s

मलेसियामा नेपाली कामदार आन्दोलित

रामचन्द्र गिरी

सम्झौताअनुसार तलब सुविधा नपाएको विरोधमा मलेसियाको एक कम्पनीमा कार्यरत नेपाली लगायत करिब ५ सय विदेशी कामदार आन्दोलित छन् ।

टायर निर्माणसम्बन्धी इपोस्थित इभर थ्रो रबर प्रोडक्सन नामक कम्पनीले सम्झौताअनुसार तलब सुविधा नदिएको र विभिन्न बहानामा तलबबाटै पैसा कटौती गर्दै आएको भन्दै कामदारले कामै ठप्प पारेर विरोधमा उत्रिएका हुन् । आन्दोलित कामदारमध्येका एक रामकुमार पुलामीका अनुसार, सम्झौतापत्रमा उल्लेख भएअनुसार न्यूनतम तलब ५४६ पाएका छैनन् । पुलामीले सोमबार कान्तिपुरसित फोनमा भने, 'कम्पनीमा काम नहुँदा र सार्वजनिक बिदाको दिनको पनि पैसा काट्ने गरिएको छ ।'

दुई वर्षदेखि उक्त कम्पनीमा कार्यरत उनले होस्टल पनि अव्यवस्थित रहेको र मेडिकल फी एवं इन्स्योरेन्स आदि विभिन्न शीर्षकमा समेत कम्पनीले पैसा काट्ने गरेको गुनासो पोखे । 'बेसिक ५४६ हो, गत महिना चाइनिज न्यू इयरसहित १६ दिन छुट्टी दिइयो । अहिले १६ दिनको छुट्टीको पैसा काटिएको छ । मासिक ३ सयले हामी के के गर्ने ?' उनले १० बुँदे माग राखिएको पनि बताए । मागमा कम्पनीको काम नचलेको अवस्थामा पनि न्यूनतम मासिक तलब ५ सय ४६ रिंगेट नै पाउनुपर्ने, छुट्टीमा घर र्फकनुअघि पैसा डिपोजिट राख्ने प्रावधान हटाउनुपर्ने र सम्झौताअनुरूप रात्रि अलाउन्स दिनुपर्नेलगायत विषय उल्लेख छ ।

Published on: 7 February 2012 | Kantipur

Back to list

;