s

मलेसियामा विषाक्त मदिराबाट मृत्यु हुने नेपाली १० पुगे

पछिल्लो एक साताको अवधिमा मलेसियामा विषाक्त मदिरा सेवनका कारण मृत्यु हुने नेपालीको संख्या १० पुगेको छ । पछिल्लो समय उपचारका क्रममा रहेका सुकुबल घिसिङ, विमल कार्की र शंकरपुर सर्लाहीका शेरबहादुर ठकुरी एवं देउराली नवलपरासीका दुर्गासिंह रानाले समेत ज्यान गुमाएका छन् ।

बसेरी धादिङका भीमबहादुर घले, मसिना रुपन्देहीका रामकुमार यादव, अमरगढी डडेल्धुराका विशाल बुढाथोकी, पश्चिम कुसाहा सुनसरीका सञ्जय उराव, सिद्धिथुम्का इलामका बलबहादुर कुलुङ, पत्थरकोट सर्लाहीका आइतसिंह गोलेको भने केही दिनअघि मृत्यु भएको थियो ।

विषाक्त मदिरा सेवनबाट बिरामी भएका ९ जनाको मलेसियाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । त्यसमध्ये रघुनाथपुर बाराका राधेश्याम बैठा र सुंगदेल खोटाङकी चम्पावती राईको अवस्था भने गम्भीर रहेको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ ।

बाँकी, नेपालको ठेगाना खुल्न बाँकी रहेका राजेशकुमार हजारी, दातेबहादुर सारु मगर, फरेना रुपन्देहीका रामचन्द्र लोध, चांगली गोरखाका लोकबहादुर बराम, चोकामागु पाँचथरका सेतवीर तुम्बाप्पो, बबियाविर्ता मोरङका जम्बिरलाल झाँगड, धुलिखेल काभ्रेका चन्द्रसिंह तामाङ र ढुंग्रेखोला सर्लाहीका रिकामान स्याङतानको स्वास्थ्यमा भने क्रमिक सुधार भइरहेको छ । एक साताको अवधिमा मलेसियाका विभिन्न राज्यमा विषाक्त मदिरा सेवनका कारण मृत्यु हुनेको कुल संख्या ३९ पुगेको छ ।

शव ल्याउन अझै केही दिन लाग्ने

मलेसियाका लागि कार्यबाहक राजदूत कुमारराज खरेलले नियमित प्रक्रियाबाटै मृतकको शव पठाउन सकिने भए पनि अझै केही दिन लाग्न सक्ने जानकारी दिए । ‘विषाक्त मदिरा सेवनका कारण मृत्यु भएको विषय अनुसन्धानकै क्रममा छ ।

प्रहरीले अनुसन्धान गरिसकेपछि मात्रै शव दूतावासलाई जिम्मा लगाउने भनिएको छ । अहिलेसम्म कुनै पनि शव जिम्मा लगाइएको छैन,’ उनले भने, ‘अनुसन्धानको प्रक्रिया सकिएपछि शव लैजान नेपालबाटै सम्बन्धित आफन्तले बुझ्न तयार रहेको मञ्जुरीनामा पठाउनुपर्ने हुन्छ ।

शव रोजगारदाताले गरेको बिमाबाटै नेपाल ल्याइनेछ । श्रम स्वीकृतिको अवधि बाँकी रहेका मृतक कामदारका परिवारले नेपालबाट बिमा र वैदेशिक रोजगार कल्याणकारी कोषबाट क्षतिपूर्ति पाउनेछन् ।

Published On: 26 September 2018 | Naya patrika

Back to list

;