s

मलेसियाको नर्कमा ११ महिना

ज्ञानेन्द्र खड्का
 
पाँच वर्षअघि मलेसिया पुग्दा मनोज पाण्डेसँग बग्रेल्ती सपना थिए । बूढा बाबुआमा छाडेर एक्लो छोरो उनी तिनै सपनासँग पौंठेजोरी खेल्दै मलेसिया पुगेका थिए ।
 
कुनै बेलाको मलाया अहिले मनोजजस्तै मध्यम र निम्नवर्गीय नेपाली युवाका लागि पैसा कमाउने सपनाको देश बनेको छ । खाडी मुलुकपछि धेरै नेपाली युवाले आफ्नो ऊर्जाशील उमेरको जोश मलेसियामा कमिने केही हजार पैसामा साटिरहेका छन् ।
 
गाउँकै स्कुलमा एसएलसीसम्म पढेका भोजपुरको सिद्धेश्वर–४ का २५ वर्षीय मनोजसँग ठूला सपना थिएनन् । थिए त केवल एउटा घर, सुखी परिवार र सुरक्षित भविष्य । धनी र सम्पन्न बाबुआमाका छोरा युरोप अमेरिका ताक्छन् तर निम्नवर्गीय बाबुका छोरा उनीसँग मलेसिया या खाडीको भन्दा ठूलो सपना देख्ने हैसियत पनि थिएन ।
 
म्यानपावर कम्पनीलाई करिब लाख रुपैयाँ बुझाई मलेसिया पुगेका उनले तीन वर्ष रगतपसिना बगाएर ऋण तिर्ने र थप केही लाख कमाइ गरे । मलेसियाको सेलाङर राज्यको सिड्नी केक हाउसमा तीन वर्ष काम गरेका उनी घर फर्केर विवाहबन्धनमा बाँधिए । एक्लो छोरोले बुहारी भित्र्याएपछि बाबुआमा छाडेर परदेसिन पनि उनलाई चिन्ता भएन ।
 
२०७० मंसिरमा घर आएका उनी प्राणप्यारी र बाबुआमा छाडेर दुई महिनापछि सपनाको सौदाबाजी गर्न फेरि मलेसिया नै हान्निए । समय सधैं एकनास कहाँ चल्छ र ?  मौसम र हावापानी अनुकूल भए पनि मलेसिया पछिल्लो समय नेपालीका लागि ‘नर्क’जस्तै बन्दैछ । मलेसिया पुगेर चार महिनासम्म काम गरेपछि उनले घरमा खर्चसमेत पठाउन भ्याए ।
 
पाँच दिनअघिमात्र चिनजान भएका साथीको एउटा फोन मनोजको जीवनलाई ‘नर्क’मा लैजान पर्याप्त भयो । कम्पनीमा रात्रि ड्युटीमा रहेका उनलाई दिउँसो क्याम्पमा सुतिरहेका साथीले केलाङ जान बोलाए ।
 
विदेशमा नेपाली दाजुभाइ भनेपछि हुरुक्कै हुने उनी चप्पल र क्याम्पमा लगाएकै लुगा लगाएर केलाङस्थित एक झापालीले चलाएको रेस्टुरेन्टमा पुगे । तर, रेस्टुरेन्टमा खाना खाएपछि सँगै रहेका नेपाली साथीले छलेर हिँडेपछि उनको दुर्दिन सुरु भयो ।
 
रेस्टुरेन्टमा सँगै खाना खाएका नेपाली साथीले नै उनलाई छाडेर हिँडेपछि कम्पनी फर्किन लाग्दा उनको साथमा रहेको ५० रिंगेट र मोबाइल फोन अपरिचित समूहले लुट्यो ।
 
पैसा र मोबाइल लुटिएपछि बिचल्लीमा परेका उनीसँग कम्पनी फर्कने उपाय थिए । लुटिनबाट जोगिएको एटीएम कार्डबाट पैसा निकाल्न बैंक चहार्नुमात्र उनीसँग विकल्प थियो ।
 
पैसा निकाल्न सुपरमार्केट छिरेका बेला लुटेरालाई पनि त्यहीँ देखे । सुपरमार्केटमा नेपाली सुरक्षागार्ड देखेपछि लुटेरा पक्रने हिम्मत जुटार्ई अघि बढ्दा फिलिपिन्सकी युवतीसँग ठोक्किनु नै उनको अपराध ठहरियो ।
 
आफूसँग ठोक्किएपछि युवती लड्न पुगी भने उसले बोकेका सामान पछि भुइँमा छरिए । भुइँमा लडेकी युवतीसँग माफी माग्दै उनले सामानसमेत टिपिदिए ।
 
