s

मलेसियामा ४ नेपाली महिला पक्राउ

मलेसियामा ४ नेपाली महिला पक्राउ परेका छन् । मलेसियाली प्रहरीले छापा मार्दा पेनाङको जलान सुल्तान अहमद शाहस्थित मनोरन्जन आउटलेटबाट पक्राउ परेका २३ देखि ३० वर्षका उनीहरू ‘यौनकर्मी’ रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
 
बंगलादेशी ६ र नेपाली ४ महिला शुक्रबार मध्यराति छापा मार्दा पक्राउ परेका हुन् । बंगलादेशी नागरिकको व्यवस्थापनमा रहेको उक्त आउटलेटले यौन व्यवसायसमेत सञ्चालन गरेको पाइएपछि त्यहाँ गेस्ट रिलेसन अफिसरका रूपमा कार्यरत रहेका ती महिला पक्राउ परेका हुन् । उनीहरू गैरकानुनी अवस्थामा रहेको स्थानीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
 
अपरेसनमा ३८ वर्षीय एक बंगलादेशी म्यानेजर पनि पक्राउ परेका छन् । स्थानीय नागरिकको नाममा रहेको लाइसेन्स प्रयोग गरी यौन व्यवसाय सञ्चालन हुँदै आएकाले प्रहरीले उक्त आउटलेटको लाइसेन्स खारेज गर्न सम्बन्धित निकायलाई प्रस्तावसमेत गरेको छ । 
 
मलेसियाका विभिन्न डान्स रेस्टुराँ एवं क्लबमा नेपाली युवतीहरू नर्तकी एवं गेस्ट रिलेसन अफिसरका रूपमा कार्यरत छन् । बढी पैसा कमाइने लोभमा त्यसरी मलेसिया आउने कतिपय बाहिर ‘गेस्ट रिलेसन अफिसर’ भनिए पनि ‘यौनकर्म’ मा लाग्ने गरेको बताइएको छ ।
 
Published on: 16 March 2016 | Kantipur
 

Back to list

;