s

मलेसियाको भिसा शुल्क २८ सयले बढ्यो

काठमाडौः नेपालीको आकर्षक रोजगार गन्तव्य मुलुक मलेसियाले भिसा शुल्क दुई हजार आठ सय रुपैयाँ बढाएको छ । मलेसियाले तीन हजार नौ सय रुपैयाँ रहेको भिसा शुल्क बढाएर ६ हजार सातसय रुपैयाँ पुर्‍याएको हो । नयाँ भिसा शुल्क भदौ २७ गतेदेखि लागू हुने मलेसियन दूतावासले जनाएको छ ।
 
मलेसियाले भिसा प्रकृयाका लागि लाजिम्पाटमा वान स्टप सेन्टर (ओएससी) खोलेको छ । पासपोर्ट संकलन तथा भिसा लगाउने काम अबदेखि यही सेन्टरबाट हुने मलेसियन दूतावासले जनाएको छ । यसअघि सानेपामा रहेको मलेसियन दूतावासबाट यो काम हुने गथ्र्यो ।
 
मलेसियाले दुई वर्षको अन्तरालमा दुईपटक भिसा शुल्क बढाइसकेको छ । २०७० पुसअघि मलेसियाको भिसा शुल्क सात सय रुपैयाँमात्र थियो । भिसा शुल्क बढेपछि मलेसिया जाने नेपालीमा आर्थिक भार थपिएको छ । अबदेखि मलेसिया भिसामा २८ सय रुपैयाँ बढी बुझाउनुपर्ने हुन्छ ।
 
मलेसियन राजदूतावासले भिसा लगाउने काम आफै नगरी आउट सोर्सिङबाट गराउँदै आएको छ । दूतावासले कर्मचारी राखेर राहदानी संकलन गर्ने, भिसा लगाउने काम गर्नुभन्दा आउट सोर्सिङबाट गराउँदा सस्तो र सजिलो हुन्छ । यस पटक मलेसियाले भिसा प्रकृयाका लागि लाजिम्पाट उत्तरढोकामा रहेको ओएससीलाई जिम्मा लगाएको छ ।
 
नेपाल सरकारले भिसा शुल्क घटाउन मलेसियासँग पहल गर्नुपर्ने सरोकारवाला बताउँछन् । पछिल्लो समय नेपालबाट कामदार मात्र नभई घुम्न जाने पनि बढेका छन् । मलेसियाले इन्डियन नागरिकका लागि भिसा शुल्क सात हजार पाँच सय र चिनियाँ नागरिकका लागि ६ हजार नौ सय रुपैयाँ पुर्‍याएको छ ।
 
Published on: 9 September 2016 | Annapurna Post

Back to list

;