s

मलेसियाका गृहमन्त्री इजमाइल आज नेपाल आउँदै : कामदारको उच्च पारिश्रमिक र सामाजिक सुरक्षाका लागि नेपालले प्रस्ताव गर्ने

मलेसियन गृहमन्त्री फुद्दिन नासुसन इजमाइल आज राति नेपाल आउँदै छन् । गृहमन्त्री इजमाइल १५ सदस्यीय उच्चस्तरीय टोलीसहित आफ्नै निजी विशेष विमानमार्फत नेपाली समय बेलुका ८ देखि १० बजेभित्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ ।

गृहमन्त्री इजमाइल र प्रधानमन्त्री पुष्पकमल दाहालबीच शुक्रबार शिष्टाचार भेट हुनेछ । त्यस्तै, गृहमन्त्रीको टोलीले गृह मन्त्रालय र श्रम मन्त्रालयका टोलीसँग पनि भेट गर्नेछ । मलेसियन गृहमन्त्रीसहितको टोली र श्रम मन्त्रालयको मन्त्रीसहितको टोलीबीच शुक्रबार ‘लन्च मिटिङ’ हुने भएको छ । लगत्तै प्रधानमन्त्रीसँग भेटवार्ता हुनेछ । शनिबार मलेसियन गृहमन्त्री इजमाइल बंगलादेश जाने भएका छन् ।

मलेसियन सरकारले हालै कामदार सहज भर्ना प्रक्रिया र पुनः क्यालिब्रेसन कार्यक्रम सञ्चालनमा ल्याएको छ । सोही कार्यक्रमका विषयमा जानकारी दिन मलेसियन गृहमन्त्रीसहितको टोली नेपाल आउन लागेको मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले बताए । उनका अनुसार मलेसियाको आप्रवासी स्रोत मुलुकमध्ये नेपाल पनि एक हो । त्यसैले मलेसियन सरकारले सो कार्यक्रममार्फत कामदार व्यवस्थापनबारे विस्तृत जानकारी लिने पौडेलले बताए ।

मलेसियन सरकारले कामदार सहज भर्ना प्रक्रिया कार्यक्रममार्फत आप्रवासी कामदारको सहज भर्ना, उचित पारिश्रमिक र सामाजिक सुरक्षाको विषयमा उचित व्यवस्थापन गर्ने तयारी गरेको छ । त्यस्तै, पुनः क्यालिब्रेसन कार्यक्रमअन्तर्गत मलेसियामा गैरकानुनी रूपमा रहँदै आएका नेपाली कामदारलाई पुनः वैधानिक हुने अवसर प्रदान गर्नेछ । यसो हुँदा उनीहरूले वैधानिक कामदारसरह पारिश्रमिक तथा सेवा–सुविधा पाउनेछन् ।

उच्च पारिश्रमिक र सामाजिक सुरक्षा श्रम मन्त्रालयको प्रस्ताव

मलेसियन गृहमन्त्री इजमाइलसँगको भेटमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली कामदारका लागि उच्च पारिश्रमिक तथा सामाजिक सुरक्षाको विषयलाई उठान गर्ने भएको छ । श्रम मन्त्रालयका प्रवक्ता डुण्डुराज घिमिरेका अनुसार मन्त्रालयले नेपाली कामदारलाई उच्च पारिश्रमिक प्रदान गर्न माग गर्ने भएको छ ।

उनका अनुसार मलेसियन सरकारले गत वर्ष आप्रवासी कामदारको न्यूनतम पारिश्रमिक वृद्धि गरी १२०० बाट १५०० मलेसियन रिंगेट पु¥याएको छ । तर, अन्तर्राष्ट्रिय श्रम सम्मेलनअनुसार सो पारिश्रमिक भने पर्याप्त नभएको उनले बताए । आप्रवासी कामदारले पनि स्थानीय कामदारसरह नै पारिश्रमिक पाउनुपर्ने मागसहित मन्त्रालयले गृहमन्त्रीको टोलीसँग छलफल गर्नेछ ।

त्यस्तै, श्रम मन्त्रालयले सबै नेपाली कामदारको सामाजिक सुरक्षामा पहुँच हुनुपर्ने, श्रम स्वीकृति अवधि सकिएर बसेका कामदारलाई वैधानिकता प्रदान गर्ने र आर्मी तथा प्रहरीका रिटायर्डलाई उच्च प्राथमिकतामा राखी मलेसियाको सुरक्षा गार्डमा रोजगारी प्रदान गर्ने विषयमा मन्त्रालयले छलफल गर्नेछ ।

