s

मलेसियाको भिसा शुल्क बढाउन करमाथि कर

गोपाल साउद
 
भिएलएनले मलेसियाको भिसा शुल्कमा पहिल्यै भ्याट लिँदै आएकोमा करबापत भन्दै थप १३ प्रतिशत थोपर्‍यो 
 
मलेसियाका लागि भिसा प्रोसेसिङको काम गर्दै आएको मलेसिया भिएलएन नेपालले मलेसिया जाने नेपालीहरूको भिसा शुल्क बढाउन करमाथि कर थोपरेको छ । आन्तरिक राजस्व विभागको पत्रको आफूखुसी व्याख्या गर्दै एजेन्ट कम्पनी भिएलएनले यसअघि तिर्दै आएको मूल्य अभिवृद्धि करमाथि पुनः १३ प्रतिशत कर थप्दै भिसा शुल्क बढाएको हो ।
 
ठूला करदाता कार्यालयका अनुसार भिएलएन नेपालले ०७० सालमा स्थापना भएदेखि नै सरकारलाई मूल्य अभिवृद्धि कर (भ्याट) तिर्दै आएको छ । भिसा प्रोसेसिङको कार्यमा भ्याट नलाग्ने जिकिर गर्दै १७ माघ ०७३ मा उक्त कम्पनीले आन्तरिक राजस्व विभागमा निवेदन दिएको थियो । ११ साउनमा विभागले सोही निवेदनको जवाफ दिँदै ‘मलेसियन दूतावासले लिने रकमबाहेक कम्पनीले लिने सबै प्रकारका सेवा शुल्कमा भ्याट लाग्ने’ जानकारी गराएको थियो । तर, भिएलएन नेपालले भने विभागको सो निर्णयलाई विद्यमान भिसा शुल्कमा भ्याट थप गरेर लिन स्वीकृति दिएको भन्ने व्याख्या गर्दै गएको भदौ मसान्तदेखि थप १३ प्रतिशतका दरले ७ सय ८० रुपैयाँ शुल्क बढाएको छ ।
 
दूतावासले मलेसिया जाने नेपालीहरूबाट भिसा शुल्कस्वरूप ७ सय रुपैयाँ मात्र पाउँछ । त्यससँगै भिसा प्रोसेसका नाममा ३२ सय रुपैयाँ र राहदानी संकलनका नाममा २८ सय रुपैयाँ गरी भिएलएनले प्रतिव्यक्ति ६ हजार ७ सय रुपैयाँ उठाउँदै आएको थियो । यसरी नेपाली नागरिकबाट चर्को रूपमा असुलिएको रकम मलेसियाको निजी कम्पनी अल्ट्रा किराना र सोही कम्पनीको स्थानीय एजेन्ट भिएलएनले बाँडीचुँडी खाने गरेका छन् ।
 
एजेन्ट कम्पनी भिएलएन नेपालले मलेसियन दूतावासको निर्णयअनुसार नै आफूले भिसा शुल्क लिने गरेको बताउँदै आएको छ । ‘यसअघि भिसा प्रोसेसिङमा भ्याट लाग्ने वा नलाग्ने भन्नेमा प्रस्ट नहुँदा हामीले भ्याटको रकम आफैँ तिर्दै आएका थियौँ,’ भिएलएनका सञ्चालक रामप्रसाद श्रेष्ठले भने, ‘राजस्व कार्यालयले भ्याट लाग्ने भन्दै पत्र पठाएपछि त्यसैअनुसार भिसा शुल्क बढाइएको हो ।’
 
कम्पनीले स्थापनाकालदेखि नै ठूला करदाता कार्यालयमा भ्याटबापतको रकम भने बुझाउँदै आएको देखिन्छ । ठूला करदाता कार्यालयका अनुसार उसले असार ०७० देखि भदौ मसान्तसम्म करिब १२ करोड रुपैयाँ भ्याटबापत सरकारलाई बुझाएको छ ।
 
भिएलएनले शुल्क बढाएपछि हाल मलेसिया जाने नेपालीको भिसा शुल्क ७ हजार ४ सय ८० रुपैयाँ पुगेको छ । यद्यपि, मलेसियाको अध्यागमन विभागका अनुसार नेपाली नागरिकहरूका लागि भिसा शुल्क २० मलेसियन रिंगिट अर्थात् करिब ५ सय रुपैयाँ मात्र तोकिएको छ । त्यसैअनुसार असोज ०७० सम्म नेपाली नागरिकले मलेसिया जाँदा भिसाबापत ७ सय रुपैयाँ तिरे पुग्थ्यो । तर, दलाल कम्पनी भिएलएन नेपाल भिसा प्रोसेसिङको कार्यमा संलग्न भएलगत्तै १ कात्तिक, ०७० देखि ७ सयबाट ३९ सय पुर्‍याइएको भिसा शुल्क गत आर्थिक वर्षको भदौ २७ देखि पुनः वृद्धि गरेर ६ हजार ७ सय रुपैयाँ कायम गरिएको थियो । तर, मलेसियाको अध्यागमन विभागले शुल्क वृद्धि गरिएको विषय हालसम्म पुष्टि गरेको भने छैन ।
 
भिएलएनले सन् २०१३ देखि नेपालमा मलेसियन दूतावासमा भिसा काउन्टर खोली एकल बिन्दु सेवा केन्द्र (ओएसओ)समेत सञ्चालन गर्दै आएको छ । उसले मलेसियन राजदूतावासले संकलन गरेका नेपाली पासपोर्टहरूको डाटा इन्ट्रीको काम गर्दै आएको छ । भिएलएनले नेपाली कामदारहरूबाट चर्को रकम असुल्दै आएको विषय यसअघि नै संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा प्रवेश गरेको थियो । समितिले कानुनविपरीत सञ्चालनमा रहेको भिएलएन नेपाललाई कारबाही गर्न सरकारलाई पटक–पटक निर्देशनसमेत दिएको थियो । उच्च तहको संरक्षण रहेकाले मलेसिया जाने नेपालीहरूबाट भिसा शुल्कका नाममा चर्को रकम असुल्ने कार्य रोकिन नसकेको एक पूर्वसांसदले बताए ।
 
मलेसिया सरकारले तोकिदिएअनुसारको शुल्क मात्र आफ्नो कम्पनीले उठाइरहेको भिएलएन नेपालका सञ्चालक श्रेष्ठ बताउँछन् । ‘भिसा शुल्क कति लिने भन्ने विषयमा हाम्रो कुनै पनि भूमिका छैन,’ उनले भने, ‘दूतावास तथा मलेसिया सरकारले तय गरिदिएअनुसारको रकम हामीले संकलन मात्र गरेका हौँ । भिसाबापतको ७ सय रुपैयाँ दूतावासले पाउने र बाँकी ६ हजार रुपैयाँ तेस्रो पक्षले उठाउनु पछाडिको कारण पनि हामीलाई थाहा हुने विषय होइन ।’ नेपालका लागि मलेसियाली राजदूत अहमद फादिल स्माइलीले भ्याट शुल्क उठाउन नेपाल सरकारले नै स्वीकृति दिएको अर्थमा आफूले बुझेको बताए ।
 
Published on: 29 October 2017 | Naya Patrika

Back to list

;