s

मलेसियामा नेपाली युवा अलपत्र

नेपालमा सम्झौता गरिएअनुरूप काम र तलब सुविधा दुवै फरक परेपछि मलेसियामा एक युवा अलपत्र परेका छन् । सम्झौतामा उल्लेख भएअनुसार तलब सुविधाबारे कम्पनीले बेवास्ता गरेपछि अर्घाखाँचीका सुवास आचार्य तीन सातादेखि अलपत्र परेका हुन् ।

नेपालस्थित म्यानपावर कम्पनीले कम्प्युटरको पाटपुर्जा बन्ने कम्पनी भन्दै झुक्याएर आफूलाई फलामका ठूल्ठूला पाता काट्ने मेटल कम्पनीमा पठाई फसाएको उनले बताए । 'दैनिक ११ घन्टा काम भनेर ९ सय रिंगेट दिइने सम्झौता छ । तर यहाँ मासिक ६ सय मात्रै हुँदो रहेछ । त्यतिले के खाने, के बचाउने ? इलेक्ट्रोनिक कम्पनी भनेर फसाए,' सेलेङगरेको सीएस याप मेटल नामक कम्पनीमा करिब डेढ महिनाअघि पठाइएका उनले भने ।

सम्झौता पत्रमा दैनिक ११ घन्टा कामसहित मासिक ९ सय रिंगेट दिने उल्लेख छ । स्थानीय एजेन्ट दुर्गा सुवेदीमार्फत एक लाख तिरेर मलेसिया आएको बताउँदै उनले इलेक्ट्रोनिक कम्पनी भनेर फसाएको बताए । 'कम्प्युटरको पाटपुर्जा बन्ने इलेक्ट्रोनिक कम्पनी हो भनेर सम्झौता गराए । एजेन्टलाई सहित एक लाख तिरें । तर यता आएपछि पो थाहा पाइयो, ठूल्ठूला फलामका पाता काट्ने काम रहेछ,' उनले सुनाए ।

'दुई सातादेखि खाना खाने पैसा पनि छैन । कम्पनीले काममा पनि बोलाएको छैन । आज दाइले साउदीबाट दुई सय रिंगेट पठाइदिनु भयो । म घर फर्कन चाहन्छु, मलाई उद्धार गरिदिनुहोला,' पीडित आचार्यले ईकान्तिपुरसित फोनमा भने । उनका अनुसार सँगै आएका गणेश सुदाली नामका अर्का युवासमेत अलपत्र छन् । उनलाई स्थानीय एजेन्टले सुटुक्क फर्काउन लागेका छन् । कम्पनीले एक वर्ष काम गरिसकेका दुई युवालाई समेत धेरै दिन बिदा लिएको निहुँमा फर्काउन लागेको उनले बताए ।

Published on: 28 October 2012 | Kantipur

Back to list

;