s

मलेसियामा नेपाली साहुनी (भिडियो)

रीतु थेबे

मलेसियामा नेपाली कामदार जुन जुन ठाउँमा रहेर काम गर्छन्, ती क्षेत्रमा नेपाली रेष्टुराँ खुलेका छन् । नेपालमै पाइने खालका फेन्सी सामान पाइने पसल पनि छन् । त्यस्तै मध्येको एउटा ठाउँ हो जोहोरबारुको गेलाङपाता । 

जहाँ उत्पादनमुलक क्षेत्रमा काम गर्ने धेरै नेपाली भेटिन्छन् । हप्ताभरी काम गरेर छुट्टी मनाउन धेरैजसो नेपाली कामदार खानपान र भेटघाट गर्न नेपाली रेष्टुँरा पुग्छन् । गेलाङपातामा मोरङको विराटनगर महानगरपालिका २० रानीका बेदना श्रेष्ठको रेष्टुराँ र फेन्सी पसल छ । ६५ हजार रिंगिट (१६ लाख ५० हजार रुपैयाँ, त्यसबेलाको सटही दर अनुसार) लिएर सन् २०११ मा मलेसिया पुगेकी बेदनाको पसलमा ६ जना नेपाली सहित ८ जनाले रोजगारी पाएका छन् । सुरुमा रोजगारीका लागि सिंगापुर पुगेकी बेदना मलेसियामा भने व्यवसायी बन्नुभएको छ ।
 
भीसा नविकरण गरिदिएको भए बेदना यतिबेला बेला सिंगापुरमा भेटिनुहुन्थ्यो । तर भीसा नविकरण नभएपछि उहाँ ४ वर्ष रोजगारी गरेको देश सिंगापुरको बसाई टुंग्याएर नेपाल फर्कनुभयो । सिंगापुरमा बेदनाको काम थियो रेष्टुँरामा । 
 
काम र कमाई चित्तबुझ्दो भएपनि सिंगापुर सरकारले भीसा नदिएपछि उहाँ नेपाल फर्कनुभयो । यो सन् २०११ को कुरा थियो । १० वर्षको विदेश बसाईले उहाँलाई कामदार हुँदै व्यवसायी बनाएको छ । सिंगापुरबाट फर्केपछि उहाँको मन नेपालमा अडिएनन् । त्यसै साल उहाँ मलेसियाको जोहोरबारु पुग्नुभयो । यो पटक भने उहाँ काम गर्न नभएर व्यापार गर्न उहाँ सात समुन्द्र पारी पुग्नुभएको थियो । 
 
तर अहिले पनि दूरीका हिसावले बेदना सिंगापुर भन्दा धेरै टाढा हुनुहुन्न । जोहोरबारुको गेलाङपातामा बेदनाको व्यापार छ । पारीपट्टि सिंगापुर । सिंगापुरको कमाई र घरबाट थोरैतिनो रकम थपथाप गरेर व्यापार गर्न मलेसिया छिरेको गएको अगष्टमा ६ वर्ष पूरा भयो । सर्लक्कै परेको सडकले जोहोरबारुको सेन्ट्रल र गेलाङपातालाई जोड्छ । तर ती दुई ठाउँको चमकधमक भने फरक छन् । सेन्ट्रलको जस्तो भिडभाड तामानपुत्रीमा छैन । तर सेन्ट्रलमा खुलेका र गेलाङपातामा रहेको बेदनाको रेष्टुराँको भिडभाड भने उस्तै उस्तै छ । 
 
पछिल्ला दिनमा रोजगारी गर्न विदेश जाने महिलाको संख्या बढिरहेको छ । असुरक्षाका कारण भन्दै सरकारले घरेलु काममा जान रोकेपनि अरु काममा जस्तै, उद्योग मजदुर, होटल, कृषि जस्ता क्षेत्रमा नेपाली महिला रोजगारी गर्न विदेश गइरहेका छन् ।
 
बेदना जस्तै विदेशमा व्यापार गर्ने महिलाको संख्या पनि बढ्दो छ । वैदेशिक रोजगार विभागका अनुसार झण्डै दुई लाख जना महिलाले रोजगारीका लागि विदेशमा काम गर्न जान अन्तिम श्रमस्वीकृति लिएका छन् ।
 
Published on: 23 March 2018 | Ujyaaloonline

Back to list

;