s

मलेसियाको भिसा प्रक्रियामा कुनै परिवर्तन हुँदैन: गृहमन्त्री मुहिद्दीन

मलेसियाले आफ्नो देशमा आउने पर्यटक र कामदारको भिसा प्रकृयामा कुनै परिवर्तन नगर्ने बताएको छ। मलेसियाका पूर्वउप-प्रधानमन्त्री अहमद जहीद हमिदी पक्राउ परे सँगै उनको कार्यकालमा लागु भएको भिसा प्रक्रियाका सम्बन्धमा जिज्ञासा उब्जिएपछि मलेसियाका गृहमन्त्री तानश्री मुहिद्दीन यासिनले विद्यमान भिसा प्रक्रिया नै यथावत रहने प्रस्ट परेका छन्।

'भिसा प्रक्रिया फेर्ने विषयमा हामी अहिले कुनै निर्णय गर्नसक्ने अवस्थामा छैनौं। जबसम्म यी संस्थाको विकल्प तयार हुँदैन अहिलेलाई यही प्रक्रिया जारी रहन्छ' गृहमन्त्री मुहिद्दीनको भनाइ उदृतगर्दै मलेसियाली संचार माध्यमले जनाएका छन्। मुहिद्दीनले चिनियाँ पर्यटकलाई लक्षितगर्द्दै भिसा प्रक्रियाका बारेमा अभिव्यक्ति दिएपनि मलेसियाले सबै देशकालागि एकै प्रकारको भिसा प्रक्रिया लागु गरेको छ।

पूर्वउपप्रधानमन्त्री हमिदीले भिएलएन लगायतका संस्था संचालनको अनुमति दिएर भ्रस्टाचार गरेको आरोप लागेको छ। हमिदी विरुद्द मलेसियाली अदालतमा आजदेखि सुनुवाई सुरु भएपनि उनको कार्यकालमा कार्यान्वयनमा आएका संस्थाहरु तत्काल हटाउन नसकिने मलेसियाली मन्त्री र प्रधानमन्त्री महाथिरले नै बताउँदै आएका थिए। मलेसियाली मन्त्रीले भिसा प्रक्रियाको काम यथावत रहने भनेपछि अब नेपालीहरु पनि विगतकै भिसा प्रक्रियाबाट मलेसिया जाने देखिएको छ।

नेपालीको मुख्य गन्तव्य रहँदै आएको मलेसिया २०७५ जेठ २ गतेदेखि बन्द छ। मलेसिया जाने कामदारमाथि अतिरिक्त भार थपिएको भन्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भिसा प्रक्रिया र स्वास्थ्य परीक्षण गर्ने संस्था एकतर्फी रुपमा खारेज गरेपछि मलेसिया जाने प्रक्रिया ठप्प भएको थियो।

तर २०७५ कार्तिक १२ गते नेपाल र मलेसियाबीच श्रम सम्झौता सम्पन्न भयो जसले नेपाली कामदार जाने ढोका खोले पनि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको अडानका कारण अहिले सम्म मलेसिया खुल्न सकेको छैन। दुई देशबीच सम्पन्न श्रम सम्झौतामा कामदार आपूर्तिका क्रममा लाग्ने सबै खर्च रोजगारदाताले व्यहोर्ने उल्लेख छ। यो बीचमा मलेसियाले कामदार आपूर्तिमा आफ्नो तर्फबाट कुनै समस्या नरहेको प्रस्ट पर्दै पटक-पटक नेपाली कामदार पठाईदिन आग्रह गरेको छ।

सम्झौतापछि मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरनले विगतकै प्रक्रियाबाट कामदार आपूर्ति हुने उल्लेख गरेका थिए। मन्त्री सेगरनले गृह मन्त्रालय मातहत रहेको भिसा प्रक्रिया लगायतका काम आफ्नो मन्त्रालय मातहतबाट गर्न मन्त्रिपरिषदमा प्रस्ताव लागेका थिए। तर सुरक्षा संवेदनशिलता देखाउँदै गृह मन्त्रालयले उनको प्रस्ताव अस्विकार गरेको छ। विगतको भेंडर परिवर्तन गरेर नयाँ संस्थालाई भिसा प्रक्रियाको जिम्मा दिने श्रम मन्त्रालयको अडान र स्वास्थ्य परीक्षणको जिम्मा पनि नयाँ संस्थालाई दिने मन्त्रालयको अडानका कारण वार्षिक १ लाख बढी नेपालीहरु गैरहेको मलेसिया १३ महिनादेखि बन्द छ।

मलेसियाले कामदार आपूर्तिगर्दै आएको सबै श्रोत मुलुकमा एकै प्रकारको भिसा प्रक्रिया छ। मलेसियाले नेपालकालागि मात्र समग्र भिसा प्रक्रियामा फेरवदल गर्न नसकिने बताए पनि नेपालीपक्ष विगतको प्रक्रियामा संलग्न संस्था फेरवदल हुनुपर्ने अडानमा छ।

Published on: 27 June 2019 | Nagarik

Back to list

;