s

मलेसियाको निर्णयपछि, दूतावासले पनि मागपत्र प्रमाणीकरण रोक्यो

 मलेसियाली सरकारले विदेशी कामदार भर्ना रोकेपछि यहाँस्थित नेपाली दूतावासले नेपाली कामदारका मागपत्रको प्रमाणीकरण कार्य तत्कालका लागि रोकीएको जनाएको छ । दूतावासले सोमबार एक सूचना जारी गर्दै उक्त कुरा जनाएको हो । 
नेपाली राजदुत डा. निरञ्जनमानसिंह बस्न्यातले मलेसियाले विदेशी कामदार भर्ना रोकेकाले पछि नेपाली कामदारलाई समस्या नहोस् भनेर हाललाई प्रमाणीकरण गर्न पनि रोकीएको बताए । 
 
‘मलेसियाको निर्णयपछि अब मागपत्र प्रमाणीकरणको काम पनि रोकेका छौं,’ उनले यसबारे थप प्रष्ट्याउँदै भने, ‘किनकी अहिले प्रमाणीकरण रोकीएन भने पछि नेपालमा कामदारले मलेसिया पुन: नखुलुञ्जेल कुर्नुपर्ने हुन्छ । त्यस्तो समस्या नहोस् भनेर रोकेका हौं ।’ 
 
दूतावासका द्वितीय सचिव उत्तम कुमार शाहीका अनुसार मलेसियाको पछिल्लो घोषणाबारे स्पष्ट बुझ्ने पहल भइरहेको बताए । ‘अप्रुभल रोकीएको हो या कलिङ भिसा, भन्नेबारे बुझ्दैछौं,’ उनले भने । 
 
कामदार मागपत्र दूतावाससहित स्थानीय चेम्बर अफ कमर्स र नोटरी पब्लिकले पनि गर्ने गर्दछन् । तर ती निकायबाट पनि प्रमाणीकरण रोकीएको हो/होइन भन्नेबारे जानकारी नभएको पनि शाहीले बताए । गत शुक्रबार मलेसियाली उपप्रधान तथा गृहमन्त्री अमहद जहिद हमिदीले सबै विदेशी कामदार भर्ना रोकीएको घोषणा गरेका थिए । 
 
पुनर्विचार गर्न आग्रह
यसैबीच मलेसियाली रोजगारदाताहरुले सरकारले हालै घोषणा गरेको विदेशी कामदार नलिनेबारेको ‘निर्णय’ माथि पुर्नविचार गर्न सरकारलाई आग्रह गरेका छन् । 
 
रोजगारदातासम्बद्ध विभिन्न संघ संस्थाले विदेशी कामदार भर्ना रोक्दा रोजगारीका उत्पादन, निर्माण, सेवा लगायत विभिन्न क्षेत्रमा कामदार अभाव हुने भन्दै सरकारलाई उक्त निर्णयमाथि पुर्नविचार गर्न आग्रह गरेका हुन् । 
 
उनीहरुले कामदार अभाव भएपछि व्यवसाय संचालनमा कठिनाई हुने औंल्याएका छन् । पेनाङ चाइनिज चेम्बर अफ कमर्श एसोसियसन, रियल स्टेट एण्ड हाउजिङ डेभेलेपर एसोसियसन पेनाङ, आइडियल प्रोपर्टी ग्रुप, मलेसियन इन्टरप्रेनर्स एसोसियसन, मोटरसाइकल एण्ड स्कूटर सेलर्स ग्रुप लगायतका विभिन्न संस्था एवं व्यवसायिक कम्पनीका प्रतिनिधिहरुले विदेशी कामदार भर्ना रोक्ने निर्णयले व्यवसाय संचालन गर्न समस्या हुने बताए । 
 
सरकारी निर्णयबाट सबैभन्दा बढी मार निर्माण क्षेत्रमा पर्ने र कामदार अभाव हुने उनीहरुको ठम्याई छ । उनीहरुले हालै जारी गैरकानुनी कामदारको दर्ता गरि रोजगारी दिने कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । 
 
सरोकारवालाले खासगरि पुर्वाधार विकास तथा निर्माण क्षेत्रमा स्थानीयले काम गर्न इच्छुक नहुने र नयाँ विदेशी कामदार रोक्दा कामदार अभाव हुने औंल्याएका छन् । ‘यदि विदेशी कामदार नै भएनन् भने रोजगारदाताले स्थानीय कामदारलाई बढी पैसा दिएर काममा ल्याउनुपर्ने हुन्छ । किनकी स्थानीयले बढी तलबको आशा गरेका हुन्छन्,’ मलेसियन इन्टरप्रेनर्स एसोसियसनका अध्यक्ष चेन किम हकले स्थानीय पत्रिका न्यु स्ट्रेट्स टाइम्ससँग भनेका छन्, ‘निर्माण क्षेत्र विदेशी कामदारमा निर्भर छन् । किनकी स्थानीयले यस क्षेत्रमा काम गर्न चाहँदैनन् ।’ 
 
मलेसियाले हाल गैरकानुनी कामदारको दर्तासँगै देशव्यापी धरपकड गरिरहेको छ । उक्त कदमप्रति मजदुर अधिकारवादी संस्था तानागानिताले आफ्नो ध्यानाकर्षण भएको जनाउँदै धरपकड नगरि कामदारलाई एैच्छिक रुपमा कार्यक्रमको सदुपयोग गर्न दिन सरकारसँग आग्रह गरेका छ ।
 
Published on: 24 February 2016 | Kantipur 

Back to list

;