s

मलेसियाका कामदार फर्कन पाएनन्

होम कार्की

मलेसियाका रोजगारदाता कम्पनीले कामदार अभाव भन्दै करार अवधि सकिएका नेपाली कामदारलाई घर फर्कन दिएका छैनन् । उनीहरूले कामदारलाई घरबिदासमेत दिन मानेका छैनन् ।  प्रमुख स्रोत देश नेपालबाट मलेसियाले नयाँ कामदार जान नपाएको एक वर्ष भएको छ । नेपाल सरकारले गतवर्ष जेठ २ देखि मलेसिया जान श्रम स्वीकृति दिएको छैन । कामदार अभाव हुन थालेपछि कम्पनीले बिना जानकारी एक वर्षको भिसा थपेर राख्ने गरेको छ । मलेसिया जाने कामदारको करार अवधि तीन वर्षको हुन्छ । ‘घर फिर्न र बिदामा जान नपाएको भनेर कम्पनीविरुद्ध उजुरी दिन नेपाली कामदार आइरहेका छन्,’ मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले फोनमा भने, ‘रोजगारदाताहरू कामदार अभाव भएको बताइरहेछन् ।’ दूतावासले घर नपठाउने कम्पनीलाई कारबाही गर्न मलेसियाको अध्यागमन विभागलाई अनुरोध गरिरहेको पाण्डेले जानकारी दिए ।

‘घर नपठाउने र बिदा नदिने कम्पनीसँग दूतावासले नै कुरा गरिदिने गरेका छौं । दूतावासको अनुरोधलाई अटेर गरे अध्यागमनका अधिकारीलाई भन्छौं,’ उनले भने, ‘त्यस्ता कम्पनीमाथि कारबाही भइरहेको छ ।’ सुरक्षा कम्पनीमा कार्यरत कामदार बढी मारमा परेका छन् । मलेसियामा तीन लाख ५४ हजार नेपाली कामदारमध्ये ४० हजार सुरक्षागार्ड छन् । मलेसियाले नेपालबाट मात्रै सुरक्षागार्ड लिन्छ । ‘कम्पनीले हामी ९ जनालाई पठाएको छैन, हाम्रो करार अवधि सकिएको एक वर्ष नाघिसक्यो,’ पाल्पाका खेमबहादुर राणाले भने, ‘दूतावासले पनि पहल गरिरहेको छ, तर सफल भएको छैन । कम्पनीले सधैं आजभोलि भइहाल्ने भन्दै आएको छ ।’ राणाको समूहमा दया गिरी, श्यामप्रसाद राई, रमेश बस्नेत, योसिङ तामाङ, राजकुमार कार्की, हेमबहादुर सुवेदी, पुष्कर सिंह र राजकुमार तामाङ छन् ।

स्वास्थ्य संस्था छनोट अल्झियो

नेपाल र मलेसियाबीच भएको श्रम सम्झौता ७ महिना बितिसक्दा पनि कार्यान्वयन हुन सकेको छैन । यसको मुख्य कारण स्वास्थ्य परीक्षण गर्ने संस्था छनोट नहुनु हो । यसअघि ३७ वटा मेडिकलले कामदारको स्वास्थ्य परीक्षण गर्ने अधिकार पाएका थिए । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मापदण्ड पुगेका सबैले पाउनुपर्ने अडान राखेको छ । ‘नेपालका तर्फबाट रोकिएको होइन, मलेसियाकै कारण रोकिएको हो,’ श्रम मन्त्रालयका एक अधिकारीले भने, ‘जुन दिन मलेसियाले मेडिकल छनोटका लागि अनुगमन गर्न पठाउँछ । त्यसको साता दिनमै सबै टुंगो लाग्छ ।’

मलेसियाले मेडिकल परीक्षण कार्यविधि पठाएपछि श्रम मन्त्रालयले इच्छुक मेडिकल संस्थालाई सहभागी हुन सूचना आहवान गरेको थियो । त्यसअनुसार थप ४७ वटा मेडिकल संस्थाले मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्न इच्छा देखाएका छन् । त्यसमा ठूला अस्पतालसमेत छन् । ‘नेपाल सरकारका तर्फबाट ती सबै मेडिकल संस्थाको अनुगमन भइसकेको छ, अनुगमन टोलीले प्रतिवेदन बनाइरहेको छ,’ मन्त्रालयका ती अधिकारीले भने, ‘नेपालका तर्फबाट लगभग सबै काम सकिएको छ ।’ गत अप्रिल ८ मा काठमाडौंस्थित मलेसिया दूतावासले पहिले नै छनोट गरिएका संस्थाको सूची नेपाल सरकारलाई पठाएको थियो । नेपाल भने मापदण्ड पुगेका सबैले स्वास्थ्य परीक्षण गर्न पाउनुपर्ने अडानमा छ । राजदूत पाण्डेले नयाँ स्वास्थ्य संस्था छनोटका लागि टोली पठाउन मलेसिया सरकारलाई ताकेता गरिरहेको बताए । ‘यस विषयमा छलफल गर्न मैले मलेसियाको मानव संसाधन मन्त्रीको समयसमेत मागेको छु,’ उनले भने ।

Published on: 14 May 2019 | Kantipur

Back to list

;