s

मलेसियाले विदेशी कामदार रोकेपछि नेपाली कामदार प्रभावित

 
-अर्जुन काफ्ले/नवराज ढकाल
 
मलेसिया/काठमाडौं: मलेसिया सरकारले विदेशी कामदारलाई नयाँ रोजगारी दिन बन्द गरेको छ । मलेसियाका उपप्रधानमन्त्री अहमद जाहिद हमिदीले शुक्रबार यस्तो घोषणा गरेका हुन् । 
 
मलेसियामा विदेशी कामदारलाई तत्काल रोजगारी नदिने घोषणासँगै नेपालबाट रोजगारका लागि मलेसिया जाने नयाँ नेपाली श्रमिक प्रत्यक्ष प्रभावित हुने भएका छन् । हाल मलेसियामा आठ लाख नेपालीले काम गरिरहेका छन् । मलेसियाले बिहीबार मात्रै बंगलादेशबाट १५ लाख कामदार लिने सहमति गरेको छ । शुक्रबारको घोषणाले यो प्रक्रियासमेत तत्कालका लागि रोकिएको जानकारी हमिदीले दिएका छन् ।
 
नेपालले भने कामदार लिन रोकिएको बारेमा अहिलेसम्म कुनै औपचारिक जानकारी नआएको बताएको छ । वैदेशिक रोजगार विभागका प्रवक्ता जनक रेग्मीले मलेसियाले नेपालीसहित अन्य देशका कामदार लिन बन्द गरेको बारेमा अहिलेसम्म औपचारिक जानकारी नभएको बताए । ‘मैले पनि सञ्चारमाध्यममार्फत सुनें । तर हामीलाई औपचारिक रूपमा अहिलेसम्म यसबारेमा कुनै जानकारी आएको छैन', उनले भने ।
 
म्यानपावर व्यवसायीले भने मलेसियाले यसअघि अप्रुबल (अनुमति दिएका) कामदार जान पाउने तर अब नयाँलाई भने अनुमति नदिने निर्णय गरेको जानकारी दिएका छन् । ‘हामीले रोजगारदातासँग बुझ्दा पहिला अनुमति लिई पाइपलाइनमा रहेका जान पाउने तर थप जान नपाउने भएका छन्', एक म्यानपावर व्यवसायीले भने । मलेसिया काम गर्न जान अनुमति लिएर पाइपलाइनमा करिब २० हजार नेपाली रहेको अनुमान छ ।
 
हालैमात्र अवैधानिक रूपमा बस्दै आएका आप्रवासी कामदारलाई वैधानिक बनाउने कार्यक्रम ल्याएको मलेसियाले काम गरिरहेका आप्रवासीलाई वैधानिक रूपमा रोजगारी दिन नयाँलाई रोजगारी बन्द गरेको यहाँका सञ्चारमाध्यमले जनाएका छन् । मलेसिया सरकारले अवैधानिक रूपमा रहेका आप्रवासी कामदारलाई फेब्रुअरी १५ बाट वैधानिक बन्न अवसर दिएको छ । यसका लागि अनलाइनमार्फत फर्म भर्ने प्रक्रियासमेत सुरु भइसकेको छ ।
 
अवैधानिक कामदारलाई वैधानिक बनाएर काम सुनिश्चित गर्न नयाँलाई तत्काल रोजगारी दिन स्थगित गरिएको उपप्रधानमन्त्रीले बताए । विदेशी कामदारको आवश्यकता कहाँ कति छ भन्ने यकिन गरेर मात्र नयाँ लिन खुला गर्ने हमिदीले बताए । 
 
मलेसियाले हालै गरेको लेबी वृद्धिको निर्णयसमेत तत्कालका लागि स्थगित गरेको छ । लेबी कामदारसँग उठाइने रकम हो । मलेसियाले नयाँ विदेशी कामदारलाई भन्दा मलेसियामा नै रहेका अवैधानिकलाई वैधानिक बनाउन पहल गरेको छ । विदेशी कामदार लिने प्रक्रिया रोकेर लेभी दरलगायत विषयमा पुनर्विचार गर्न लागिएको जानकारी हमिदीले दिए ।
 
अवैधानिकलाई वैधानिक बनाउन पुनः दर्ता कार्यक्रम सञ्चालन गरिसकिएको र कार्यक्रममा सहभागी नहुने आप्रवासीलाई पक्राउ गर्र्न सरकारले ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गर्ने घोषणा गरेको छ । 
 
धरपकडमा पक्राउ परेकालाई उनीहरूकै देशमा फिर्ता गर्ने योजना मलेसिया सरकारले ल्याएको छ । मलेसिया सरकारको ध्यान अवैधानिक आप्रवासीलाई वैधानिक बनाउनेतर्फ केन्द्रित भएकाले नयाँ विदेशी कामदारलाई श्रम स्थगित गरिएको हमिदीको भनाइ उल्लेख गर्दै सरकारी सञ्चारमाध्यम वार्नामाले जनाएको छ ।
 
मलेसिया सबैभन्दा धेरै नेपाली कामदार गएको मुलुक हो । गत वर्षसम्म मासिक औसतमा २० हजारभन्दा बढी कामदार त्यहाँ जाने गरेका थिए । नेपालले असारमा निःशुल्क टिकट र भिसाको प्रावधान ल्याएपछि भने मलेसिया जाने कामदारको संख्यामा ठूलो गिरावट आएको छ । 
 
चालू आर्थिक वर्षका प्रायः सबै महिनामा औसतमा पाँच हजार हाराहारी कामदारमात्र मलेसिया गएका छन् । गत वर्षसम्म मलेसियाबाट सबैभन्दा धेरै रेमिट्यान्स नेपाल भित्रिने गरेको थियो ।
 
नेपाल भित्रिने कुल रेमिट्यान्समध्ये मलेसियाबाट मात्रै ३० देखि ४० प्रतिशत हिस्सा छ । वार्षिक पाँच खर्बभन्दा बढी रेमिट्यान्स नेपाल आउँछ । सरकारले रोजगारीका अन्य गन्तव्य खोजी नगरेका बेला मलेसिया पठाउन नपाएपछि बेरोजगारी समस्या समाधान गर्न थप चुनौती हुनेछ । हाम्रो श्रम बजारमा वार्षिक साढे चार लाख युवा थपिने गरेका छन् । अर्थतन्त्रमा रेमिट्यान्सको हिस्सा २२ देखि २५ प्रतिशतसम्म छ ।
 
Published on: 20 February 2016 | Annapurna Post

Back to list

;