s

मलेसियामा पनि बेचिए नसिब, एकै दलालले दुई पटक बेचे

दुर्गाप्रसाद भट्टराई

रोजगारीका लागि मलेसिया जान बढीमा १० हजार रुपैयाँ तिर्नुपर्छ । तर सर्लाहीको शंकरपुर २ का नसिब रैन मियाले म्यानपावरलाई १७ गुणा भन्दा बढी पैसा तिर्नुभयो । 

पूर्व ओभरसिज प्रालिका सञ्चालक जटाशंकरले मलेसियामा राम्रो काम र कमाई हुने लोभ देखाएपछि नसिबले एक लाख ७५ हजार रुपैयाँ तिर्नुभयो । जटाशंकरले नसिबलाई भनेका थिए, ‘कार्पेट बनाउने सहयोगीको काम हो । २०/२५ किलोको भारी लोड अनलोड गर्नुपर्छ । तलब महिनामा १३ सय ७५ रिंगिट हुन्छ ।’
 
नसिबले यति धेरै पैसा तिर्न चाहनु भएको थिएन । सँगै काठमाडौं गएका बुवालाई गाउँ फर्काउन उहाँले म्यानपावरसित पाँच हजार रुपैयाँ छुट पनि माग्नुभएको थियो । तर म्यानपावरले एक पैसा छोडेन । 
 
म्यानपावरकै अर्का सञ्चालक किसनलाल महतोले पनि जटाशंकरले भने झैं कुरा दोहोर्‍याएपछि नसिबले पैसा तिर्न धेरैतिर सोच्नुभएन । उहाँले मलेसिया जान म्यानपावरका मानिसले भनेजति पैसा किसनलाललाई बुझाउनुभयो । अनि, २०७३ साल चैतमा नसिब मलेसिया उड्नुभयो । 
 
म्यानपावरका मानिसले भनेजस्तो मलेसियामा नसिबले काम पाउनु भएन । २०/२५ किलोको भारी लोड अनलोड गर्ने भनिएपनि उहाँले एक क्विन्टल सम्मको भारी बोक्नुपर्थ्याे । यस्तो काम गरेर धेरै टिक्न नसकिने भएपछि नसिबले जटाशंकरलाई फोन गर्नुभयो । जटाशंकरले आफैं मलेसिया आएर काम मिलाइदिने, नभए नेपाल फर्काएर कतार पठाउने आश्वासन दिए । १५ दिनपछि जटाशंकर मलेसिया पुगे । उनले नसिबलाई भेटेर काम र तलब मिलाइदिएको जानकारी गराए । 
 
जटाशंकर भने अनुसार अब नसिबको तलब मासिक ४५ हजार रुपैयाँ हुने भयो । तर महिना मरेको दिन उहाँको हातमा २१ हजार रुपैयाँ मात्रै पर्‍यो । जटाशंकरले भनेभन्दा आधाभन्दा कम पैसा नसिबले पाउनुभयो । 
 
जटाशंकर मलेसिया गएर नसिबलाई सप्लाई कम्पनीमा काम लगाइदिएका थिए । काम त फेरियो तर कामको दुःख खासै फरक थिएन । कमाई पनि भनेजस्तो भएन । जहाँ भन्यो त्यही, जे काममा लगायो त्यही काम गर्नुपर्ने । कामको टुंगो थिएन । मलेसिया पुगेको तीन महिनामा आमा बितेको खबर पुग्यो । जटाशंकरलाई फोन गरे नसिबले आफूलाई फर्काउन आग्रह गर्नुभयो । तर जटाशंकरले उहाँलाई नाटक गरेको भन्दै थर्काए । ‘लाग्ने खर्च तिर्छु भन्दा पनि फर्काएनन्,’ अन्तिम पटक आमाको अनुहार हेर्न नपाएका नसिबले भन्नुभयो, ‘आमालाई जन्नतमा पुर्‍याउन माटो पनि दिन पाइन ।’
 
आठ महिनापछि कामबाट भागेर नसिब क्वालालाम्पुरमा रहेको नेपाली दूतावासमा पुग्नुभयो । दूतावासले म्यानपावरलाई भनेर टिकट उपलब्ध गराएपछि दुई हप्ता अगाडि उहाँ नेपाल फर्कनुभयो ।  
 
Published on: 31 January 2018 | Ujyaalo online

Back to list

;