s

मलेसियाले नयाँ विदेशी कामदार नलिने

 क्वालालम्पुर, मलेसियाली सरकारले नेपाल लगायत सबै श्रमिक स्रोत मुलुकबाट नयाँ कामदार भर्ना प्रक्रिया रोकिएको जनाएको छ ।
 
उसले शुक्रबार तत्काल ती सबै श्रोत मुलुकहरुबाट नयाँ कामदार भर्ना नलिने घोषणा गरेको मलेसियाली समाचार संस्था बर्नामाले उल्लेख गरेको छ । यद्यपी उक्त निर्णय कहिलेसम्म लागू हुने भन्नेबारे स्पष्ट भइसकेको छैन ।
 
गैरकानुनी कामदारलाई बैध गराउन मलेसियाले यही फेब्रुवरी १५ देखि 'पुनः रोजगारी तथा स्थानान्तरण कार्यक्रम' संचालनमा ल्याइसकेको छ । उक्त कार्यक्रम सुचारु भइसकेकाले अब सरकार यस कार्यक्रममा केन्द्रीत रहने उपप्रधान तथा गृहमन्त्री अहमद जहिद हमिदीले बताए । उनले विदेशली कामदारको सट्टा स्थानीय कामदार भर्ना गर्न रोजगारदातालाई आग्रह गरे ।
 
'बैध कागजातबिहीन विदेशी कामदारहरुलाई अब पक्राउ गरि उनीहरुको देश फिर्ता पठाइनेछ ।' मन्त्री हदिमीले भने । साथै उनले अब मुलुकभित्र रहेका गैरकानुनी विदेशी कामदारबिरुद्ध कारबाहीको थप कदम चालिने बताए । हाल पूर्वी मलेसियाको सारावक भ्रमणमा रहेका मन्त्री हमिदी शुक्रबार त्यहाँ आयोजित एक कार्यक्रममा बोल्दै थिए ।
 
हाल गैरकानुनी कामदारलाई बैध हुने र घर र्फकनसमेत गरि दोहोर अवसर दिइएको कार्यक्रम जारी रहेकाले यस्तो निर्णय भएको बताइएको छ । १५ लाख बंगलादेशी कामदार ल्याउने घोषणापछि विभिन्न सरोकारवालाले नयाँ कामदार ल्याउनुभन्दा मुलुकमै भएका गैरकानुनी विदेशी कामदारलाई बैधानिकता दिंएर कामदार माग पूर्ति गर्नुपर्नेमा जोड दिंदै आएपछि सरकारको पछिल्लो निर्णय सार्वजनिक भएको हो ।
 
समाचारअनुसार बंगलादेशी कामदार ल्याउने सन्दर्भमा शुक्रबारै मानव संशाधनमन्त्री रिचर्ट रियट जइमले पत्रकार सम्मेलन गर्दै १५ लाख ल्याउन लागेको नभई केही रोजगारदाताको माग अनुसार ल्याइने स्पष्ट पारेका थिए ।
 
नयाँ निर्णयसँगै अब नयाँ नेपाली कामदार पनि मलेसिया आउन पाउने छैनन् । उक्त कार्यक्रम सकीएलगत्तै मलेसियाले पुनः नयाँ कामदार भर्ना खुल्ने अपेक्षा गरिएको छ ।
 
Published on: 20 February 2016 | Kantipur

Back to list

;