s

मलेसियाको विमानस्थलमा अड्किएका दर्लामी नेपाल आइपुगे

होम कार्की

काठमाडौँ — मलेसियाको विमानस्थल (टर्मिनल) भित्रै ७० दिनदेखि प्रतीरक्षारत नवलपरासीका प्रीतम दर्लामीलाई उद्धार गरी बुधबार नेपाल ल्याइएको छ । 

मलेसियन एयरलाइन्सबाट बुधबार नेपाल आएका नवलपरासीका प्रीतम दर्लामी ।

क्वालालम्पुरस्थित नेपाली दूतावासका अनुसार विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का कर्मचारी लैजान चार्टर गरिएको मलेसियन एयरलाइन्सको जहाजमा उनलाई नेपाल पठाइएको हो । बुधबार दिउँसो साढे ३ मा त्रिभुवन विमानस्थलमा आइपुगेका प्रीतमलाई नेपाली सेनाले कीर्तिपुरस्थित क्वारेन्टाइनमा राखेको छ ।

‘७० दिनदेखि एक्लै विमानस्थलको टर्मिनलमा बस्दा दर्लामीको स्वास्थ्य अवस्था बिग्रिसकेको थियो । नेपालमा विमान जान लागेको खवर पाएको १८ घण्टाभित्र सरकारसँग समन्वय गरी पठाउन सफल भयौं’, मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले भने, ‘लकडाउनपछि नेपाल पठाइएका उनी पहिलो नेपाली हुन् ।’ 

सिंगापुर एयरलाइन्समार्फत नेपाल जान प्रीतम विमानस्थलभित्र पुगेका थिए । ‘मलेसियाको अध्यामगन पार गरेर टर्मिनलमा पुगेको थिएँ । एक घण्टापछि विमान उड्दै थियो । सिंगापुरबाट पहिलो उडान नेपाल गएर फर्किर्एको थियो । दोस्रो उडान भने भएन’, उनले भने, ‘न नेपाल उड्न पाएँ न टर्मिनलबाट बाहिर निस्कन पाएँ । मेरो भिसा क्यान्सिल भइसकेको थियो ।’

विमानस्थलभित्र रहेको रेस्टुरेन्टसमेत बन्द भएपछि उनलाई खाना खानै समस्या पर्‍यो । दूतावासले नै नियमित रूपमा बाहिरबाट चिउरा, चाउचाउ र नगद दिँदै आएको थियो । ‘भित्र सुरक्षागार्ड थिए । उनीहरूलाई पैसा दिएपछि बाहिरबाट खाना ल्याइदिन्थे’, उनले भने । दर्लामीले नेपाल फर्कन कुनै शुल्क भने तिर्नुपरेन । ‘मैले दूतावासबाट ठूलो सहयोग पाएँ । यो गुनलाई जिन्दगीभर सम्झिनेछु’, उनले भने ।

दूतावासका अनुसार मलेसियाबाट स्वदेश फिर्न चाहने नेपालीको संख्या झन्डै ६ हजार छ । डिपोर्टेसन सेन्टरमा मात्रै २ सय जना छन् । नेपालीलाई केही दिनमा पठाउनका लागि व्यावसायिक उडानलाई अनुमति दिन सरकारलाई अनुरोध गरिएको राजदूत पाण्डेले बताए ।

Published on: 4 June 2020 | Kantipur

Link

Back to list

;