s

मलेसियामा एक युवकको मृत्यु

आश गुरुङ
 
रोजगारीको सिलसिलामा मलेसिया पुगेका एक युवकको निधन भएको छ ।
 
लमजुङको बेंसीसहर नगरपालिका ११, रामचोक बेंसीसहरका २५ वर्षीय रवीन श्रेष्ठको निधन भएको परिवारले जनाएको छ । पारिवारिक स्रोतका अनुसार मलेसियाको चर्चित खाद्य कम्पनी म्याक फुड कम्पनीमा कार्यरत रवीन सोमबार बिहान मृतअवस्थामा भेटिएका थिए । मृतक श्रेष्ठका भिनाजु राजेश श्रेष्ठका अनुसार आइतबार काम गरेर फर्केपछि खाना खाएर सुतेका रवीन सोमबार बिहान मृत अवस्थामा भेटिएको उनका साथी राज पटेलले जानकारी गराएका थिए । 
 
राज र रवीन मिल्ने साथी भएकाले रवीनलाई उठाउन राज बिहान सबेरै गएको र मृत अवस्थामा भेटिएपछि परिवारलाई सोमबार दिउँसो फोन गरेको मृतकका भिनाजु श्रेष्ठले बताए । श्रेष्ठ मलेसिया गएको अब पुसले ३ वर्ष पुग्नेछ । त्यसपछि घर फर्किने तयारी गरेका उनको परिवारलाई भेट्ने चाहना अधुरो भएको छ । उनी विदेश गएको एक महिनापछि जन्मिएको छोरा माघमा ३ वर्ष पुग्छ । 
 
परिवारको लालनपालनको लागि वैदेशिक रोजगारीमा गएका उनको आफ्नो छोरालाई पनि भेट्न नपाई परदेशमै निधन भएको हो । उनको अशक्त आमा, पत्नी र १ छोरा छन् । उनको शव बुझ्न परिवार काठमाडौं गएका छन् ।
 
Published on: 6 December 2017 | Kantipur

Back to list

;