s

मलेसियामा नेपाली सुरक्षागार्डलाई निर्घात कुट्ने नेपाली नै

मुना कुँवर 

मलेसियामा नेपाली सुरक्षागार्डलाई निर्घात कुट्ने नेपाली नै

मलेसियामा नेपाली कामदारमाथि कुटपिट भइरहेको भिडियो शुक्रबारदेखि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । ४४ सेकेन्डको भिडियोमा कम्पनीमा सिनियरजस्तो देखिने व्यक्तिले नेपाली सुरक्षागार्डलाई निर्घात रूपमा कुटपिट गरिरहेका छन् ।

अपार्टमेन्टको पार्किङमा कुटिरहेका नेपाली श्रमिकलाई मले भाषामा गाली पनि गरिरहेका छन् । तर, नेपाली श्रमिकले भने चुपचाप पिटाइ खाइरहेका छन् । भिडियो खिचिरहेका अर्को व्यक्तिले भने धेरै भयो छोडिदेऊ भनिरहेका छन् । हिन्दी लवजमा नेपाली शब्द प्रयोग गरी उनले अब छोडिदेऊ भनिरहेका छन् ।

सो भिडियो सामाजिक सञ्जालमा भाइरल भइसकेपछि मलेसियास्थित नेपाली दूतावासले सूचना जारी गरी भिडियोमा भएका व्यक्तिको बारेमा जानकारी भएमा खबर गर्न आह्वान गरेको थियो । भिडियोमाथि कमेन्ट गर्दै धेरै नेपालीले कुटपिट गर्नेलाई कडा सजायको माग गरेका छन् । मलेसियास्थित विभिन्न निकायले सो घटनाको निन्दासमेत गरेका छन् ।

कुट्ने पनि नेपाली नै

मलेसियामा नेपाली कामदारमाथि कुटपिट गर्ने व्यक्ति नेपाली नै भएको फेलापरेको छ । मलेसियास्थित नेपाली दूतावासका अनुसार नेपाली सुरक्षागार्डमाथि कम्पनीका नेपाली सुपरभाइजरले नै निर्घात रूपमा कुटपिट गरेका हुन् ।

पीडित नेपाली श्रमिक अहिले मलेसियास्थित नेपाली दूतावासमा आश्रय लिइरहेको मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले बताए । कुटाइ खाने नेपाली श्रमिकका दाइले नेपालबाट दूतावासलाई सम्पर्क गरेका  थिए ।

राजदूत पाण्डेले भने, ‘हामी श्रमिक भएको स्थानमा गएर पीडितलाई दूतावासमा ल्याएका छौँ । सुरक्षाका लागि उनलाई दूतावासमा नै राखिएको छ ।’ राजदूत पाण्डेका अनुसार पीडक नेपाली श्रमिक गैरकानुनी रूपमा मलेसियामा बस्दै आएका छन् । उनले पहिलो कम्पनी छोडी अहिलेको कम्पनीमा काम गर्न थालेको दूतावासले जनाएको छ । त्यस्तै दूतावासले पीडक श्रमिकलाई पनि सम्पर्क गरिसकेको छ ।

सोमबार प्रहरीमा मुद्दा दायर गरिने

नेपाली सुरक्षागार्डमाथि भएको कुटपिटको घटनालाई मलेसियास्थित नेपाली दूतावासले सोमबार प्रहरीमा केस दर्ता गर्ने भएको छ । आइतबार सार्वजनिक बिदा हुने भएकाले दूतावासले सोमबार मात्रै केस दर्ता गर्ने जनाएको छ ।

दूतावासले पीडकलाई सम्पर्क गरी सोमबार प्रहरीमा बोलाएको राजदूत पाण्डेले बताए । पाण्डेका अनुसार पीडकको भिसाको अवस्थाबारे भने विस्तृत जानकारी नभएको बताए ।

सोमबार प्रहरीमा उजुरी दर्ता भएपछि दूतावासले सम्पूर्ण जानकारी गराउने उनले बताए । समाचारका कारण उजुरी दर्तामा समस्या पर्ने भन्दै राजदूत पाण्डेले पीडक र पीडितको नाम र कम्पनी खुलाउन मानेनन् ।

Published on: 2 August 2020 | Nayapatrika

Link

Back to list

;