s

मलेशियामा मृत्यु भएकाका परिवारलाई सहयोग

वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा मृत्यु भएका म्याग्दीको मालिका–२ का २९ वर्षीय धर्मबहादुर रोकाको परिवारलाई एक लाख ४५ हजार रुपैयाँ सहयोग जुटेको छ ।
 
रोका परिवारको अवस्थासम्बन्धी गत शुक्रबार राससमा प्रकाशित समाचारलाई विभिन्न सञ्चारमाध्यमले प्रकाशन÷प्रशारण भएपछि स्वदेश तथा विदेशबाट मृतकको परिवारलाई आर्थिक सहयोग आउने क्रम शुरु भएको हो ।
 
एउटै परिवारका तीन भाइ छोराको विदेशमा मृत्यु भएपछि विक्षिप्त बनेका रोकाका बुबा आमा र घर परिवारलाई आर्थिक सहयोगको आवश्यकता छ । मृतक रोकाका ७२ वर्षीय बुबा धनबहादुर रोका पक्षाघातबाट ग्रस्त छन् भने र ६८ वर्षीया आमा लीलमति पेट र मुटुकी रोगी हुन् ।
 
मृतक रोकाको काजक्रिया गर्न र धनबहादुर र लिलमतिको उपचारका लागि आर्थिक अभाव भइरहेको समयमा कतारमा रहेका म्याग्देलीबाट ८० हजार ८ सय ३० रुपैयाँ र दरवाङवासीबाट संकलन गरिएको रकम गरी एक लाख ४५ हजार ८ सय ३० रुपैयाँ रोका परिवारलाई हस्तान्तरण गरिएको छ । दरवाङका वीरेन्द्र पुनमगरले कतारका साथै दरवाङमा समेत संकलन गरी एकमुष्ठ एक लाख ४५ हजार ८ सय ३० रुपैयाँ मृतकका साइला दाजु थमबहादुर रोकालाई हस्तान्तरण गरेका हुन् ।
 
घरमा आर्थिक जोहो गर्ने कान्छो छोराको समेत मृत्यु भएपछि वृद्धवृद्धाको औषधोपचार तथा रेखदेखमा सघाउने उद्देश्यले आर्थिक सहयोग गरिएको पुनले बताए । मृतक रोका परिवारका चार भाइमध्ये जेठा तमबहादुर रोका, माइला भक्तबहादुर रोका र कान्छा धर्मलाल रोकाको विदेशमा सुतेको अवस्थामा मृत्यु भएको थियो । रोका परिवारको सहयोगका लागि देश विदेशमा रहेका म्याग्देली एवं अन्य संघसंस्थाले सहयोग अभियान शुरु गरेका हुन् ।
 
Published on: 7 April 2018 | Madhyanha

Back to list

;