मलेसियामा करिब तीन लाख नेपाली कामदार रोजगारीमा छन् । मलेसियन नेपाली कामदारका लागि मुख्य र पुरानो गन्तव्य मुलुक हो । मलेसियाको उत्पादन, कृषि, सेवा, क्लिनिङ तथा सुरक्षा क्षेत्रमा नेपाली कामदार कार्यरत छन् । मलेसिया सरकारले गत वर्ष मात्रै कामदारको न्यूनतम पारिश्रमिक वृद्धि गरी १५०० मलेसियन रिंगेट पुर्‍याएको छ । यो रकम अन्य खाडी मुलुकको तुलनामा उत्कृष्ट हो ।

यद्यपि, कतिपय रोजगारदाताले कामदारलाई ओभरटाइम सुविधा, साप्ताहिक बिदा, स्वास्थ्य बिमा, सामाजिक सुरक्षा सुविधामा आनाकानी गर्दै आएका छन् । तसर्थ, नेपाली सरकारले मलेसियन गृहमन्त्री इजमाइलसँगको भेटमा यस विषयलाई उठान गर्न सक्ने मलेसियनका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले बताए । ‘अन्य मुलुकको तुलनामा मलेसियामा आप्रवासी कामदारलाई सामाजिक सुरक्षा पनि दिइएको छ । तर, जति दिइनुपर्ने त्यति आप्रवासी कामदारले पाएका छैनन् । त्यसैले यो भेटमा यस विषयलाई उठान गर्नु आवश्यक छ,’ उनले भने ।

मलेसियन सरकारले यो वर्ष १५ मुलुकबाट पाँच क्षेत्रका लागि पाँच लाख आप्रवासी कामदार भित्र्याउने योजना बनाएको छ । त्यहाँको सरकारले लिएको नयाँ नीतिलाई नेपाली कामदारको हितको प्रयोग गर्ने नेपाली सरकारका लागि मलेसियन गृहमन्त्रीको भ्रमण नेपालका लागि महत्वपूर्ण हुन सक्ने नेपाल स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्काले बताए । त्यसैले नेपाल सरकारले उच्च प्राथमिकता दिएर नेपाली कामदारको हितमा वार्ता गर्नुपर्ने उनको सुझाव छ ।

उनका अनुसार मलेसियन टोलीले नेपालसँग घरेलु कामदारको पनि माग गर्न सक्ने उनले बताए । त्यस्तै, कामदार भर्ना प्रक्रिया सहज बनाउन माग गर्न सक्ने उनको अनुमान छ ।

पाँच लाख आप्रवासी कामदार भित्र्याउँदै मलेसियन सरकार

मलेसियन सरकारले यसै वर्ष पाँच लाख आप्रवासी कामदार भित्र्याउने भएको छ । कोभिड संक्रमणपछि मलेसियाको आर्थिक गतिविधि बढ्दै गएको छ । बढ्दै गएको आर्थिक गतिविधिलाई मध्यनजर गर्दै मलेसिया सरकारले पाँच लाख कामदारको आवश्यकता पर्ने अनुमान गरेको हो ।

सोहीअनुसार मलेसियन सरकारले यो वर्ष पाँच लाख कामदार भित्र्याउने घोषणा गरेको हो । मलेसियाका लागि नेपाली राजदूत पौडेलले बताए । उनका अनुसार मलेसिया सरकारले आवश्यक परेमा अन्य थप कामदार पनि भित्र्याउने नीति लिएको छ ।

मलेसियाले उत्पादन, निर्माण, कृषि, सेवा र सुरक्षा क्षेत्रमा आप्रवासी कामदार भित्र्याउने भएको छ । विश्वका विभिन्न १५ वटा मुलुकबाट आप्रवासी कामदार भित्र्याउने मलेसियन सरकारको योजना रहेको छ । मलेसियाले बंगलादेश, भारत, श्रीलंका, फिलिपिन्सलगायतका मुलुकबाट कामदार भित्र्याउँदै आएको छ ।

मलेसियाका लागि नेपाली राजदूत पौडेलका अनुसार मलेसियन सरकारले आप्रवासी कामदारलाई समान व्यवहार गर्दै आएको छ । स्थानीय कामदार र आप्रवासी कामदारलाई दिने पारिश्रमिक र अन्य सेवा–सुविधा समान रहेको उनले बताए । तर, नेपाल सरकारले बढी लाभ कसरी लिन सकिन्छ भन्ने विषयमा कुरा गर्नुपर्ने बताए । नेपाल र मलेसियन सरकारबीच सन् २०१८ मा शून्य लागतमा कामदार लैजाने सम्झौता भएको थियो ।

Published on: 2 February 2023 | Naya Patrika

Link

Back to list

;