माफी नदिने भन्दै बाहिर निस्केकी युवतीले खबर गरेपछि आएको मलेसियन प्रहरीले मनोजलाई तत्कालै समाती कुटपिट गर्दै हत्कडी लगाएर लग्यो । ‘म लुटेर पक्रने सुरमा थिएँ, फिलिपिनो युवती मतिर आएर ठोक्किएको यादै भएन’, मनोजले सुनाए, ‘गल्ती गर्दै नगरेको घटनामा मैले ११ महिनासम्म नर्कको बास बस्नुपर्यो ।’
 
मलेसियामा नेपाली दुःख दिनेमा त्यहाँ सक्रिय लुटेरा र प्रहरी हुन् । त्यहाँका प्रहरीको व्यवहार पनि लुटेराको भन्दा कम छैन । ‘नखाएको विष पनि लाग्ने रहेछ’ भन्ने नेपाली उखान उनको प्रदेशी जीवनमा लागू भयो । ‘गर्दै नगरेको अपराधमा मलाई पुलिसले हिरासतमा हाल्यो, अन्य कैदीका अगाडि नांगै घुमायो’, मनोजले भने, ‘१२ दिनसम्म भोकैतिर्खै राखेर यातना दिई १३ दिनमा अदालतमा पेस गर्यो । अदालतमा पनि युवतीलाई कुटेको भन्न लगाइयो तर मैले मानिनँ । हिरासतमा फर्काएपछि कुटपिट र यातना दिइरहे ।’
 
मलेसियन प्रहरीले उसैको देशमा       श्रम गर्न आएका नेपालीलाई गर्दै नगरेको अपराधमा यातनाको शृंखला चलाइरहे । जेलमा पठाएपछि कैदीले समेत उनलाई कुटे । ‘सबै कैदी सामुन्ने नांगै दिसा गर्न लगाए । कुटेको त निको भयो मानसिक यातनाको घाउ नभरिने रहेछ’, उनले सुनाए, ‘६ महिनासम्म परिवार र साथीसँग सम्पर्क नहुँदा बाँच्दिनजस्तो लाग्थ्यो । ६ महिना रोएरै बिताएँ । जेलका साथीलाई हेरेर चित्त बुझाउथेँ ।’
 
छोरो हराएपछि घरमा पत्नी र बाबुआमाको रुवाबासी थियो । मलेसियामा उनी भने झारको तरकारीसँग दुई गाँस भात खाएर प्राण अल्झाइरहेका थिए । ६ महिनासम्म उनले जेलको बासमा पेटभरि खान पाएनन् । रातदिनको यातना र आधा पेट खाएर सास धानिरहेका उनले जीवनको माया नै मारिसकेका थिए ।
 
अदालतले त मनोजलाई जितायो तर पुलिसले उनलाई यातना दिन छाडेन । मुद्दाको फैसला भएकै रात उनलाई पुलिसले अज्ञात स्थानमा लगेर रातभर यातना दियो । मुद्दा फैसला भएको सात दिनसम्म उनी पुलिसको कुटाइ खाएर पटकपटक मर्दै बाँचे । भनिन्छ, सास रहुन्जेल आश रहन्छ । निभिसकेको उनको जीवनको दियो एक भारतीयका कारण पुनः बल्न थाल्यो । जेलबाट छुटेर घर फर्कन लागेका भारतको हरियाणाका एक व्यक्तिसँगको भेटले बाँच्ने आश पलायो ।
 
‘भारतीयहरू हेपाहा मिचाहामात्र होइन, सहयोगी पनि हुँदा रैछन्, ती भारतीयसँग भेट नभएको भए म जिउँदै नेपाल फर्किन्नथिएँ होला’, गहभरि आँसु बनाउँदै मनोजले भने, ‘भारत फर्केपछि उनले मेरो हातलबारे आफन्तलाई फोन गरिदिएछन् । मैले भोगेको यातना र जेलको बासबारे मलेसियामै रहेका माइला भेनालाई ती भारतीय साथीले बताएपछि मैले पुनर्जन्म पाएँ ।’
 
बिहे गरेर हिँडेको छोरा ६ महिनासम्म बेपत्ता हुँदा उनका आफन्तले माया मारिसकेका रहेछन् । मलेसियामै मारेर फ्याँके, ज्यूँदो नरहेकसमेत खबरले घरमा रुवाबासी भइसकेको थियो ।
 
उनका बुवालाई एक्लो छोरो मलेसियामा मरिसकेकाले अर्को बिहे गरेर छोरो जन्माउने सुझावसम्म गाउँलेले दिए । ६ महिनापछि मनोज मलेसियाको जेलमा जीवितै रहेको खबर घरमा पुगेपछि बाबुआमा र पत्नीले सबै पीडा भुले ।
 
अन्ततः भारतीय नागरिकको एउटा फोनले मनोजले पुर्नजन्म पाए । जबरजस्ती करणीको मुद्दामा बिनाअपराध जेलमै सडेर मर्नु परेन । घरपरिवारलाई स्वर्ग बनाउन मलेसिया पुगेका मनोजले नर्कबाट निस्कन पाउने भए ।
 
