s

मलेसियाको अस्पतालबाट श्रीमानको उद्धार गरिदिन आग्रह

ज्ञानु पंगेनी

करिब तीन बर्षअघि मलेसिया पुगेका कावासोती नगरपालिका–१६ का चिन्तामणि थनेत अहिले मलेसियाको अस्पतामामा मृत्युसँग लडिरहेका छन् । उनलाई के भएको भन्ने परिवारलाई जानकारी छैन । उनको उद्धार गरिदिन श्रीमती लीला थनेतले आग्रह गरेकी छिन् । सेक्युरिटी गार्डको काम गर्नका लागि मलेसिया पुगेका ३८ वर्षीय चिन्तामणि डेढ वर्षदेखि सम्पर्कमा नभएको लीलाले बताइन्।

‘डेढ वर्षदेखि फोन पनि आएन, पैसा पनि आएन, गत पुसमा एक्कासि अस्पतालबाट पैसा पठाउनु भनेर फोन आयो,’ थनेतले भनिन् । मलेसिया गएको १४ महिनासम्म उनले लगातार पैसा पठाउने र सम्पर्क गर्ने गरिरहेका थिए । डेढ वर्षदेखि सम्पर्कमा नआएपछि गएका साथीलाई खबर गरेको उनले बताइन् । तर, उनी फेला परेका थिएनन् । गत शनिबार उनी बितेको आफन्तले सुनाएका थिए । तर, अस्पतालमा सकुशल रहेको आफूले जानकारी पाएको लीलाले बताइन् ।
 
‘गत शनिबार एक्कासी तपाईंको श्रीमान् बित्नुभयो भनेर आफन्तले सुनाए,’ लीलादेवीले आँखाभरि आँसु बनाउँदै भनिन्, ‘म एक्कासी छागाबाट खसेजस्तो भएँ, पुनः दिदीका साथीमार्फत अस्पतालमा बुझ्न पठाउँदा त्यस्तो होइनरहेछ ।’
 
अस्पतालले त्यहाँ भएका आफन्तलाई थप केही जानकारी नदिएको उनको भनाइ छ । आफन्तले पठाएको फोटोमा भने शरीरभरि चोटैचोट देखेको उनले बताइन् ।
 
चिन्तामणि थनेतको आफ्नो कुनै पनि पासपोर्टसहित अन्य कागजात नभएको जानकारी आएको दिदी बिन्दु थनेतले बताइन् । कागजात नभएकाले उनलाई अस्पतालमा पनि अर्कै नाममा भर्ना गरिएकाले अझ समस्या भएको बिन्दुको भनाइ छ ।
 
सुरुमा मलेसियामा रहेका सुन्दर श्रेष्ठले परिवारलाई उनी अस्पतालमा भएको जानकारी दिएका थिए । उनलाई बेवारिसे अवस्थामा अस्पताल पु-याइएको थियो । ‘तर, के भएको हो, कहिले नेपाल पठाउने हो, केही थाहा छैन,’ बिन्दुले भनिन् ।
 
यता सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रकी परामर्शदाता रञ्जना लम्सालका अनुसार चिन्तामणि थनेत अस्पतालमा उपचाररत रहेको भन्ने जाकारी आएको र स्वास्थ्यमा केही सुधार भएपछि नेपाल ल्याउने प्रक्रिया थाल्ने बताइन् ।
 
‘दूतावाससँग पनि समन्वय गरिरहेका छौँ, अस्पतालबाट दूतावाससम्म ल्याउनसके ट्राभल डकुमेन्ट बनाएर नेपाल ल्याउने काम हुन्छ,’ लम्सालले भनिन् ।
 
चिन्तामणि थनेतलाई उपचार खर्च तिर्न र नेपाल झिकाउनका लागि उनले अध्यन गरेका जनता मावि त्रिभुवनटारका भूपू विद्यार्थीले आर्थिक संकलन गरेका छन् ।
 
भूपू विद्यार्थी मिलन केन्द्र जनता मावि त्रिभुवनटार कावासोतीमा आबद्ध भूपू विद्यार्थीले थनेतको ज्यान बचाउनका लागि र नेपाल झिकाउन ५५ हजार रुपैयाँ संकल गरी शनिबार परिवारलाई हस्तान्तरण गरेका छन् ।
 
Published on: 18 February 2018 | Naya Patrika

Back to list

;