s

मलेसियाबाट १६७ नेपाली कामदारको उद्धार

होम कार्की

काठमाडौँ — मलेसियाको श्रम विभागले रोजगारदाताद्वारा काम नदिई गुणस्तरहीन आवासमा राखिएका नेपालीसहित २२६ जना कामदारलाई सोमबार उद्धार गरेको छ । जसमा एक सय ६७ जना नेपाली र ५९ जना बंगलादेशी कामदार रहेका छन् ।

श्रम विभागले स्टार डोमोन रिसोर्स कम्पनीले बन्दरबारु निलाईमा दयनीय अवस्थामा राखिएका कामदारलाई उद्धार गरेको हो ।

उद्धार गरी उनीहरुलाई सरकारी सुरक्षित गृहमा राखिएको छ । सोही होस्टलमा गत चैत २४ गते बिहान ९ बजे म्यानपावर व्यवसायी सोलुखुम्वुका ४७ वर्षीय रिन्जी राईलाई झुण्डिएको अवस्थामा भेटिएको थियो । राई आफूले पठाएका कामदारको समस्या समाधान गर्न मलेसिया पुगेका थिए । मलेसियाको टुआनकु जफिर अस्पतालले राईको मृत्यु झण्डिएका कारणले मृत्यु भएको मेडिकल रिपोर्ट दूतावासलाई दिएको छ । राईकी पत्नी इन्द्रसुवाले प्रधानमन्त्री कार्यालय मार्फत किटानी जाहेरी दिएपछि नेपाली दूतावासले अनुसन्धान गर्न शनिबार नै प्रहरी कार्यालयलाई अनुरोध गरेको थियो ।

दुई महिना अगाडि मलेसिया पुगेका कामदाराई स्टार डोमोनले काम दिलाउन सकेको छैन । उनीहरुको तलव पनि रोकिएको छ । लाखौं खर्च गरेर मलेसिया पुगेका कामदारले तलव र काम नपाएपछि तुरुन्त सम्बोधन गर्न म्यानपावर कम्पनीहरुमाथि पनि दबाब दिँदै आएका थिए ।

श्रम विभागले कामदारको लागि न्यूनतम सुविधा पनि नदिई राखेको भन्दै कम्पनीविरुद्ध कारबाही अगाडि बढाउने जनाएको छ । ‘रोजगारदाता आवास र कर्मचरी सुविधा ऐनको न्यूनतम मापदण्डहरु पालना गर्न असफल छ’, श्रम विभागको छापापछि मानव संशाधनमन्त्री वी शिवकुमारले भने, ‘कामदारहरु दयनीय अवस्थामा बाँचिरहेको देख्दा धेरै दु:ख लाग्यो ।’

नेपाली दूतावासका अनुसार ९८० जना विदेशी कामदारको कोटा पाएकोमध्ये स्टार डोमोनलले नेपालबाट ५५५ जना ल्याउन मागपत्र प्रमाणीकरण गरेको थियो । जसमध्ये जेपी ओभरसिजबाट ५६ जना, मार्भेलस इम्प्लोइमेन्ट नेपालबाट ६५ जना र नुर ओभरसिजबाट ४६ जना गरी एक सय ६७ जना लगिएको हो । उनीहरु २० देखि ४० वर्ष उमेरका छन् ।

स्टार डोमोनले मलेसियन सरकारबाट तीनवटा क्लिनीङ कम्पनी र एउटा निर्माण कम्पनीको लागि विदेशी कामदार ल्याउने अनुमति पाएको थियो । कामदार लगेपछि पनि काममा लगाउन सकेको थिएन । त्यसमध्ये तीनवटा म्यानपावर कम्पनीका सञ्चालकहरु कामदारको समस्या समाधान गर्न मलेसिया आइपुगेको श्रम काउन्सलर भोलाप्रसाद गुरागाईँले बुताए ।

रोजगारदाता कम्पनीले काम नदिए पनि खाना खान भन्दै महिनाको दुई सय रिंगेट दिँदै आएको थियो । तर कामदारलाई खाना पकाउने ठाउँको अभाव हुनुका साथै अव्यवथित रुपमा राखिएको श्रमको हितको पक्षमा पैरवी गर्दै आएको नर्थ-साउथ इनिसिएटिभका सामाजिक कार्यकर्ता रमेशकुमार पजियारले बताए । ‘कम्तीमा तीनदेखि चार लाख रुपैयाँ तिरेर क्लिनीङको काम गर्न नेपालीहरु आएका छन् । उनीहरु बस्ने ओछ्यान राम्रो छैन । खाना पकाउन पुग्ने चुलोहरु छैन । काममा जान नपाउँदा उनीहरु निकै उदास देखिन्थे । एक जना कामदारले आएको भोलिपल्ट आत्महत्या गरे’, पजियारले कान्तिपुरसँग भने, ‘कामदारलाई राखिएको ठाउँ गैरकानुनी रहेछ । मलेसिया सरकारले छापा मारेको छ । उनीहरुलाई सुरक्षित गृहमा लगेर राखिएको छ ।’

नेपाली दूतावासका उपप्रमुख मोती श्रीषले कामदारको इच्छा अनुसार मलेसिया सरकारले कारबाही अगाडि बढाउने बताए । ‘पीडित नेपालीलाई मलेसिया सरकारले जिम्मा लिएको छ । अब जो नेपाली कामदार नेपाल फर्कन चाहान्छ उनीहरुलाई पठाइदिन्छन् । यहाँ नै काम गरेर बस्न चाहानेलाई अर्को रोजगारदाता खोजिदिनेछ’, उपप्रमुख श्रीषले भने ।

मलेसियाका मानव संशाधन मन्त्री शिवकुमारले घटनामा संलग्न रोजगारदाताविरुद्ध कानुन बमोजिम चारवटा मुद्दामा अनुसन्धान थालिएको बताए । ‘विदेशी कामदारलाई ल्याउनुअघि कम्पनीहरूले रोजगारी र गुणस्तरीय आवासको सुनिश्चित गर्नुपर्छ’, उनले भने, ‘यो कानुनको उल्लंघन हो । यो खतरनाक छ । यदि आगलागी भयो भने उनीहरुको नियति के होला ? यस्तो मामिलामा मन्त्रालयले रोजगारदातासँग सम्झौता गर्दैन ।’

Published on: 11 April 2023 | Kantipur

Link

Back to list

;