिका कारण पनि प्रेसर क्रिएट हुन्छ । यसरी विभिन्न तहबाट सिर्जना भएको प्रेसरलाई नेपाली श्रमिकले थेग्न सक्दैनन् । नेपालीको सहन गर्ने क्षमता हुँदैन । काममा इमानदारिता भने हुन्छ । तर, सहेर बस्न सक्ने भने हुँदैन । केही बस्छन्, तर धेरै श्रमिक यस्तो प्रेसर सहन नसकेर पनि भाग्छन् । अन्य मुलुकमा श्रमिकको अवस्था झनै सिरियस छ । कम्पनीले विनाकारण यस्तो खालको टर्चर दियो भने नेपाली श्रमिकले कानुनी उपचार अपनाउनुपर्छ । तर, धेरैलाई त्यस विषयमा जानकारी छैन । मलेसियामा श्रम कोर्ट छ । कम्पनीले विनाकारण निकालेमा, पारिश्रमिक नदिएमा, बन्धक बनाएर, ज्यादती गरे उजुरी दिन पाइन्छ ।

सरकारले गर्नुपर्ने काम : कुनै पनि मानिस आफ्नो घरपरिवार बालबच्चा, आमाबाबु छोडेर परदेशमा जान चाहँदैन । यो वास्तविकता हो । कुनै न कुनै कारणले परदेसिएका हुन्छन् । नेपाली युवालाई विदेशमा बस्न बाध्य बनाउने भनेको पनि नेपाल सरकार नै हो ।

एकपटक विदेश आएको युवा नेपाल गएर बस्न सक्दैन । बरु ऊ विदेश नै फर्केर केही व्यवसाय गर्छ, तर नेपाल बस्न सक्दैन । कारण नेपालको कर्मचारीतन्त्र हो । नेपालमा कसैले केही गर्न खोज्यो भने सरकार आफैँले भाँजो हाल्छ । युवालाई काम गर्न प्रेरित गर्नुको साटो मुलुक छाड्न बाध्य बनाउँछ ।

नेपाली युवाले विदेशमा बसेर रेमिट्यान्स पठाउँछन् । सरकार रातदिन त्यही रेमिट्यान्स गनेर बस्छ, तर युवालाई मुलुकभित्रै थेग्ने वातावरण बनाउन भने सोच्दैन । यहाँसम्म कि रेमिट्यान्स पठाउने युवाका लागि पनि कुनै सुविधा दिँदैन । तसर्थ, यदि नेपाली युवालाई मुलुकमा नै रोक्ने हो भने सरकार आफू सुध्रनुपर्छ । राजनीतिक नेताहरू पदमोहलाई त्यागेर सिंगो मुलुकको हितका लागि काम गर्न थाल्नुपर्छ । शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितता गरिनुपर्छ । विदेशबाट कमाएर ल्याएको पैसा नेपालमा नै लगानी गर्छु भन्ने युवालाई काम गर्ने र लगानी सुरक्षित हुने वातावरण सिर्जना गर्नुपर्छ । विदेशबाट फर्केका युवालाई अनुदान तथा छुटको सुविधा दिनुपर्छ । उनीहरूले विदेशमा सिकेको सीपअनुसारको रोजगारी वा उद्यमी बन्नका लागि सरकारले रणनीति बनाउनुपर्छ ।

श्रमिकलाई जोखिममुक्त बनाउन के गर्ने ? : नेपाली श्रमिकलाई जोखिममुक्त बनाउने हो भने सरकारले सबैभन्दा पहिला श्रमिकका लागि अनिवार्य गरेको पूर्वप्रस्थान अभिमुखीकरण तालिमलाई प्रभावकारी बनाउनुपर्छ । श्रमिकलाई तालिम दिएर मात्रै विदेश पठाउनुपर्छ । तालिममा बस्ने श्रमिकले आफू जाने मुलुकको बारेमा धेरै जानकारी पाउँछ । जसका कारण ऊ पहिला नै सचेत बन्छ र जोखिमबाट बच्न सक्छ ।

अर्को काम भनेको सरकारले दूतावासको क्षमता बढाउनुपर्छ । मलेसियामा काम गर्ने नेपाली श्रमिकको तुलनामा दूतावासको क्षमता धेरै कम छ । थोरै कर्मचारीले काम गर्न नै भ्याउँदैनन् । त्यसैले रेमिट्यान्स संवाहक श्रमिकले जोखिममा नपरून्, अझ बढी रेमिट्यान्स भित्राउन सकून् भन्ने हो भने सरकारले श्रमिकको हितका लागि काम गर्नैपर्छ । श्रमिक जोखिममुक्त बने भने नै काम गर्ने हुन् । काम गरे भने नै रेमिट्यान्स पठाउने हुन् ।

Published on: 3 July 2023 | Naya Patrika

Link

Back to list

;