s

मलेसियाको जेलमा वर्षको २ हजार नेपाली

रामचन्द्र गिरी
 
मलेसियामा तेह्र महिनयता करिब दुई हजार नेपालीले जेल सजाय पूरा गरिसकेको एक तथ्यांकले देखाएको छ । दूतावासले उपलब्ध गराएको तथ्यांकमा १ हजार ९ सय ५९ नेपालीले जेल सजाय पूरा गरिसकेको उल्लेख छ । यो संख्या सन् २०१३ को जनवरीयताको भएको उसले बतायो । दूतावास स्थापनाको १० भइसक्दा पनि मलेसियामा कति नेपाली जेल परे भन्ने ठोस तथ्यांक ऊसँग अझै छैन । तर सरदर हजार नेपाली बर्सेनि जेल परेर र्फकने गरेको उसको अनुमान छ । जेल सजाय पूरा गर्नेमध्ये अधिकांश स्वदेश फिरिसकेका छन् ।
 
घर फिर्नेमध्येमा जोहोर, पेनाङ, मलक्का र काजाङस्थित जेलबाट सजाय भोगिसकेकाहरू बढी छन् । तीबाहेक इपो, सेलांगर र केलान्तानलगायत जेलमा रहेकाहरू पनि छन् । दूतावासका अनुसार अघिल्ला वर्षहरूको तुलनामा पछिल्लो समय जेल परी र्फकनेको संख्या बढ्दो छ । गत वर्ष जेलमा रहेका १ हजार ४ सय ५३ नेपालीले दूतावासबाट घर फिर्नका लागि एकतर्फी यात्रा अनुमतिपत्र लिएका थिए । यस वर्षको डेढ महिनामा जेलमा रहेका ५ सय ६ ले घरफिर्तीका लागि (निःशुल्क यात्रा अनुमतिपत्र) लिइसकेको दूतावासले जनायो । तीमध्ये अधिकांश स्वदेश फिरिसकेका र केही अझै पनि हवाई टिकट अभावले घरफिर्ती केन्द्रमै छन् ।
 
जेल पर्नेमध्ये अधिकांश वैदेशिक रोजगारीका लागि आउनेहरू छन् । सामान्य झैंझगडादेखि हत्यासम्मका आपराधिक गतिविधिमा लागेको अभियोगमा नेपालीहरू जेल पर्ने गरेका छन् । दूतावासका अनुसार गम्भीर अभियोगमा जेल पर्ने नेपालीहरू भने कमै छन् ।
 
कतिपय नेपाली भाषाको अज्ञानताका कारण पनि अन्जानमा फसेर जेल पर्ने गरेका घटना पनि छ । साथीभाइको लहैलहैमा लागेर गलत काममा लाग्दा जेल पर्नेहरू पनि भेटिएका छन् । अरू केही भने अर्कैको राहदानी प्रयोग गरेर आएको, कागजात किर्ते गरेको, गैरकानुनी हैसियतमा बसेको र गैरकानुनी तबरले काम गरेकोजस्ता अभियोगमा जेल पर्ने गरेका छन् ।
 
श्रम सहचारी अमलकिरण ढकालले भने, 'भाषागत समस्या, कुलतमा लागेका साथीभाइको लहैलहै, कानुनी अज्ञानता, चोरीडकैती, लागूऔषध दुव्र्यसन नै पक्राउ पर्नुका प्रमुख कारण हुन् ।' जानकारहरूका बुझाइमा नेपालबाट वैदेशिक रोजगारीमा जाने नेपालीलाई स्वदेशमै उनीहरूले गर्नुपर्ने कामको अलावा गन्तव्य मुलुकको भाषा, कानुन तथा कारबाहीबारे आधारभूत जानकारी दिन तामिलको व्यवस्था गर्नुपर्छ । त्यसो गरिएमा जेल पर्ने नेपालीको संख्यामा न्यूनीकरण गर्न सकिन्छ ।
 
विभिन्न अभियोगमा जेल सजाय भुक्तानी भइसकेकालाई घरफिर्ती केन्द्र (डिपोर्टेसन सेन्टर) मा सार्ने गरिन्छ । दूतावासले त्यस्ता केन्द्रमा रहेका नेपालीको संख्याबारे सम्बन्धित मलेसियाली निकायसित जानकारी मागिएको तर प्राप्त भइनसकेको जनायो ।  
 
घर फिर्ती केन्द्रमा पठाइएपछि उनीहरूका लागि एकतर्फी यात्रा अनुमतिपत्र लिन सम्बन्धित केन्द्रका कर्मचारी नेपाली दूतावास आउने गर्छन् । त्यस्तो पत्र दूतावासले निःशुल्क जारी गर्दै आएको छ । तीन महिनाको म्याद हुने उक्त पत्र पाएपछि जेल सजाय भुक्तानी गरिसकेका नेपाली आफ्नै खर्चमा हवाई टिकट लिएर घर र्फकन सक्छन् । उक्त पत्र लिएको ३ महिनाभित्र पनि हवाई टिकट नपाएर कतिपय फिर्तीकेन्द्रमै अडिनु परिरहेको छ । दूतावासले त्यस्ता समस्यामा पर्ने नेपालीका लागि यात्रा अनुमतिपत्र नवीकरण गरिदिने गरेको छ ।
 
दूतावासकै एक अधिकारीका अनुसार यात्रा अनुमतिपत्र प्राप्त गरेपछि आफन्तले पनि सोझै घरफिर्ती केन्द्रसम्म पुर्‍याउन सक्ने भएकाले कति नेपाली जेल तथा केन्द्रमा छन् भन्ने ठोस तथ्यांक पाउन गाह्रो छ । 'निःशुल्क यात्रा अनुमतिपत्र लिइसकेपछि घरफिर्ती हवाई टिकट आफन्त र साथीभाइले सोझै केन्द्रमा बुझाउन र फर्काउन सक्ने भएकाले ठोस तथ्यांक पाउन गाह्रो छ,' ती अधिकारीले भने ।
 
केही महिनाअघि दूतावासका अधिकारीहरूले जेलहरूको स्थलगत भ्रमणसमेत गएका थिए । तर मलेसियाली सम्बद्ध निकायबाट अनुमति लिएर जानुपर्ने भएकाले दूतावासका अधिकारी सबैजसो जेलमा रहेका नेपालीसम्म पुग्न सकेका छैनन् । जेलमा रहेका नेपालीको उद्धार र उनीहरूको अवस्था बुझ्न छिटै थप जेल भ्रमणमा जाने तयारी भइरहेको राजदूत निरञ्जनसिंह बस्न्यातले बताए ।
 
'अब छिटै हामी सम्बन्धित निकायसितको अनुमति पाएपछि भ्रमणमा जान्छौं,' उनले भने, 'यता कार्यालयको नियमित कामको चापले जान भ्याइएको छैन । सम्भवतः अर्को साता हामी यहाँको लिंगिङ जेल भ्रमणमा जान्छौं ।' उनले त्यसपछि अन्य जेलमा समय मिलाएर जाने बताए । लिंगिङ जेलमा धेरै नेपाली रहेको दूतावास स्रोतले बतायो ।
 
Published on: 19 February 2014 | Kantipur

Back to list

;