s

मलेसियामा अलपत्र नेपाली पिन्तुमाको उद्धार पहल, छोराको जन्मदर्ता नहुँदा कठिनाइ

मनोज भट्टराई

आखेलढुङ्गा, भदौ ९ गते । मलेसियाको सुवाङ पार्कमा अलपत्र ओखलढुङ्गाकी पिन्तुमाको उद्धारमा कठिनाइ भएको छ । पिन्तुमाको साथमा रहेको बच्चाको जन्मदर्तालगायत कुनै कागजी प्रमाण नभएपछि इमिग्रेसनले अनुमति नदिएका कारण उहाँको उद्धारमा कठिनाइ भएको हाे ।

मानसिक सन्तुलन गुमाएकी मोलुङ गाउँपालिका-८, राँगादिपकी उहाँ मलेसियाको सडकमा वर्षाैँदेखि अलपत्र परेका कारण ओखलढुङ्गा एकता सेवा समाज मलेसियाले उहाँलाई नेपाल पठाउन खोजे पनि साथमा रहेको बच्चाको जन्मदर्तालगायत कुनै प्रमाण नभएपछि इमिग्रेसनले अनुमति नदिएको मलेसियाबाट हीराबहादुर थापाले जानकारी दिनुभयो ।

उहाँको साथमा अन्दाजी सात वर्षको छोरा  छन् । मलेसियामा कार्यरत जिल्लावासीहरूले उहाँलाई उद्धार गरी नेपाल पठाउन खोजे पनि नसकेको थापाको भनाइ छ । पना राई नाम बताउने उहाँको अवस्था एकदमै दयनीय रहेको जानकारी दिँदै महिलाको उद्धारमा नेपालबाट नेपाल सरकारले सहयोग गर्नुपर्ने थापाले बताउनुभयो । कागजी प्रक्रियाका लागि नेपाल सरकारले सहयोग गरे यहाँबाट उहाँलाई पठाउन हामीले बाँकी बन्दोबस्त गर्ने उहाँको भनाइ छ ।

आमा र बच्चा अहिले मलेसियाको क्वालालम्पुरस्थित सुवाङ पार्कको छाप्रोमा छ महिनादेखि बस्दैआएको बताइएको छ । दुवै जनाको कानूनी हैसियत नभएका कारण उहाँलाई नेपाल पठाउन सकिएको छैन । मलेसियाको लागि नेपाली राजदूतावासका अनुसार लकडाउनअघि नै दूतावासले दिएको आश्रयस्थल छोडेर उहाँ हिँड्नुभएको थियो । पिन्तुमाले छोराको बाबु र नेपालको यकिन घर ठेगाना नबताउँदा स्वदेश पठाउने कागजात बनाउन नसकिएको दूतावासको भनाइ छ ।

मोलुङ गाउँपालिका वडा नं. ८ वडाअध्यक्ष हरिकुमार राई अनुसार राँगादिपकै विष्णुबहादुर राईकी कान्छी छोरी भएको र उहाँलाई गाउँमा बोलाउने नाम पिन्तुमा रहेकाे छ । दश वर्षअघि विदेशिएकी उहाँको बुवाआमा दुवै बितिसकेका र दाजुसमेत करिब एक दशक मलेसिया गएर हालै फर्किनुभएकाे छ । बिना कमाइ फर्किएपछि दाजुको अवस्थासमेत नाजुक रहेको वडा अध्यक्ष राईको भनाइ छ ।

गाउँमा हुँदै दुई विवाह गर्नुभएकी उहाँ विदेश गएपछि सम्पर्कविहीन हुनुभएकाे थियाे । उहाँको उद्धार तथा उपचारको व्यवस्थापन कसले गर्ने भन्ने विषयमा स्थानीय सरकारले भूमिका खेल्न जरुरी देखिन्छ ।

Published on: 25 August 2020 | Gorkhapatra

Link

Back to list

;