s

मलेसियाको टप ग्लोब्समा २१२० नेपाली संक्रमित

होम कार्की

काठमाडौँ — मलेसियामा रहेको मेडिकल पन्जा उत्पादन गर्ने विश्वकै सबैभन्दा ठूलो मानिने कम्पनी टप ग्लोब्समा कार्यरतमध्ये २ हजार १ सय २० जना नेपाली श्रमिक कोरोना संक्रमित भएका छन् । जसमध्ये १ हजार ९ सय ६६ जना नेपाली अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

अझै १ सय ७ जना उपचाररत छन् र १२ जनालाई क्वारेन्टाइनमा राखिएको छ । ३४ जनालाई अस्पताल लैजानु नपर्ने सूचीमा राखिएको छ । टप ग्लोब्सले क्वालालम्पुरस्थित नेपाली दूतावासलाई मंगलबार यसबारे जानकारी दिएको हो । 

अव्यवस्थित बासस्थल र सामाजिक दूरी कायम नगरी एकै पटक धेरै श्रमिकलाई काममा लगाउँदा एक महिनायता कम्पनीमा कोरोना संक्रमणले विकराल रूप लिएको हो । कम्पनीमा कुल २१ हजार श्रमिक कार्यरत रहेकामा हालसम्म ५ हजार १ सय ४७ जना संक्रमित भएका छन् । 

संक्रमितमध्ये सुरक्षा गार्डका रूपमा कार्यरत नवलपरासीका यमनारायण चौधरीको शनिबार बिहान मृत्यु भएको थियो । मलेसियाका पूर्वमानव संसाधनमन्त्री एम. कुला शेरागनले चौधरीले समयमै उपचार नपाएका कारण मृत्यु भएको बताएका छन् । उनका अनुसार स्वास्थ्य अवस्था जटिल बनेपछि मात्रै चौधरीलाई अस्पतालमा पुर्‍याइएको थियो । ‘टप ग्लोब्सका श्रमिक (चौधरी) ले समयमै उपचार पाएको भए बचाउन सकिन्थ्यो,’ स्थानीय सञ्चारमाध्यम फ्रि मलेसिया टुडेले शेरागनको भनाइ उद्धृत गर्दै लेखेको छ, ‘लापरबाहीको यो एउटा मात्रै उदाहरण होइन ।’ 

उनले विदेशी श्रमिकहरूले समयमा उपचारको अधिकार पाउनबाट वञ्चित रहेको औंल्याएका छन् । ‘धेरै उद्योगहरूमा कार्यरत श्रमिकहरूसँग कुराकानी गर्दा तुरुन्तै उपचार नपाएको सुनेको छु । जसले गर्दा श्रमिकहरूले अनाहकमै मृत्युवरण गर्नुपरेको छ,’ उनले भनेका छन्, ‘धेरैजसो विदेशी श्रमिकसँग आफ्नै सवारीसाधन छैन । स्वास्थ्य उपचार पाउनका लागि लामो दूरी हिँडेर अस्पताल जानुपर्छ । बिरामी हुँदा आफैंले अस्पतालको खर्च व्यहोर्न सक्दैनन् । जुन विदेशी श्रमिकका लागि धेरै महँगो छ ।’ 

टप ग्लोब्सजस्ता धेरै श्रमिक कार्यरत कम्पनीले आपत्कालीन अवस्थामा श्रमिकहरूको सुरक्षाका लागि चाल्नुपर्ने सावधानीलाई अनिवार्य रूपमा मापदण्ड बनाई कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

कोरोनाले ‘विस्फोट’ कै रूप लिएपछि मलेसियाका अधिकारीहरूले टप ग्लोब्सका ४१ वटा उद्योगमध्ये २८ वटालाई बन्द गराइसकेका छन् । मलेसिया सरकारले श्रमिकको बासस्थलको गुणस्तर र सुरक्षाका लागि मापदण्ड बनाए पनि स्थानीय प्रशासन र कम्पनीको मिलेमतोका कारण त्यसलाई पूर्णरूपमा लागू गरिएको छैन । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले श्रमिकलाई राखिने बासस्थलको अवस्था खराब रहेको भन्दै सुधारका लागि मलेसिया सरकारलाई दबाब दिँदै आएको छ । आईएलओ र मलेसिया सरकारबीच मर्यादित श्रमको वातावरण बनाउने भन्दै सन् २०२५ सम्म कार्यक्रम गर्ने समझदारी छ । टप ग्लोब्समा कार्यरत मकवानपुरका शान्त वाइबाले कोरोनाबाट संक्रमित धेरैजसो साथीहरूको अवस्था अझै चिन्ताजनक रहेको बताए ।

‘अहिले स्थिति साँच्चिकै डरलाग्दो छ,’ उनले भने, ‘हुन त धेरै साथीहरू सञ्चो भइरहेका छन् । तैपनि कतिपयको अवस्था गम्भीर नै देखिन्छ ।’ गत महिनादेखि नै सावधानी अपनाएको भए संक्रमण यति भयावह नहुने श्रमिकहरूको गुनासो छ ।

टप ग्लोब्सले भने मलेसियाको मानव संसाधन मन्त्रालय र श्रम विभागको मापदण्डबमोजिम श्रमिकहरूको बासस्थललाई गुणस्तरीय बनाइरहेको दाबी गरेको छ ।

Published on: 16 December 2020 | Kantipur

Link

Back to list

;