s

मलेसियाका लागि स्वास्थ्य परीक्षण संस्था छान्न आइतबारदेखि अनुगमन

तुलसी सुवेदी
 
मलेसिया रोजगारीमा जानेको स्वास्थ्य परीक्षण गर्न इच्छुक स्वास्थ्य संस्थाको आइतबारदेखि अनुगमन हुने भएको छ। २९० स्वास्थ्य संस्थाहरू इच्छुक देखिए पनि अनुगमन तथा निरीक्षणपश्चात मापदण्ड पुगेका स्वास्थ्य संस्थामात्रै छनोट हुने छन्।
 
मलेसियाले पठाएको मापदण्डका आधारमा नयाँ स्वास्थ्य संस्था छनोट गर्न लागिएको हो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चार टोली बनाएर इच्छुक स्वास्थ्य संस्थाको छनोट गर्ने छ। उपत्यकाका साथै बाहिरका केही ठूला अस्पताल तथा मेडिकल कलेज समेत मलेसियाको स्वास्थ्य परीक्षण गर्न इच्छुक देखिएका छन्। मन्त्रालयको विशेषज्ञ समितिको सचिवालयले सूचना जारी गरी प्राविधिक समेतको टोलीलाई आवयक विवरण दिएर सहयोग गर्न आह्वान गरेको छ।
 
स्वास्थ्य संस्था निरीक्षणका लागि तीनवटा टोली उपत्यकाबाहिर खटिने भएको छ। एक टोलीले उपत्यकाभित्रका स्वास्थ्य संस्थाको निरीक्षण गर्ने छ। मन्त्रालयले मलेसियामा मात्र नभई विदेश जाने कामदारको स्वास्थ्य परीक्षण गर्न इच्छुक स्वास्थ्य संस्थाको निरीक्षण गर्ने छ।
 
टोलीमा तीन जना स्वास्थ्य प्राविधिक र एक जना मन्त्रालयका अधिकृत रहने छन्। मन्त्रालयले नयाँ संस्थाको विशेष अनुगमन गर्ने भएको हो।मन्त्रालयले मलेसिया स्वस्थ्य परीक्षणका लागि मापदण्ड सहित आवेदन दिन चैत्र २३ गते सम्पूर्ण स्वास्थ्य संस्थासँग आवेदन मागेको थियो। मन्त्रालयका अनुसार पहिले सुचीकृत भएका २२६ वटा  र थप १२६ वटा स्वास्थ्य संस्थाले समेत मलेसिया रोजगारीका लागि स्वास्थ्य परीक्षण गर्न रुची देखाएका छन्।
 
श्रम मन्त्रालयका अनुसार विभिन्न देशमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने ३५२ स्वास्थ्य संस्था इच्छुक देखिएका छन्। तर मलेसिया रोजगारीका लागि २९० वटा स्वास्थ्य संस्था इच्छुक छन्। यसअघि मलेसियामा ३७ वटा स्वास्थ्य संस्थाले मात्रै स्वास्थ्य परीक्षण गर्दै आएका थिए। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले मलेसिया रोजगारीका नाममा ठगी गर्ने बायोमेट्रिक, भीएलएन, माइग्राम, आईएससी, ओएससीजस्ता संस्थालाई कारवाही गरेपछि जेठदेखि मलेसिया रोजगार बन्द छ। कात्तिक १२ गते मलेसियासँग ऐतिहासिक श्रम सम्झौता भए पनि प्रक्रियाका सम्बन्धमा अस्पष्टता कायमै रहेका कारण रोजगारी खुल्न सकेको छैन।
 
Published on: 21 April 2019 | Annapurna Post

Back to list

;