s

मलेसियामा १ लाख २५ हजार नेपाली कामदार अवैध

श्याम खतिवडा

झन्डै ५ लाख नेपाली कामदार रहेको मलेसियामा ३ लाख ७५ हजार मात्रै वैध रहेको नेपाली दूतावासको तथ्यांक

केही समय अघिसम्म नेपालमा सबैभन्दा धेरै रेमिट्यान्स भित्रिने मुलुक मलेसियामा १ लाख २५ हजारभन्दा बढी नेपाली कामदार अवैध रूपमा बसोवास गर्दै आएका छन् । पहिलो कम्पनी छोडेर अन्यत्र जाँदा हुने वैधानिक संकटका बारेमा जानकारी नहुँदा धेरैजसो नेपाली कामदार अवैध हुने गरेकोे मलेसियास्थित नेपाली राजदूतावासले जनाएको छ ।

मेनपावर कम्पनीसँग सम्झौता भएअनुरुपको तलब काम गर्ने कम्पनीले नदिएको, तोकिएभन्दा बढी र अप्ठ्यारो काम लगाएकोलगायत कारणबाट  कामदारले कम्पनी परिवर्तन गर्ने गरेका छन् । तर, त्यसरी कम्पनी परिवर्तन गर्दा हुने कानुनी संकटका बारेमा धेरै कामदार अनभिज्ञ रहेको राजदूतावासका प्रथम सचिव विनोद मुखियाले बताए । उनले भने, ‘धेरैजसो नेपालीलाई नेपाली बिचौलियाले नै खाइपाई आएको सुविधाभन्दा धेरै सुबिधा दिलाइदिने भन्दै अर्को कम्पनीबाट कमिसन खाएर फसाउने गरेको पाइएको छ ।’

झन्डै ५ लाख नेपाली कामदार रहेको मलेसियामा दूतावासको तथ्यांकअनुसार ३ लाख ७५ हजार नेपाली मात्रै वैध रहेका छन् । अवैध कामदारको आधिकारिक विवरण दूतावाससँग नरहेको भए पनि लगभग १ लाख २५ हजारजति नेपाली अवैध रूपमा बसोवास गरिरहेको प्रारम्भिक अनुमान गरिएको उनले बताए ।

यसकारण अवैध कामदार

नेपालमा स्वतन्त्र तरिकाले बसेका नेपाली मलेसिया आएपछि पनि त्यहीअनुसारको स्वतन्त्रता चाहन्छन् । तर, मलेसियाका कम्पनीको आफ्नै आचारसंहिता हुने र त्यसको पालना गर्न नसक्दा पनि कतिपय नेपाली अवैध हुने गरेका छन् । त्यसबाहेक मलेसिया आउनुअघि भएको श्रमसम्झौताअनुसारको पारिश्रमिकलगायतका सेवासुविधा नपाउँदा पनि धेरैजसो नेपाली बाध्य भएर अवैध हुने गरेको १२ वर्षदेखि मलेसियामा श्रम गरिरहेका दोलखाका रमेश बस्नेतले बताए । त्यस्तै १८ वर्षदेखि मलेसियामा काम गरिरहेका अर्घाखाँचीको बाँघी घर बताउने मित्रबहादुर केसीले पनि नेपाली अवैध हुनाका मूल कारण काममा अनभिज्ञता, अत्यधिक मदिरा सेवन, श्रमसम्झौताविपरीतको काम र झै–झगडा बढी हुने गरेको छ । कतिपय भने अनावश्यक पेलानका कारण कम्पनीसँग मनमुटाव हुँदा अवैध हुने गरेको दूतावासले जनाएको छ ।

अवैध हुँदाको कानुनी सजाय

मलेसिया सरकारले वेला–वेलामा विभिन्न कम्पनीमा कार्यरत कामदारको अनुगमन गर्ने गर्दछ । अनुगमनका क्रममा अवैध कामदार फेला पारेमा उनीहरूलाई तत्काल प्रहरीले नियन्त्रणमा लिन्छ । त्यसपछि १४ दिनसम्म प्रहरीले आवश्यक अनुसन्धानपछि कम्पनी मात्रै छोडेको र अन्य आपराधिक गतिविधिमा संलग्न नभएको प्रमाणित भए अदालत पठाइन्छ । प्रायःजसो अवैध कामदारको हकमा अदालतले ३ महिना अर्थात् ९० दिनको जेल सजाय तोक्ने र पूरा गरिसकेपछि उनीहरूलाई घरफीर्ति केन्द्रमा सारिन्छ । राजदूतावासका अर्का प्रथम सचिव प्रेमराज गौतमका अनुसार घरफीर्ति केन्द्रले पनि घर जान अनुमति दिएपछि उनीहरूलाई नेपाल सरकारले टिकटको व्यवस्था मिलाई नेपाल फर्काउने गरेको छ । तर, अवैध कामदारले आफैँ आत्मसमर्पण गरेको खण्डमा निश्चित जरिवानासहित घर फर्किन सक्नेसमेत व्यवस्था भएको उनले जानकारी दिए ।

वैध बनाउने कुनै उपाय छैन : राजदूतावास

मलेसियास्थित नेपाली राजदूतावासका कार्यबाहक राजदूत कुमारराज खरेलले कामदार स्वयं उपस्थित भएर तोकिएको प्रक्रिया पूरा नगरे दूतावासको तर्फबाट वैध गराउने कुनै उपाय नभएको बताए । सबैभन्दा पहिला आफू कार्यरत कम्पनीका बारेमा कुनै गुनासो भए दूतावासलाई खबर गरिए तोकिएको सेवा सुविधा उपलब्ध गराउन पहल गर्न सकिने बताउँदै उनले भने, ‘तर, सीधै कम्पनी छाड्नेको हकमा केही गर्न सकिँदैन ।’ उनका अनुसार नेपाली कामदार विनाजानकारी अवैध भई भूमिगत हुने र कारबाहीमा परेपछि मात्रै दूतावास सम्झिने गर्छन् ।  

Published on: 28 February 2019 । Nayapatrika

Back to list

;