s

मलेसियाबाट फर्काएको छोरो रुसमा बिलायो

२ माघ, पोखरा । अघिल्लो रात काठमाडौंमा सँगै बसेर २ असोजमा छोरा साजनलाई मकाउका लागि बिदाइ गरेका श्रीमान गुरुङ त्यतिबेला पो छाँगाबाट खसेजस्तो भए, जब फेसबुकमा छोराको फोटो देखे ।

मकाउ जान्छु भनेपछि हार्न नसकेका उनले कात्तिकमा छोरालाई रुसी सैन्य पोशाकमा देखेका थिए ।

गुरुङ लमजुङको दूधपोखरी गाउँपालिका–१ मा निर्वाचित वडा सदस्य हुन् । उनले पछिल्लो समय नेपाली युवाहरु रुस पुगेर त्यहाँको भर्ती भइरहेको र उनीहरु फर्किन नसकेको खबर सुनिरहेका थिए । तर कृषि क्षेत्रमा राम्रो अवसर आएको छ भनेर मकाउ उडेका छोरा रुस पुग्ला भनेर कल्पना गरेका थिएनन् ।

उनी त मकाउ पठाउन पनि तयार थिएनन् । ‘मैले त बाउआमा र परिवारको साथमा गाउँमै बसेर केही गर भनेको थिएँ’, उनले अनलाइनखबरसँग भने, ‘कसैगरी नमानेपछि म आफैं काठमाडौं पुगें । बाउछोरा बस्यौं, भविष्यबारे धेरै कुरा गर्‍यौं ।’

१२ कक्षा पास गरेको, राजनीतिमा समेत चासो राख्ने छोराले बुझेरै गयो होला भन्ने लागेको थियो । तर एक महिनापछि सामाजिक सञ्जाल फेसबुकमा छोरालाई फौजी ड्रेसमा देखे । गुरुङ भन्छन्, ‘उसले मकाउ भनेर ढाँटेर पो गएछ !’

फौजी पोशाकमा छोरोको फोटो फेसबुकमा देखेपछि उनले म्यासेन्जरमा कल गरे । मकाउ जान्छु भनेर किन उता गएको भनेर प्रश्न गर्नुभन्दा जसरी हुन्छ त्यहाँबाट फर्केर आइज, जे गरे पनि यही गरौंला, खाउँला भनेर सम्झाए ।

उनले पहिले पनि छोरा साजनलाई मलेसियाबाट फर्काएका थिए । मलेसियामा काम दुःख छ भनेपछि जे पर्छ आइज भनेर फर्काएका बाबुले आग्रह गरेपछि साजन रुसबाट भागेर आउन पनि खोजेका थिए । ‘एकपटक भागेर आउन त बाबु भनेको थिएँ । ऊ पनि भागेकै हो, तर उतिबेलै समातेर लगिहाल्यो । त्यहीँबाट आउनै दिएन’, श्रीमानले छोरालाई फर्काउन खोजेको घटनाबारे सुनाए, ‘यहाँ पसेपछि निस्किन सम्भवै रहेनछ बा ! भन्थ्यो । निस्किने चान्सै रहेनछ ।’

छोरा साजनको मृत्यु भएको खबर सुनेपछि श्रीमान गुरुङलाई ठूलो चोट परेको छ ।

रुसी फौजमा रहेका लमजुङ भोटेओडारका एक जनाले साजनको मृत्यु भएको खबर ३ दिन अगाडि दिएका थिए । जर्मनीमा रहेका कान्छो छोराले पनि पक्का गरेपछि श्रीमानको परिवारले किरिया कर्म गरेको छ । गुरुङ संस्कारअनुसार ३ दिन किरिया कर्म गर्ने भएपनि उनको परिवारले एक दिनमै टुंग्याएको छ ।

साजनको मृत्यु भएको विश्वास नै नलागेको श्रीमान बताउँछन् । सरकारी निकायले पनि खबर गरेको छैन । ‘छोरो मरेको खबर आएपनि यकिन भएकै छैन । न दूतावासले भनेको छ, न विभागले’, उनले भने, ‘अझै पनि जिउँदै छ भन्ने लागिरहेको छ । अब वैदेशिक रोजगार विभाग जान्छु, प¥यो भने एम्बेसीमा पनि जानैपर्ला ।’

साजन कुन दलालमार्फत कसरी रुस गरे भन्ने सोधिखोजी गरेपनि पत्ता लगाउन नसकेको उनले बताए । उनले सरकारी संयन्त्रमार्फत आधिकारिक जानकारी आओस् भन्ने चाहेका छन् ।

‘पहिल्यै रुसी फौजमा जाने थाहा पाएको भए मैले कहाँ जान दिन्थेँ र ! मकाउ भनेर उता गइहाल्यो, जे नहुनु भयो’, उनको अनुनय छ, ‘राज्यका निकायले छोराको स्थिति पत्ता लगाइदिए हुन्थ्यो ।’

Published on: 17 January 2024 | Onlinekhabar

Link

Back to list

;