s

मलेसियामा अलपत्र श्रमिक नेपाल फर्काइँदै

मलेसियामा अलपत्र र बन्धक रहेका नेपाली कामदारमध्ये दुईजना मंगलबार बिहान नेपाल फर्किएका छन् । उनीहरू हिमालय एयरलाइन्समार्फत बिहान ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । मलेसियास्थित नेपाली दूतावासले मंगलबार ६ जना कामदार नेपाल फर्कने बताए पनि दुईजना मात्रै फर्किएका छन् ।

म्यानपावर कम्पनीको पहलमा ६ जना कामदारका लागि हवाई टिकटसहित मंगलबार नेपाल फर्काउने तयारी दूतावासले गरेको थियो । तर, तीनजनाको चेकआउट मेमो तयार नभएका कारण फर्कन नपाएको म्यानपावर कम्पनीले जनाएको छ । बाँकी तीनजनामध्ये एकजनाले अरू साथीहरूसँगै नेपाल फर्कने अडान लिएपछि दुईजना मात्रै आएका हुन् ।

काठमाडौस्थित त्रिवेणी म्यानपावरमार्फत उनीहरू मलेसियाको पिआरएस फरेस्ट म्यानेजम्यान्ट कम्पनीमा काम गर्न १३ जना कामदार गएका थिए । तर, मलेसिया पुगेपछि सम्झौताअनुसारको काम र पारिश्रमिक नपाएको भन्दै नेपाली कामदारले काम नै सुरु गरेका थिएनन् ।

यसरी अलपत्र परेका नेपाली कामदारको विषयमा सूचना पाएपछि मलेसियास्थित नेपाली दूतावासले रोजगारदाता कम्पनी, म्यानपावर कम्पनी र कामदारलाई दूतावास नै बोलाएर छलफल गरेको दूतावासले जनाएको छ । दूतावासका अनुसार गत २५ डिसेम्बर र २८ डिसेम्बरमा रोजगारदातालाई पत्राचार गरी छलफलमा बोलाएको थियो । छलफलपछि ६ जना कामदार मंगलबार नेपाल फर्कने र बाँकी सातजना आगामी शुक्रबार फर्कने निर्णय भएको दूतावासले जनाएको छ ।

बन्धक २८ कामदारमध्ये सातजना बुधबार फर्कने

मलेसियाको अर्को एक कम्पनीमा बन्धक बनाइएका २८ नेपाली कामदारमध्ये सातजना बुधबार फर्कने मलेसियास्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार नौजना कामदार पुनः सोही रोजगारीमा फर्किएका छन् भने १२ जनाले निर्णय दिएका छैनन् ।

चार महिनाअगाडि वैदेशिक रोजगारीका क्रममा उनीहरू काठमाडौंस्थित खोजी रिक्रुटमेन्ट कम्पनीमार्फत मलेसियास्थित हंगसी इन्टरप्राइज कम्पनीका लागि गएका थिए । तर, रोजगारदाता कम्पनी र कामदारबीच विवाद भएपछि उनीहरू निष्कासनमा परेका थिए । चिनियाँ एजेन्टले उनीहरूलाई अज्ञात स्थानमा राखेको पीडितले बताएका छन् ।

कम्पनीले बन्धक बनाएपछि म्यानपावर कम्पनीका प्रतिनिधि मोहम्मद जुनैद र पीडितले दूतावासमा उजुरी गरेका थिए । दूतावासको सहजीकरणमा गत ३ जनवरीमा रोजगारदाता कम्पनीविरुद्ध मलेसिया प्रहरीमा उजुरी दिइएको दूतावासले जनाएको छ । मलेसिया प्रहरीले रोजगारदाताको अनुसन्धान गरिरहेको छ ।

Published on: 11 January 2023 | Naya Patrika

Link

Back to list

;