s

मलेसियामा नयाँ तलबमान

रामचन्द्र गिरी

मलेसियाले कामदारको न्यूनतम पारिश्रमिकसम्बन्धी नीति जनवरीदेखि लागू गर्ने भएको छ । रोजगारदाता कम्पनीमा कार्यरत कामदार संख्याका आधारमा दुई श्रेणीमा उक्त नीति लागू गरिनेछ । मलेसियाले पाँच जना वा त्यसभन्दा कम संख्यामा कामदार कार्यरत रहेका कम्पनीलाई जुलाई १ देखि र त्योभन्दा बढी कामदार कार्यरत कम्पनीलाई जनवरीदेखि नीति पालना गर्न निर्देशन दिएको छ । त्यसका लागि पाँच जनाभन्दा कम संख्यामा कामदार कार्यरत कम्पनीले अपि्रल १ सम्ममा र त्योभन्दा बढी कामदार रहेका कम्पनीले डिसेम्बर अन्त्यसम्ममा राष्ट्रिय तलब परामर्श परीषद् -नेसनल वेजेज् कन्सल्टेसन काउन्सिल) मा आवेदन दिनुपर्ने छ । यो नीतिबाट लामो समयदेखि ५ सय ४६ रिंगिट न्यूनतम पारिश्रमिकमा काम गरिरहेका नेपालीसमेत लाभान्वित हुनेछन् । विश्व मजदुर दिवसका अवसर पारेर घोषित न्यूनतम राष्ट्रिय पारिश्रमिकसम्बन्धी नीतिअनुसार सावाह र सारावक राज्यमा कार्यरत कामदारलाई ८ सय र तीबाहेकका राज्य -प्रायद्वीप मलेसिया) मा कार्यरत कामदारका लागि मासिक ९ सय रिंगिट 'न्यूनतम पारिश्रमिक' तोकिएको छ ।

Published : 5 December 2012 | Kantipur

Back to list

;