‘म जिउँदै रहेको खबर घर त पुग्यो तर छुट्ने उपाय थिएन’, मनोजले भने, ‘आफन्तकै सहयोगमा मविरुद्धको मुद्दाबारे सेलाङर राज्यको अदालतले मेरै पक्षमा फैसला सुनाएपछि जहाँ रहे पनि सत्य हार्दो रहेनछ भन्ने विश्वास भयो । जीवनको आश पनि पलायो ।’
 
फिलिपिनो युवतीसँग ठोक्किएकै भरमा मलेसियन पुलिसले उनीविरुद्ध जबरजस्ती करणीको झूठो मुद्दा लगाएको थियो । मुद्दा अघि बढेपछि अदालतमा उपस्थित फिलिपिनो युवतीले पनि मनोजविरुद्ध ठोस सबुत दिन सकिन । ती युवतीसँग ठोक्किएको समयको सुपरमार्केटको सीसीटीभी भिडियोमा समेत हातपातको दृश्य फेला नपरेपछि अन्ततः जीवन हारिसकेको नेपालीसँगै मलेसियामा सत्यको जित भयो ।
 
गर्दै नगरेको कसुरमा मनोज ११ महिना ६ दिन मलेसियाको जेलमा सड्नु पर्यो । अदालतले फैसला सुनाएपछि पनि पैसाको प्रभावमा परेको मलेसियन प्रहरीले मनोजलाई उन्मुक्ति दिएन ।
 
अदालतले त मनोजलाई जितायो तर पुलिसले उनलाई यातना दिन छाडेन । मुद्दाको फैसला भएकै रात उनलाई पुलिसले अज्ञात स्थानमा लगेर रातभर यातना दियो । मुद्दाको फैसला भएको साता दिनसम्म उनी पुलिसको कुटाइ खाएर पटकपटक मर्दै बाँचे ।
 
सात दिनसम्म हत्कडी नखोली यातना दिइँदा उनी फेरि जीवनमरणको दोसाँधमा पुगे । अदालतले न्याय दिँदासमेत उनले धर पाएनन् । पुलिसले कुटिरह्यो, उनले जीवनको भीख मागिरहे । सात दिनसम्म यातना दिएपछि पुलिसले नै उनलाई अपराधीसरह हतकडीमै एअरपोर्ट ल्याएर विमान चढाई नेपाल पठायो ।
 
‘जहाजले मलेसियन भूमि छोडेपछि पनि डर लागिरह्यो, फेरि नर्कको बास हुने कुराले पिरोलिरह्यो’, मनोज भन्छन्, ‘जब जहाजले नेपालको धर्तीमा टेक्यो तबमात्रै पुनर्जन्म पाएको ठानेँ, अनि रोइरहेँ ।’
 
मृत्युको मुखमा पुगेका उनी भोजपुरस्थित घर पुग्दा आफन्तले हर्षका आँसु बगाए । पैसा कमाएर परिवारलाई सुख दिने सपना लिएर मलेसिया पुगेका उनी गर्दैै नगरेको अपराधको मुद्दा लड्दा उल्टै चार लाख रुपैयाँ ऋणको भारी बोकेर घर फर्के ।
 
विदेशी भूमिमा पनि उनलाई नेपाली दाजुभाइले साथ दिए । मुद्दा लड्न सहयोग गरे । ‘बाँचेर फर्केको छु, अब गाउँमै बसेर सबैको ऋण तिर्छु’, उनी भन्छन्, ‘११ महिना जेल बस्दा पनि कम्पनीले खोजी गरेन । चिनियाँको कम्पनीमा एक महिना काम गरेको दुई हजार रिंगेट लिन बाँकी छ तर त्यो हात लाग्ने आश मारेको छु ।’
 
मलेसियामा नर्कको बास भएपछि उनी कसैलाई पनि मलेसिया नजान भन्छन् । ‘मेरा शाखासन्तान, इष्टमित्र र शत्रुसमेत मलेसिया नजाऊन्’, उनले सुनाए, ‘मलेसिया जानुभन्दा बरु गाउँमै जिन्दगीभर हलो जोतेर बस्नु राम्रो ।’
 
अन्य देशबाट मलेसियामा बसेकादेखि त्यहाँको पुलिसले समेत नेपालीलाई सताउने गरेको उनको बुझाइ छ । ‘नेपालीलाई झूठा मुद्दामा फसाएर हिरासत र जेलमा सडाउँछन्’, उनले भने, ‘झूठो मुद्दामा फसेका हजारौं नेपाली मेलेसियन पुलिसको हिरासतमा छन् । त्यस्तो नर्कमा जानुभन्दा गाउँमै हलो जोत्नु बेस । म त बाँचेर फर्किएँ, मेरा शत्रुले पनि त्यस्तो दुःख नपाऊन् ।’
 
Published on: 22 August 2015 | Annapurna Post
 

Back to list

;