s

मलेसियाबाट २८ कामदार फर्किए

मलेसियास्थित घरफिर्ती केन्द्रमा हवाई टिकटको खर्च बेहोर्न नसकी अलपत्र परेका २८ जना नेपालीलाई त्यहाँस्थित नेपाली दूतावासले उद्धार गरी स्वदेश फर्काएको छ। लामो समयदेखि अलपत्र परेका उनीहरुलाई सोमबार फर्काइएको हो ।
 
दूतावासका अनुसार उद्धार गरी नेपाल फर्काइएकामा पर्सा निर्मल वस्ती–५ का शंखलाल गोले, धनुषा पुष्पलालपुर–३ का मणिराम बेगनासी, सर्लाही कानिजौर–१ का संजयकुमार नेपाली, धनकुटा भेडेटार–४ का सनम लिम्बु, सुनसरी बक्लौर–८ का दिपेश लिम्बु, सुनसरी धरान–१७ का राजकुमार राई, कपिलवस्तुका सन्तोष अधिकारी, रौतहटका मुकेश राय यादव, सिन्धुली कमलामाई–४ का मनोजकुमार नेपाली र काभ्रेका मानबहादुर तामाङ छन्।
 
त्यसैगरी ताप्लेजुङका कड्क लिम्बु, काठमाडौं धुम्बाराहीका निकेश कार्की, खोटाङका विवश राई, काभ्रे, देउपुर–९, का मीनप्रसाद डोटेल, चितवनका सुदिप तामाङ, रुकुम विजेश्वरी ५ का संजय मल्ल, बाँकेका राजअली साई, सिराहाका जितनारायण यादव, गुल्मीका इन्द्रबहादुर सार्की, ताप्लेजुङका सन्चबहादुर लिम्बु, रुकुमका दिपेन्द्र कुमार भण्डारी, रोल्पाका गजेन्द्र घर्तीमगर, ओखलढुंगाका टेकबहादुर राप्छा, सुनसरीका गुलाब चौधरी, दाङका भरतबहादुर बुढा, झापाका बिदुर कार्की र मकवानपुरका सन्जिव बाज्यु छन्।
 
फिर्ता पठाइएका सबै सोमबारै काठमाडौं आइपुगेका छन्। रोजगारको सिलसिलामा मलेसियामा पुगेका नेपाली विविध कारणले अवैध हुने गर्छन् र यस्ता नेपालीलाई स्थानीय प्रहरीले प्रक्राउ गरी मुद्दा टुंगिएपछि घरफिर्ती केन्द्रहरुमा राख्छ। घरफिर्ती केन्द्रमा राख्नुअघि उनीहरुलाई जेलमा राखी मुद्दा अगाडि बढाइन्छ। परिवारले टिकट पठाउन सक्नेहरु मुद्दा टुंगिएलगत्तै फर्किने गर्छन् भने टिकट जोहो गर्न नसक्नेहरु घरफिर्ती केन्द्रमै रहने गर्छन्। यस्तालाई मलेसियामा रहेको नेपाली दूतावासले उद्धार गर्दै आएको छ। बर्सेनि दूतावासले सयौं यस्ता नेपालीलाई स्वदेश पठाउने गरेको छ। 
 
Published on: 20 June 2017 | Nagarik

Back to list

;