s

मलेसियामा गैरकानुनी कामदार दर्ता गर्न ‘१ वर्ष’ को समयावधि थप

मलेसियामा गैरकानुनी आप्रवासी कामदारका लागि दर्ता भई काम गर्न पाउनेगरि यसअघि घोषणा गरेको ‘रिहाइरिङ प्रोग्राम’ को म्याद १ वर्ष कायम रहने जनाइएको छ । 

इ-सरकारी सेवा प्रदायक कम्पनी ‘माइइजी सर्भिसेज बर्हाड’ नामक कम्पनीले गैरकानुनी आप्रवासी कामदार दर्ता एवं व्यवस्थापन गर्नका लागि आफुले यसैवर्ष अन्त्यसम्मका लागि सरकारी अनुमति पाएको जनाएको छ । 

उक्त कम्पनीलाई उद्धृत गर्दै स्थानीय द स्टार अनलाइन लेख्छ, ‘गृहमन्त्रालयबाट् त्यसबारे सोमबार एक पत्र प्राप्त गरेको उक्त कम्पनीले जनाएको छ ।’ 

गतवर्ष फेब्रुअरी १५ देखि गैरकानुनी आप्रवासी कामदारलाई दर्ता गरि पुन: रोजगारी गर्न पाउने अवसरसहितको ‘रिहाइरिङ प्रोग्राम’ ल्याएको थियो । उक्त कार्यक्रम सकिएको झण्डै २ साता नबित्दै मलेसियाले गैरकानुनी कामदारलाई दर्ता गरि अस्थायी श्रम स्विकृति दिने घोषणा गरेको थियो । 

उक्त कम्पनीलाई सरकारले गत मे २३ २०१५ देखि आगामी २०२० मे २२ सम्मका लागि विदेशी कामदारको अनलाइन भिसा नविकरण गर्ने जिम्मा पाइसकेको जनाइएको छ ।

नयाँ घोषणाअनुसार कार्यक्रम लागू भएमा मलेसियामा रहेका गैरकानुनी हजारौं नेपालीले दर्ता भई अस्थायी श्रम स्विकृति लिइ काम गर्न पाउनेछन् । तर त्यसरी दर्ता हुन लाग्ने खर्च र अपनाउनुपर्ने कानुनी प्रक्रियाबारे केही बताइएको छैन । 

Published on: 25 January 2017 | Kantipur

Back to list

;