s

मलेसियामा एमआरपी र ट्राभल डकुमेन्ट किर्ते गर्ने समूह सक्रिय

काठमाडौं: नेपालको मेसिन रिडेबल पासपोर्ट (एमआरपी) तथा यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) किर्ते गर्ने गिरोह मलेसियामा क्रियाशील रहेको पत्ता लागेको छ । मलेसियाबाट नक्कली राहदानीमा स्वदेश फर्केका १२ जना नेपाली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई साताअघि पक्राउ परेपछि उक्त तथ्य सार्वजनिक भएको हो ।
 
ती नेपालीले राहदानी तथा ट्राभल डकुमेन्टमा राखिने व्यक्तिगत पाना तथा विवरणलाई लेमिनेसनले छोपेर नयाँ पाना तथा विवरण राखेको पाइएको हो । अध्यागमन विभागले नेपाल प्रहरी, परराष्ट्र मन्त्रालय र मलेसियास्थित नेपाली दूतावासको सहयोगमा यसबारे छानबिन अघि बढाएको विभागका महानिर्देशक केदार न्यौपानले बताए । उनले नेपालदेखि मलेसियासम्म नै त्यस खालको गिरोह सक्रिय रहेको हुनसक्ने पनि बताए ।
 
परराष्ट्र मन्त्रालयले १२ जना नेपालीले कसरी त्यस खालका राहदानी पाउन सफल भए भन्ने विषयमा क्वालालम्पुरस्थित नेपाली राजदूत डा. निरञ्जनमानसिंह बस्न्यातसँग जानकारी मागेको थियो । राजदूत बस्न्यातले उनीहरूले कुनै गिरोहको सहयोगमा सक्कली राहदानीभित्र लेमिनेसन गरी त्यस्तो हर्कत गरेको हुनसक्ने जबाफ मन्त्रालयलाई दिएका छन् ।
 
राहदानी विभागका महानिर्देशक लोकबहादुर थापाले सक्कली राहदानीलाई लेमिनेसनले छोपेर नयाँ पाना तथा विवरण राख्न सफल भएका ती नेपालीमाथि छानबिन भइरहेको जानकारी दिए । मलेसियाली अध्यागमन तथा त्यहाँ सक्रिय रहेको गिरोहको सहयोगमा यस्तो काम भएको हुनसक्ने आशंका गरिएको सरकारी अधिकारीले बताए ।
 
‘लेमिनेसनले छोपेर नयाँ पाना तथा विवरण राखिएका नेपाली राहदानी वाहकलाई मलेसियाको अध्यागमनले नेपाल आउने क्रममा किन पक्राउ गरेन ? यो निकै शंकास्पद देखिन्छ', एक उच्च सरकारी अधिकारीले भने ।
 
गैरकानुनी रूपमा ट्राभल डकुमेन्ट बनाएर स्वदेश फर्किएपछि पक्राउ पर्नेमा छत्रबहादुर ठाडा, कमानसिंह घर्ती, सत्यनारायण साह, हजरत अलि तेली, अर्जुनकुमार गुप्ता, राजेन्द्र खत्री, रामचलित्र मुखिया र श्यामकुमार राई छन् । त्यस्तै नक्कली राहदानी बनाएर स्वदेश फर्किनेमा पदम धानुक र दीपनारायण साह छन् ।
 
स्रोतका अनुसार नेपालीले ७० हजारदेखि १ लाख रुपैयाँसम्म उक्त गिरोहलाई बुझाउने गरेको पाइएको छ । मलेसिया सरकारले भिसाको म्याद सकिएर वा अन्य कारणले गैरकानुनी बनेका नेपालीलगायत विदेशी नागरिकलाई स्वदेश फर्किन सूचनामार्फत दुई वर्षयता आग्रह गरेको थियो ।
 
मलेसियास्थित नेपाली दूतावासले त्यसरी गैरकानुनी बनेका थुप्रै नेपालीलाई ट्राभल डकुमेन्ट सहज रूपमा उपलब्ध गराएर नेपाल फर्काइसकेको छ । गत दुई वर्षमा ५५ हजारजतिले मलेसियास्थित दूतावासबाट स्वदेश फर्किन ट्राभल डकुमेन्ट लिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
 
गैरकानुनी रूपमा बसिरहेका नेपालीले स्वदेश फर्किन विभिन्न गिरोहको सहयोग लिने गरेका छन् । मलेसियास्थित नेपाली दूतावासले मलेसिया सरकारलाई गैरकानुनी रूपमा रहेका नेपालीलाई स्वदेश फर्काउन अझै केही समय थप्न आग्रह गरिरहेको छ । मलेसियाले भने त्यसमा कुनै प्रतिक्रिया दिएको छैन ।
 
Published on: 29 January 2016 | Annapurna Post

Back to list

;