s

मलेसियाका गैरकानुनी नेपालीलाई घर र्फकन समस्या

रामचन्द्र गिरी

मलेसियाले पक्राउ परेका विदेशी कामदारलाई स्वदेश पठाउन सीमित संख्या तोकेपछि तत्काल घरफिर्तीको आसमा बसेका नेपाली समस्यामा परेका छन् । उसले हरेक साता गैरकानुनी हैसियतका सय नेपालीलाई मात्र घर र्फकन 'आउटपास' दिने गरेको छ ।

यहाँस्थित नेपाली दूतावासका अनुसार ६ हजारभन्दा बढी नेपाली घर र्फकने पर्खाइमा छन् । तर प्रक्रियाअनुसार उनीहरू सबैलाई घर फर्काउन लामो समय लाग्ने देखिएको छ । 'सबैलाई यही प्रक्रियाबाट फर्काउन २/३ वर्षै लाग्ने देखियो,' राजदूत निरञ्जनमानसिंह बस्न्यातले भने, 'त्यसैले उनीहरूलाई कसरी छिटो पठाउन सकिन्छ भनेर विकल्पबारे छलफल गरिरहेका छौं ।' दूतावासका अनुसार सेप्टेम्बरयता करिब ८ हजार नेपालीले घरफिर्ती यात्रा अनुमतिपत्र लिएकोमा १ हजार ५ सय जति फर्किसकेका छन् ।

घरफिर्तीका लागि लामो समय पर्खनुपर्दा कामदारहरू आर्थिक समस्यामा समेत पर्न थालेका छन् । यसअघि नेपाली दूतावासले मलेसियाली अध्यागमनको अनुमति एवं सहकार्यमा हरेक साता ८० जना गैरकानुनी रूपमा बसेका नेपालीलाई घर फर्काउँदै आएको थियो । दूतावासको पहलपछि अध्यागमनले उक्त संख्या बढाएर सय जना पुर्‍याएको हो ।

अध्यागमनले मंगलबार र बिहीबार गैरकानुनी हैसियतका नेपालीहरूलाई घरफिर्तीको अनुमति दिने गरेको छ । नेपाली दूतावासबाट यात्रा अनुमतिपत्र लिएर अध्यागमनमा ५ सय रिंगिट जरिवाना तिरेपछि उनीहरूले 'आउटपास' पाउने गरेका छन् । उनीहरूले हवाई टिकट आफैंले किन्नुपर्छ ।

घरफिर्ती प्रक्रियाबाहेक केही कामदार दलालमार्फत 'सेटिङ' मा जाँदा विमानस्थलमै पक्राउ पर्ने गरेका समेत छन् । केही कामदार यात्रा अनुमति पत्रको म्याद सकिन लाग्दा पनि घर पर्खने पालो आएको छैन । 'यात्रा अनुमतिपत्रको म्याद ११ फेब्रुवरीमा सकिँदैछ । घर र्फकन पालो पर्खनुपर्ने भनिएको छ,' घरफिर्ती पर्खाइमा रहेका एक नेपाली भविन खत्रीले सुनाए, 'मजस्ता हजारौं छन् रे । तर बिरामी छु, पालो कहिले हो कहिले ? समस्यामा परियो ।'

मलेसियाले १४ देशबाट कामदार लिँदै आएको छ । उसले देशअनुसार गैरकानुनी कामदारको संख्याका आधारमा उनीहरूलाई पालैपालो घर फर्काउँदै आएको छ । यहाँको प्रमुख कामदार स्रोत मुलुक नेपाल हो । पछिल्लो समय नेपालबाट आउनेको संख्या ह्वात्तै बढेको देखिन्छ । कानुनी रूपमा यहाँ करिब ५ लाखभन्दा बढी नेपाली छन् । गैरकानुनी हैसियतका नेपाली पनि दसौं हजार हुन सक्ने सरोकारवालाको अनुमान छ ।

यसैबीच हालै २ सय ३९ नेपाली पक्राउ परेका छन् । मलेसियाले दोस्रो पटक गत जनबरी २१ देखि धरपकड थालेको छ । यस चरणमा अहिलेसम्म नेपालीसहित ३ हजार ५ सय ५० जना आप्रवासी पक्राउ परेका छन् । पक्राउपर्ने आप्रवासीमध्ये १ हजार ४ सय इन्डोनेसियाली, ५ सय ३७ बर्मेली, ४ सय ५१ जना बंगलादेशी, २ सय ६४ जना फिलिपिनो र बाँकी अन्य मुलुकका छन् । सरकारले गत साता 'मिनी नेपाल' मानिने कोताराय बजारमा छापा मार्दा एक जना नेपाली रेस्टुरेन्ट व्यवसायी पक्राउ परेका छन् ।

Published on: 14 February 2014| Kantipur

 

Back to list

;