s

मलेसियाले श्रीलंकाबाट सुरक्षागार्ड लिने संकेत नेपालीले पाएको विगत दशकयताको अवसर गुम्नसक्ने

मलेसियाले नेपालबाहेकका मुलुकबाट पनि सुरक्षागार्डहरु लिने संकेत गरेको छ । उसले नेपाली गार्डहरुको सीमित आपूर्तिका कारण सुरक्षागार्ड अभाव जनाउँदै नेपालीलाई मात्र दिँदै उक्त अवसरबारेको ‘नीति’ मा समीक्षा गर्ने जनाएको छ ।
 
नेपालबाट मागअनुसार सुरक्षागार्डको आपूर्ति हुन नसकेकाले अब राम्रो सप्लाई गर्नसक्ने श्रीलंकाजस्तो स्रोत मुलुकबाट गार्ड लिन सकिने सरकारी अधिकारीको भनाई उद्धृत गर्दै स्थानीय एक दैनिकले खबर छापेको छ ।
 
‘हामीले सैन्य पृष्ठभूमी भएका सुरक्षागार्डको लागि राम्रो आपूर्ति गर्नसक्ने श्रीलंकाजस्ता अन्य स्रोत मुलुकहरुमा हेर्न सक्छौं,’ उप-गृहमन्त्री नुर जजलानले द स्टार दैनिकसँग भनेका छन्, ‘पहिले गुर्खाज्हरुको प्रतिष्ठाको कारण नेपालीको लागि यो क्षेत्र सुरक्षित थियो । नेपाली गार्डको सीमित आपूर्तिले गर्दा अन्य देशबाट पनि सुरक्षागार्ड लिन मलेसियाली कम्पनीहरुलाई बाध्य बनाएको छ ।’
 
मलेसियाले गत सन् २००६ मा सुरक्षागार्डमा नेपाली गार्ड (गुर्खाज्–सैन्य पृष्ठभूमी भएका) लाई मात्र सुरक्षाक्षेत्रमा लिने ‘नीति’ ल्याएको थियो । उसले अन्य मुलुकबाट पनि सुरक्षागार्ड लिने निर्णय गरेमा नेपालीको माग घट्ने र दशकसम्म पाउँदै आएको एकमात्र आकर्षक अवसर गुम्ने देखिन्छ ।
 
सुरक्षागार्ड क्षेत्र नेपालीका लागि प्रमुख आकर्षक मानिन्छ । अन्य क्षेत्रमा भन्दा यसमा कमाई बढी हुने हुँदा धेरैजसो नेपाली सुरक्षागार्डका रुपमा कार्यरत छन् । तर मलेसियाद्वारा सार्वजनिक तथ्यांकमा भने मुलुकभर करिब २४ हजार नेपाली गार्डहरु मात्र कार्यरत रहेको बताइन्छ ।
 
नेपाली पक्षबाट मलेसियाले खोजेजस्तो गार्ड आपूर्ति गराउन नसक्दा मलेसियाले विकल्पस्वरुप अन्य देशलाई रोज्न खोजेको हो । यसप्रति सरकार र रोजगार व्यवसायीले समेत बेलैमा ध्यान दिनुपर्ने सरोकारवालाहरुको जोड छ ।
 
‘अब अरु मुलुकका लाई समेत यस क्षेत्रमा खुला गर्‍यो भने नेपालीको माग ह्वात्तै घट्नेछ,’ मलेसियास्थित एकजना नेपाली व्यवसायी भन्छन्, ‘नेपाली रोजगार व्यवसायीले पनि योग्य गार्ड पठाउनुपर्दछ, र नेपालीमाथि लागेको दाग मेटाउनुपर्दछ । नत्र नेपालीले दशकयता पाउँदै आएको अवसर गुम्नेछ ।’
 
मलेसियाको पहिलो रोजाईमा नेपाली गार्ड पर्दै आएपनि सीमित आपूर्ति र सबै नेपाली गुर्खाज् नभएको भन्दै उसले बेलाबखत गुनासो गर्दै आएको छ । उसले यसअघि पनि सैन्य पृष्ठभूमीका नेपाली गार्ड पठाउन आग्रह गर्दै आएको थियो । यसबारे नेपाली रोजगार व्यवसायी तथा सरकारले खासै ध्यान दिन नसक्दा नेपालीले पाउँदै आएको अवसर गुम्नसक्ने खतरा बढेको हो ।
 
तर मलेसियाली गृहमन्त्रालयका ती अधिकारीको भनाइप्रति सुरक्षागार्ड आपूर्ति गराउने स्थानीय कम्पनीका प्रतिनिधिले माग पूर्ति गर्न नेपाली गार्डहरु नै प्रशस्त रहेको प्रतिक्रिया दिएका छन् । नेपालबाट सुरक्षा गार्ड आपूर्ति गराउँदै आएका कम्पनीको छाता संगठन सेक्युरिटी सर्भिसेज एसोसियसन अफ मलेसिया (पिपिकेकेएम) का सल्लाहकार शाहिन मिर्जा हबिबले हाल जारी गैरकानुनीविरुद्धको धरपकडले सुरक्षा क्षेत्रमा गार्डको माग बढ्ने बताउँदै उक्त माग पूरा गर्न नेपाली नै पर्याप्त रहेको बताए । उनले श्रीलंकन गार्ड पहिलो प्राथमिकता नभएको भन्दै गार्डका लागि नयाँ मुलुकबाट कामदार ल्याउनुअघि मुलुकमै रहेका गैरकानुनी कामदार हटाउनुपर्नेमा समेत जोड दिए ।
 
सरकारले हाल गैरकानुनी आप्रवासीको खोजी गर्दै फेब्रुअरीदेखि उनीहरुविरुद्ध कारबाही अभियान चलाउँदै आएको छ । विभिन्न आवासगृहमा समेत गैरकानुनी सुरक्षागार्ड रहेको हुनसक्ने भएकाले यससम्बन्धी सरोकारवालहरु धरपकडले सुरक्षागार्ड समातिने र गार्डको अभाव बढ्नेमा चिन्तित छन् । यहाँका कतिपय आवासगृह सम्बन्धी संगठनले भने यसअघिको ‘नेपाली गार्ड मात्र लिने’ नीतिमा हेरफेर गरि यस क्षेत्रमा भएको गार्डको माग पूर्ति गर्न अन्य मुलुकलाई पनि खुला गर्नुपर्ने धारणा राख्दै आएका छन् ।
 
मलेसियाका अधिकांश आवासीय र व्यापारिक क्षेत्रमा समेत नेपालीको ‘नेम ट्याग’ लगाएर अन्य देशका नागरिकहरु सुरक्षागार्डमा नियमविपरित कार्यरत रहेका पाइन्छन् । गत सन् २०१३ यता गैरकानुनी रुपमा कार्यरत १ हजार १ सय १६ विदेशी गार्डहरु पक्राउ परेका जनाइएको छ । सन् २०१४ देखि २०१५ सम्म सरकारले सुरक्षा क्षेत्रका विभिन्न ४० कम्पनीहरुको लाइसेन्स खारेज गरिएको र ४९ कम्पनीहरुलाई चेतावनी पत्र जारी गरेको जनाइएको छ ।
 
Published on: 7 March 2016 | Kantipur

Back to list

;