s

मलेशियामा एक नेपालीलाई २२ वर्षको जेल सजाय

दुई वर्ष अघि एक सहकर्मी नेपालीको हत्या अभियोगमा मलेशियामा एक नेपाली कामदारलाई २२ वर्ष जेल सजाय भएको छ । मलेसियाको उच्च अदालतका न्यायाधीश हालिजाह अब्बसले बुधबार हत्या अभियोगमा दोषी ठहर गर्दै नेपाली कामदारलाई उक्त सजाय सुनाएका हुन् ।
 
दुई वर्ष अघि १९ वर्र्षीय नेपाली नागरिक सुजन श्रेष्ठले ३० वर्षका अर्का नेपाली होमबहादुर मगरको होष्टलमा हत्या गरेको अदालतले ठहर गरेको छ । श्रेष्ठ र होमबहादुर कुन जिल्लाका हुन् समाचारमा खुलाइएको छैन । घटना सन् २०१६ जुन ४ तारिखमा भएको थियोे।
 
मलेसियाको दण्ड संहिताको धारा ३ सय २ अन्तर्गत हत्याको सजाय स्वरुप फाँसी तथा हत्याको प्रकृति हेरी ३० वर्षको कैद सजाय हुने व्यवस्था छ । हत्यामा संलग्न अभियुक्तले क्षमायाचना गरेमा अदालतले कैदको अवधिमा केही कम गर्ने गरेको छ ।
 
मलेसियन प्रहरीले श्रेष्ठलाई मृत्युदण्ड हुने कानून अन्तर्गत अभियोजन प्रक्रिया अगाडि बढाएको भएपनि पछि मुद्दाको प्रकृति फेरेर आजीवन कारावासको सजाय हुने कानून अन्तर्गत मुद्दा दायर गरेको थियो । मलेशियाली सरकारी सञ्चार माध्यम बर्नमाका अनुसार श्रेष्ठलाई सन् २०१६ को जुन ४ तारेखदेखि लागू हुने गरी २२ वर्ष सजाय भएको छ । मलेसियाको फोह ईन्ड ईन्डष्ट्री एसडीएन बीएचडीको होस्टलमा रातको ११ बजेदेखि ११ः५० सम्म करिब एक घण्टा श्रेष्ठ र मगरबीच झगडा परेको बताएको छ । झगडाको कारण भने खुलेको छैन ।
 
श्रेष्ठमाथि मलेसियन दण्ड संहिता को धारा ३०४ को उपधारा (ए) अन्तरगत को अभियोग थियो । त्यसमा उच्चतम ३० वर्ष कैद सजाय हुने व्यवस्था छ । मलेसियामा यसअघि पनि पटक–पटक नेपाली विदेशी नागरिक तथा सहकर्मीहत्यको अभियोगमा जेल पर्ने गरेका छन् तर २२ वर्ष लामो अवधि जेल सजाय भएको यो पहिलो घटना भएको बताइएको छ ।
 
यस अघि सन् २०१२ सेप्टेम्बर ६ मा सहकर्मी हत्या अभियोगमा एक नेपालीलाई मलेसियाली उच्च अदालतले १० वर्षको जेल सजाय तोकेको थियो । एक कम्पनीकी सुपरभाइजर महिलाको हत्या अभियोगमा धनुषाको बेंगादवार ४ का २७ वर्षीय सुरवीर गोले पक्राउ परेका थिए ।
 
त्यस्तै गतवर्ष पनि नेपाली नागरिक पहल सिंह कामी हत्याको अभियोगमा मनबहादुर बिष्ट र बुद्धिबहादुर थापालाई साढे ६ वर्ष कैद सजाय सुनाइएको थियो ।
 
Published on: 15 February 2018 | Madhyanha

Back to list

;