s

मलेसियामा नेपालीलाई मृत्युदण्डको आदेश

सुरेन्द्र पौडेल

मलेसियाको सर्वोच्च अदालतले लागुपदार्थ कारोबारको अभियोगमा नुवाकोट, बर्सुन्चेत- १ का हरिबहादुर घलेलाई मृत्युदण्ड सुनाएको छ। लागुपदार्थ कारोबारको अभियोगमा नौ वर्षदेखि क्वालालाम्पुरस्थि जेलमा बन्दी जीवन बिताइरहेका घलेलाई मृत्युदण्डको सजाय कार्यान्वयन गर्न क्वालालाम्पुर सर्वोच्च अदालतले हिजो बिहान आदेश दिएको हो।

जालन उच्चन्यायालय र पुनरावेदन अदालतले यसअघि नै उनलाई मृत्युदण्ड सुनाएको थियो। मृत्युदण्ड माफी पाऊँ भनी घलेले दिएको पुनरावदेन खारेज गर्दै तल्लो अदालतले सुनाएको फैसला कार्यान्वयन गर्न सर्वोच्चले आदेश दिएको थियो। मृत्युदण्ड दिने फैसला गरे पनि अदालतले कुन दिन र कसरी (झुण्डयाएर वा इन्जेक्सन दिएर) मृत्युदण्ड दिनेबारे खुलाएको छैन।

'क्वालालाम्पुर सर्वोच्च अदालतले घलेलाई सुनाइएको मृत्युदण्डको सजाय कार्यान्वयन गर्न आदेश दिएको छ,' मंगलबार बिहान फैसला सुन्न अदालत पुगेका मलेसियास्थित नेपाली दूतावासका द्वितीय सचिव चक्रकुमार सुवेदीले टेलिफोनबाट नागरिसँग भने, 'अब उनलाई बचाउन एउटा उपाय बाँकी छ, त्यो पनि असफल भए उनलाई बचाउन सकिँदैन।'

सुवेदीका अनुसार एउटै उपाय भनेको राष्ट्रपति रामवरण यादवले मलेसियाका राजा अब्दुल हलिमलाई पत्र लेखी घलेलाई सुनाइएको मृत्युदण्डको सजाय माफी दिन आग्रह गर्नु हो। यदि राजाले नेपालका राष्ट्रपतिको आग्रह जायज ठानेर माफी दिने घोषणा गरे मात्र घले मृत्युदण्डबाट जोगिनेछन्।

'राष्ट्रपतिको आग्रहलाई राजाले स्वीकारे घले मृत्युदण्डबाट मुक्त भई नेपाल फर्कन पाउने छैनन्। मृत्युदण्ड माफी भए पनि उनलाई आजीवन काराबास सजाय हुनेछ,' सुवेदीले भने, 'यसका लागि हामीले छिट्टै प्रक्रिया सुरु गछर्ौं। हामीले परराष्ट्र मन्त्रालय, मन्त्रालयले प्रधानमन्त्री र प्रधानमन्त्रीले राष्ट्रपतिसमक्ष अनुरोध गरेपछि राष्ट्रपतिले मलेसियाका राजालाई सजाय माफीका लागि आग्रह गर्नुपर्ने हुन्छ।'

१२ वर्षअघि वैदेशिक रोजगारीको सिलसिलामा घले मलेसिया पुगेका थिए। मलेसिया पुगेको तीन वर्षमा काम गर्ने कम्पनीसँगको करार सकिएपछि उनी नेपाल फर्कन लाग्दा प्रहरीले उनलाई पक्राउ गरेको थियो। घले बसेको होटलको कोठामा छापा मार्दा प्रहरीले एउटा झोलामा ८ सय ७५ ग्राम हिरोइन फेला पारेको थियो।

घलेसँगै होटलको कोठाबाट अर्का नेपाली नागरिक साजन गुरुङ पनि पक्राउ परेका थिए। सन् २००३ मे ३० का दिन पक्राउ परेका घले र गुरुङले बयानका क्रममा प्रहरीलाई हिरोइन रहेका झोला गणेश तामाङको भएको बताएका थिए। बयानमा उनीहरूले झोलामा हिरोइन भएकोबारे आफूहरूलाई थाहा नभएको बताएका थिए।

चिनजानका तामाङले अनुरोध गरेको भरमा उनको झोला बोकेको बयानमा घले र गुरुङले बताए पनि उनीहरूमाथि अमेरिकी प्रहरीले लागुपदार्थ कारोबारको शंकामा लामो समयदेखि निगरानी राखेको थियो। घले र गुरुङलाई होटलबाट अमेरिकी प्रहरीले पक्राउ गरे पनि पछि उनीहरूलाई मलेसियन प्रहरीको जिम्मा लगाइएको थियो। घले र गुरुङ पक्राउ परेलगत्तै झोला बोक्न लगाउन तामाङ फरार भए।

पक्राउ गरेपछि उनीमाथि स्थानिय प्रहरीले लागुऔषधसम्बन्धी नियम १९५२ को दफा ३९ अन्तर्गत अदालतमा मुद्दा चलाएको थियो। जालन उच्च न्यायालयले सन् २००९ नोभेम्बर २६ का दिन पहिलोपटक उनीहरूलाई दोषी ठहर गर्दै मृत्युदण्ड सुनाएको थियो। त्यसपछि उनीहरू न्यायका लागि पुनरावेदन अदालत गएका थिए।

मिर्गौला रोगले पीडित गुरुङको पुनरावेदन अदालतमा मुद्दा चल्दै गर्दा उपचारका क्रममा सन् २०१० जनावरी २० मा मृत्यु भयो। त्यसपछि घले एक्लैले मुद्दा लड्दै आएका थिए। पुनरावेदन अदालतले पनि उच्च न्यायालयको फैसला सदर गरेपछि घलेले सजाय माफीका लागि सर्वोच्च अदालतमा पुनरावेदन दिएका थिए।

सर्वोच्च अदालतमा मुद्दा लड्न चाहिने पैसा जोहो गर्न नसकेपछि क्वालालाम्पुरस्थित नेपाली दूतावासले सहयोग संकलन गरेको थियो। दूतावासले मुद्दा लड्न आवश्यक पर्ने ३० हजार रिंगिट (झन्डै ७ लाख रुपैयाँ) सहयोग संकलन गरी राजपाल सिंहलाई घलेको वकिल नियुक्त गरेको थियो।

'घलेलाई बचाउन हरदम प्रयास गरेका थियौं, तर हाम्रो अपिल खारेज गरी अदालतले मृत्युदण्डको सजाय सदर गरिदियो,' सुवेदीले भने, 'अब हामी उनलाई बचाउन बाँकी रहेको एकमात्र उपायतर्फ लाग्नेछौं।'

Published on: 26 September 2012 | Nagarik 

Back to list

;