s

मलेसियामा बन्धक बनाइएका ७ नेपालीको उद्धार

हरिराम उप्रेती

गोरखा — मलेसियामा बन्धक बनाइएका १९ जनामध्ये ७ जना नेपाल फर्किएका छन् । नेपाल सरकारको पहलपछि बुधबार ७ जना नेपाल आइपुगेका हुन् । १२ जना अझै अलपत्र छन् ।

गोरखाका ठाकुर रेग्मी र कमलबाबु श्रेष्ठ, बैतडीका कैलाश लोहार, मकवानपुरका भुवन कोइराला र ईश्वर कोइराला तथा धादिङका बाबुलाल विक नेपाल फर्किएका हुन् । ‘१२ जना साथी अझै अलपत्र हुनुहुन्छ, तपाईंहरु जानुस्, उहाँहरुलाई मिलाएर पठाउँछ एजेन्टले भने,’ गोरखा घर भएका ठाकुर रेग्मीले भने ।

नेपाल सरकारको पहलपछि आफूहरु नेपाल फर्कन पाएको रेग्मीले बताए । ‘हामी हाम्रै प्लेन भाडामा नेपाल फर्किएका हौं,’ उनले भने, ‘अब हामीले पठाउने मेनपावर कम्पनीसँग पैसाको कुरा राख्छौं ।’ अलपत्र परेका अन्य १२ जनालाई पनि नेपाल फर्काउने पहल भइरहेको उनले जानकारी दिए । ‘तीन चार दिनभित्र उहाँहरुलाई पनि नेपाल ल्याउन प्रयास भइरहेको छ,’ उनले भने । यसका लागि सरकारबाटै पहल भइरहेको उनले जानकारी दिए । अलपत्र अवस्थामा रहेका १२ जनाको बसाइ कष्टकर रहेको उनले बताए । ‘चिसो भुइँमा सुत्ने हो, म्याटसम्म छैन, फालेका प्लास्टिकहरु बिछ्याएर सुत्ने/बस्ने गर्नुपर्छ,’ उनले भने, ‘सुरुको दुई चार छाक खान खान नपाएका हौं, त्यसयता खानचाहिँ दिएका छन् ।’

रोजगारीको सिलसिलामा मलेसिया पुगेकाहरु पुस १७ गतेबाट केलाङ भन्ने सहरको एक भवनको तेस्रो तलामा बन्धक बनाइएको थियो । काठमाडौंस्थित सानेपाको खोजी रिक्वायर्मेन्ट मेनपवार कम्पनीबाट भदौ २३ गते मलेसियास्थित हङ टिज चिकेन सप्लायर्समा उनीहरु कामका लागि पुगेका थिए । कम्पनीका सञ्चालकले एक कामदारलाई कुटपिट गरेपछि अन्य कामदारले विरोध जनाएसँगै उनीहरु कामबाट निकालिएका हुन् । अँध्यारो कोठाभित्र आठ दिन बिताएका युवाहरुले उद्धारका लागि सामाजिक सञ्जालमार्फत हारगुहार गरेका थिए ।

Published on: 13 January 2023 | Kantipur

Link

Back to list

;