s

मलेसियामा नेपालीसहित ४४० अवैध आप्रवासी पक्राउ

मलेसियामा अवैध आप्रवासी कामदारविरुद्ध संचालन गरिएको खोजी अभियानमा नेपालीसहित ४४० आप्रवासी कामदार पक्राउ परेका छन् । अति व्यस्त पर्यटकीय क्षेत्र मानिने बुकित बिन्ताङको जलान आलोर र जलान चङ्कातमा मंगलबार प्रहरीले संचालन गरेको खोजी अभियानमा उनीहरु पक्राउ परेका मलेसियाली अंग्रेजी दैनिक ‘द सन डेली’ ले उल्लेख गरेको छ । 
 
अधिकारीहरुले उनीहरुसँग मलेसियामा बस्ने भिसा नभएको, भिसा नवीकरण नगरेको एवं भिसाको दुरुपयोग गरेको पाइएकाले पक्राउ गरिएको बताएका छन् । नेपाली समेत पक्राउ परेका बताइए पनि संख्याबारे केही उल्लेख गरिएको छैन । पक्राउ परेकाहरुलाई आवश्यक कानुनी प्रक्रियापछि उनीहरुकै मुलुक फर्काइने जनाइएको छ । 
 
सरकारले अवैध हैसियतमा रहेका आप्रवासीविरुद्ध खोजी अभियान चलाउँदै आएको छ । उसले अवैध अवस्थामा रहेका आप्रवासीलाई जरिवाना रकम तिरेर स्वदेश फिर्नसक्ने अवसरसमेत दिइरहेको छ । तर त्यस्ता कामदार उक्त अवसरको उपयोग नगरि लुकेर बसेको हुनसक्ने भन्दै उनीहरुविरुद्ध खोजी अभियान तीव्र पारेको छ । 
 
मंगलबार दिउँसो ४:३० बजेदेखि साँझ ७ सम्म संचालन गरिएको उक्त खोजी अभियानमा अध्यागमन विभागका साथै राष्ट्रिय दर्ता विभागलगायत विभिन्न सरकारी निकायका अधिकारीहरु सहभागी भएको स्थानीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।
 
Published on: 15 November 2017 | Kantipur

Back to list

;