s

मलेसियामा खुट्टा भाँचिदा पनि काम गर्न बाध्य

मलेसियामा भाँचिएको खुट्टा निको नहुँदै एक नेपालीले बाध्य भएर काम गर्नुपरेको छ। रोजगारीका सिलसिलामा मलेसिया पुगेका खोटाङको साकेला गाउँपालिका–२ रतन्छाका २७ वर्षीय रोशन बिश्वकर्मा भाँचिएको खुट्टा निको नहुँदै काम गर्नुपरेको हो। कार्यरत मिनीउड कम्पनीले ‘पैसा चाहिए काम गर’ भन्दै आरामको सट्टा काममा लगाउने गरेको बिश्वकर्माको गुनासो छ। यसअघि साउदीअरब पुगेर फर्किएका बिश्वकर्मा पुनः रोजगारीका सिलसिलामा लिंकस्टार मेनपावरमार्फत ६ महिनाअघि मात्र मलेसिया पुगेका हुन्। 
 
पेन्टिङका काम गर्दै आएका बिश्वकर्माको कम्पनीकै काम गर्नेक्रममा लडेर देब्रे खुट्टा भाँचिएको छ। खुट्टा भाँचिएको सात दिनपछि मात्र बिश्वकर्मालाई अस्पताल पु-याएको मिनीउड कम्पनीले अस्पतालबाट फर्कने बित्तिकै आराम गराउनुको सट्टा काममा लगाएको बताइएको छ। काम नगरे भोकै बस्नुपर्ने अवस्था भएकाले भाँचिएको खुट्टा निको नभए पनि काम गर्नु परेको रोशनले बताए। घाइते भएपछि स्वदेश फर्कनका लागि लिंक स्टार मेनपावरलाई सम्पर्क गर्दा बेवास्ता गरेको उनको गुनासो छ। स्वदेश फर्कनका लागि आग्रह गर्दा कम्पनीले उल्टै लेबी, भिषा लगायतको पाँच सय रिङ्गेट माग्ने गरेको छ। घर फर्काउन आग्रह गर्दा कार्यरत कम्पनीले ‘तेरो एजेण्टलाई भन’ भन्ने जवाफ दिने गरेको बिश्वकर्माले बताए। 
 
मेनपावर कम्पनीबिरुद्ध मुद्धा 
 
मलेसियामा भाँचिएको खुट्टा निको नहुँदै काम गर्न बाध्य रोशनले ठगी गरेको भन्दै लिंक स्टार मेनपावर कम्पनीबिरुद्ध मुद्धा दर्ता गरेका छन्। सम्झौता अनुसारको काम र दाम नपाएको, घाइते हुँदा उपचार सेवा राम्रो नभएको भन्दै उनले आफन्तमार्फत वैदेशिक रोजगार बिभागमा उजुरी दिएका हुन्। कार्पेण्टरको काम भनेर मलेसिया पठाए पनि पेन्टिङको काममा लगाएको, सम्झौता अनुशारको तलव नपाएकाले बिश्वकर्माले मेनपावर बिरुद्ध मुद्धा दर्ता गरेका हुन्।
 
उनले चाँडो उद्धारका लागि दिक्तेलमा सञ्चालित सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र समक्ष समेत आग्रह गरेको सूचना केन्द्रका परामर्शकर्ता अम्बिका दाहालले बताईन्। मेनपावरले मासिक १ हजार रिङ्गेट बेसिक तलब पाउने भनेर पठाए पनि मलेसियाको कम्पनीले भने दैनिक ज्यालादारीमा काम लगाइरहेको जानकारी आएको सूचना केन्द्रले जनाएको छ।
 
दैनिक ज्यालादारी बापतको रकम पनि नियमित नदिने कम्पनीले खानाका लागि हप्तामा ६० रिङ्गेट दिने गरेको पीडितको भनाई छ। ६० रिंगेटले ४ दिन पनि खान नपुग्ने गरेकाले स्वदेश फर्कनका लागि हारगुहार गर्नुपरेको बिश्वकर्मा परिवारले बताएका छन्। 
 
Published on: 13 February 2018 | Nagarik

Back to list

;